किन असफल हुन्छन् वित्तीय सहकारी ?

  • चैत्र १३, २०७४

वल्लभ तिमल्सिना

राजधानी काठमाडौंका केहि सहकारीहरुका वित्तिय संकटका समाचारहरु पढ्न पाईयो । हुन त यो नयाँ र नौलो होइन । राजधानी मात्रै नभई देशका विभिन्न भागमा समेत सहकारी सञ्चालकहरु फरार भएको, खारेजीमा परेका जस्ता समाचारहरु आईरहेका छन् । देशको जनसंख्या र भौगोलिक क्षेत्रको आधारमा सहकारीको संख्या अत्याधिक रहेकाले पनि सहकारीका नकारात्मक समाचारहरु दिनहुँजसो पढ्न पाईन्छ । सहकारीको संख्या मुलुकको जनसंख्या र भुगोलको आधारमा व्यवस्थित भएको भए सम्बन्धित निकायले सहजै नियमन गर्न सम्भव हुन्थ्यो र यस्ता समाचारहरुमा कमि आउन सक्थ्यो । हुन त विभिन्न वर्गका बैंकहरुमा समेत यदाकदा वित्तिय समस्याहरु देखिन्छन् नै, ति समस्यालाई हेर्ने, जाँच गर्ने, आवश्यक परामर्श दिने नियामक निकाय राष्ट्र बैंक भएकोले त्यसको असर आम निक्षेपकर्तासम्म तत्कालै आइपुग्दैन । नियामक निकायको सुक्ष्म व्यवस्थापन र अनुगमनले त्यस्ता क्षेत्रको वित्तिय जोखिम घटाएको हुन्छ ।

किन सहकारीहरु असफल हुन्छन् त ?
यो विषयले थुप्रै पक्षहरुलाई समेट्छ । सहकारी संस्था असफल हुनुमा यति नै कारणहरु हुन्छन् भनेर ठोकुवा गर्न गा¥हो हुन्छ । तैपनि केहि विषम पक्षहरुलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

कारण १. गैर वित्तिय लगानी:
सहकारी संस्थाको मुख्य वित्तिय स्रोत वचत, सेयर पुँजी र विभिन्न कोषहरु हुन् । सहकारीले गैर वित्तिय क्षेत्रमा गरेको लगानीको प्रतिफल निश्चित हुँदैन । सदस्यले माग गरेको बखत वचत वा सेयर फिर्ता गर्न नसक्ने अवस्था आँउछ जसले वित्तिय संकट निम्त्याउँछ । हालैका दिनहरुमा सहकारीहरुमा देखिएको समस्यामध्ये यो सबैभन्दा पहिलो कारण हो । अत्याधिक मात्रामा घरजग्गा खरिदमा ऋण प्रवाह गर्नु पनि गैर वित्तिय लगानी हो । उत्पादनशिल क्षेत्रमा गरिने लगानीलाई वेवास्ता गर्दै जाने हो भने कुनै दिन यो क्षेत्रमा भयावह स्थिति देखापर्ने निश्चित छ ।
समाधानको मार्गः
– गैर वित्तिय क्षेत्रमा लगानी गर्न अनुमति पाएका सहकारीहरुले सबैभन्दा पहिले सम्पत्ति दायित्वको उचित व्यवस्थापन गर्ने ।
– वित्तिय सहकारीहरुले गैर वित्तिय क्षेत्रमा हुने लगानीलाई शुन्य बनाउने । पहिलेनै गरिएका लगानीलाई घटाउँदै लाने ।

कारण २. ऋण लगानीको सही व्यवस्थापन नहुनु :

मुख्यत वित्तिय सहकारीहरुले ऋणको व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्नु अर्को ठूलो कमजोरी हो । भावनात्मक र व्यवहारिक रुपमा लगानी गरिने ऋण लगानीहरुमा अत्याधिक जोखिम रहन्छ । त्यस्तै ऋण लगानी गर्नुपुर्व आवश्यक विश्लेषण नगरी व्यवहारिक पक्षलाई मात्र ध्यानमा राखेर गरिएको ऋण लगानी असुली हुने सम्भावना न्युन हुन्छ र यसले वित्तिय संकट निम्त्याउँछ । सहकारीमा ऋणको भाखा नाघ्नु, भाखा नाघिसकेपछि त्यसको पहिचान हुन नसक्नु र असुली कार्यलाई वैज्ञानिक बनाउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । गैर वित्तिय क्षेत्रमा लगानी गर्नको लागि अनुमति पाएका सहकारीहरुले सम्पत्ति दायित्वको व्यवस्थापन गर्न नसक्दा त्यसले पनि वित्तिय समस्या निम्त्याउँछ ।
समाधानको मार्गः

– ऋण प्रवाह गर्दा भावनात्मक र व्यवहारिक पक्षलाई ध्यान नदिने ,
– लगानी गर्नुपुर्व अनिवार्य रुपमा ऋण विश्लेषण गर्ने प्रणाली स्थापित गर्ने,
– साना साना ऋणलाई बढि प्राथमिकता दिने ताकि जोखिम न्युन गर्न सकियोस्,
– ऋणको प्रशासन चुस्त बनाउने, सञ्चालक समितिले ऋण लगानी र असुलीमा प्रत्यक्ष संलग्न नहुने,
– ऋण उपसमिति गठन गर्दा क्षमताको आधारमा गर्ने,
– ऋण उपसमितिलाई नै लगानी र असुलीमा सक्रिय बनाउने,
– ऋण लगानी गर्दा कुल सम्पत्तिको ७० देखि ८० प्रतिशतको हाराहारीमा कायम राख्ने,
– ऋण परामर्श गर्ने प्रणाली स्थापित गर्ने र आवश्यकता र क्षमताको आधारमा मात्र लगानी गर्ने,
– गैर उत्पादनशिल क्षेत्रमा हुने ऋण प्रवाहलाई कुल ऋणको २० प्रतिशत भन्दा कम कायम गर्ने,
– ऋण पोर्टफोलियोको स्वास्थ्य नियमित परिक्षण गर्ने,
– ऋण लगानी अनिवार्य रुपमा किस्तावन्दीमा गर्ने । ओभरड्राफ्ट वा यस्तै प्रकृतिका ऋण लगानी गर्दा सहकारी संस्थाहरुको तरलता व्यवस्थापनमा कठिनाई हुन्छ ।
कारण ३. सदस्य शिक्षामा कमि

सहकारीले आफ्नो सदस्य शिक्षा कार्यक्रमहरुमा संस्थाको नीति, नियमहरु, वस्तु तथा सेवाको बारेमा जानकारी गराउन सक्नुपर्छ । मुख्यत वित्तीय अनुशासन र वित्तिय साक्षरतामा सदस्य शिक्षा केन्द्रित रहनुपर्छ ।

समाधानको मार्गः
– सदस्य शिक्षाको लागि आवश्यक बजेटको तयारी गर्ने,
– शिक्षा उपसमितिलाई सक्रिय बनाउने,
– सदस्य शिक्षाको पाठ्यक्रम निर्माण गर्ने,
– वार्षिक कम्तिमा निश्चित प्रतिशत सदस्य समेटिने गरी विभिन्न शैक्षिक कार्यक्रमहरु गर्ने,
– संस्थाको नीति, नियम, वचत ऋणका सेवा लगायतका विषयहरुको प्रशारण गर्ने,
– सम्भावित सदस्यहरुलाई समेत लक्षित गरी कार्यक्रमहरुको आयोजना गर्ने ,
– सदस्य शिक्षाका कार्यक्रमहरुमा अडियो भिडियोको प्रयोग गर्ने,
– पुर्व सदस्य शिक्षामा विशेष जोड दिने ।

कारण ४. व्यवस्थापकिय क्षमतामा कमि

नीति तथा कार्यक्रम तथा बजेटको कार्यान्वयनको जिम्मा व्यवस्थापनको हो । वित्तिय बजारमा भैरहेका परिवर्तनहरु, छिटो छिटो परिवर्तन हुने प्रविधिहरुलाई आत्मसात गर्न नसक्नुले पनि संस्थालाई अगाडि बढाउन सकिदैन ।

समाधानको मार्गः
– व्यवस्थापनको क्षमता अभिवृद्धिमा विशेष जोड दिने,
– निरन्तर तालिम तथा अध्ययनलाई जोड दिने,
– ज्ञान बाँड्ने विषयलाई महत्व दिने,
– व्यवस्थापनका आधुनिक तौर तरिकाहरु सिक्ने, लागु गर्ने ।

कारण ५. जोखिम विश्लेषण नहुनु 

सहकारी संस्था स्वभावैले जोखिम रहने क्षेत्र हो । संस्थाभित्रको वित्तिय र गैर वित्तिय जोखिमहरुको पहिचान, विश्लेषण र न्युनिकरणका उपायहरु बेलैमा अपनाइएन भने भविष्यमा संकट निम्तन्छ । आम धारणामा हेर्ने हो भने सहकारीमा के नै जोखिम हुन्छ र भन्ने गरेको पाईन्छ । जोखिम त ठूला बैंक वित्तिय संस्थामा मात्र हुन्छ भन्ने धारणालाई चिर्न जरुरी छ । वित्तिय व्यवस्थापन गर्न नसक्दा त्यसबाट उत्पन्न हुने जोखिमको बारेमा विश्लेषण गर्नु अति जरुरी छ । हामीले अनुभव गरेका छौं, अरबौंको सम्पत्ति भएका सहकारी संस्थाहरु अब कहिल्यै उठ्न नसक्ने गरी जोखिममा परेका छन् । गैर वित्तिय जोखिम भन्नाले नीतिगत जोखिम, व्यवस्थापकिय जोखिम, प्रविधिमा हुने जोखिम, मानव संसाधनमा हुने जोखिम आदि हुन् ।

समाधानको मार्गः
– विशेषगरी व्यवस्थापन पक्ष जोखिम पहिचान गर्न सक्ने हुनुपर्छ ,
– आवधिक रुपमा जोखिमका क्षेत्रहरुको पहिचान गरी न्युनीकरणका उपायहरु सहित प्रतिवेदनको तयारी, आवश्यक छलफल र रणनीतिमा केन्द्रित हुनु । व्यवस्थापन गर्न सक्ने जोखिमलाई बेलैमा व्यवस्थित गरिहाल्नुपर्छ ।
कारण ६. वित्तिय विश्लेषण नहुनु

वित्तिय कारोबारमा संलग्न सहकारी वचत ऋण सहकारीहरु हुन् । पुर्ण रुपमा बैंकिङ कार्य गर्ने वचत ऋण सहकारीहरुको वित्तिय विश्लेषण सबैभन्दा महत्वपूर्ण पक्ष हो । विश्व ऋण परिषदले प्रतिपादन गरेको पल्स अनुगमन प्रणालीलाई अबलम्बन गर्ने, त्यसका सुचक तथा अनुपातहरुको सहि ढंगबाट विश्लेषण गर्ने र सोही अनुसार रणनीति बनाउँदै जाने हो भने वित्तिय समस्या बेलैमा पहिचान भै त्यसको उचित व्यवस्थापन गर्न सकिन्छ ।
समाधानको मार्गः
– मासिक रुपमा पल्स प्रतिवेदन तयारी गर्नु,
– पल्स लगायतका वित्तिय प्रतिवेदनहरुको गहिरो अध्ययन गर्नु,
– सुचकहरु लक्ष्य अनुरुप नभए तत्कालै आवश्यक रणनीतिहरु बनाई लागु गर्नु ।

कारण ७. अत्याधिक महत्वाकांक्षा :

सहकारी संस्था सञ्चालन गर्नेको अत्याधिक महत्वाकांक्षाले पनि वित्तिय दुर्घटना निम्त्याएको पाइएको छ । विशेषगरी गैर वित्तिय क्षेत्रमा गरिने लगानी, कार्यक्षेत्र विस्तारमा हुने आकांक्षा, वाह्य ऋणको अनुपातमा वृद्धि हुनु, संस्थाको क्षमता भन्दा कर्मचारीको संख्या अत्याधिक हुनु, स्थिर सम्पत्तिमा अत्याधिक वृद्धि हुनु, संस्थाको नाममा अनावश्यक घर जग्गा खरिद गर्नु जस्ता महत्वाकांक्षाले सहकारी संस्थालाई समस्यामा पार्छ ।

समाधानको मार्गः
– संस्था नीति, नियम र विधिले सञ्चालन हुने प्रणाली स्थापना गर्नु,
– निर्णयहरु गर्दा नीतिलाई ध्यानमा राख्ने,
– नकमाउने सम्पत्तिको वृद्धिमा रोक लगाउने र कुल सम्पत्तिको ५ प्रतिशत भन्दा कम कायम गर्ने,
– कर्मचारीहरु नियुक्ती गर्दा संस्थाको तिर्न सक्ने क्षमतालाई आधार बनाउने,
– कुल सम्पत्ति वृद्धिमा विशेष ध्यान दिने ।

कारण ८. वार्षिक बजेट, नीति तथा कार्यक्रमको सहि व्यवस्थापन हुन नसक्नु :

संस्थाले साधारण सभाबाट पारित गरेको वार्षिक बजेट तथा कार्यक्रम, सञ्चालक समितिले पारित गरेका नीतिहरुलाई सहि ढंगबाट लागु गर्न नसक्दा संस्था अगाडि बढ्न सक्दैन । संस्थाले गर्ने निर्णयहरु नीति सम्मत र कार्यहरु योजना सम्मत नहुनु समस्याको मुख्य पाटो हो ।

समाधानको मार्गः
– नीति निर्माण, संसोधन गर्ने कार्यमा सञ्चालक समितिको संलग्नता हुनुपर्ने,
– नीतिहरुलाई वार्षिक रुपमा आवश्यक संसोधन सहित अद्यावधिक गरी राख्ने,
– नीति निर्माण हुँदा वा संसोधन हुँदा व्यवस्थापनले तुरुन्तै जानकारी लिने,
– व्यवस्थापनले नीतिहरुको अध्ययन गर्ने,
– वार्षिक कार्यक्रम तथा बजेटलाई मासिक खण्डीकरण गरी सोही अनुसार लागु गर्ने,
– बजेट कार्यान्वयनको अवस्थालाई सुक्ष्म रुपमा हरेक महिना विश्लेषण गर्ने,
– गैर बजेट आर्थिक कारोबारहरु शुन्य बनाउने ।

कारण ९. संस्थागत पुँजी वृद्धिमा ध्यान नदिनु :

सहकारी संस्थाको मुख्य मेरुदण्ड संस्थागत पुँजी वृद्धिलाई महत्व नदिनु अर्को जोखिमको पाटो हो । संस्थागत पुँजी वृद्धि भन्दा कोषहरुलाई विभिन्न उपायद्धारा खर्च गर्दै जानुले संस्थागत पुँजीमा कमी आउँछ । संस्थागत पुँजी कमी हुँदा आम्दानीको स्तर घट्न जान्छ, भविष्यमा कुनै वित्तिय संकट आएमा संस्थाले थेग्न सक्दैन ।

समाधानको मार्गः
– कुल सम्पत्तिको अनुपातमा संस्थागत पुँजी ५ प्रतिशतभन्दा बढि कायम हुने गरी वार्षिक बजेटको निर्माण गर्ने,
– कानुनले दिएको अधिकार प्रयोग गरी मात्र नाफाको बाँडफाँड गर्ने,
– सञ्चालन तथा पुँजीगत खर्चहरुलाई बजेटको परिधिभित्र कायम राख्ने,
– सहकारी संस्था लाभांशमुखी नभई सेवामुखी हुनुपर्ने विषयलाई जोड दिने,
– व्यवस्थापनले संस्थागत पुँजी वृद्धिमा विशेष पहल गर्ने ,
– अनुचित तवरबाट लाभांश वितरण नगर्ने,
– भाखा नाघेको ऋणको लागि आवश्यक जोखिम कोष नछुट्याई लाभांश वितरण नगर्ने,
– भाखा नाघेको ऋणलाई ५ प्रतिशत भन्दा कममा कायम राख्ने ।

कारण १०. ऐन, नियमावली, मापदण्ड, अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात नगर्नुः

सहकारी ऐन, नियमावली लगायत सहकारी संस्था सञ्चालन गर्ने अन्र्तराष्ट्रिय अभ्यास तथा अनुभवलाई आत्मसात नगरी पुरानै र परम्परागत धारणाबाट मात्रै संस्था सञ्चालन हुँदा संस्थाको दिगो विकास र वृद्धि हुन सक्दैन । कानुनको उचित पालना, विश्व बजारमा भए गरेका असल अभ्यास र प्रविधिलाई उचित स्थान दिन नसक्दा संस्था पछाडि धकेलिन्छ ।

समाधानको मार्गः
– संस्थाका नीति, नियम, कार्यक्रम तथा बजेटहरु ऐन, नियमावलि बमोजिम छ छैन विश्लेषण गर्ने,
– संस्थाको विनियमले दिएका अधिकारहरुको मात्र प्रयोग गर्ने,
– सहकारीका ऐन, नियमावली, मापदण्ड, विनियम तथा संस्थाका नीतिहरुको गहिरो अध्ययन गर्ने ।

कारण ११. गैर सदस्यसँग कारोबार गर्नु 

सहकारी संस्थामा हुने वित्तीय जोखिमको सबैभन्दा ठूलो गल्ती हो, गैर सदस्यसँग हुने आर्थिक कारोबार । त्यसैगरी जानाजानी प्रोक्सी ऋणीसँग हुने आर्थिक कारोबारले ठूलै वित्तीय समस्या ल्याएको पाईएको छ । गैर सदस्य र कार्यक्षेत्रभन्दा बाहिर गएर आर्थिक कारोबार गर्नु, त्यस्ता क्षेत्रहरुमा लगानी गर्नुले समस्या निम्त्याउँछ ।

समाधानको मार्गः
– कार्यक्षेत्रभित्र बसोबास गरेको र विनियमले तोकेको शर्त बमोजिमका गैर सदस्यलाई तुरुन्तै सदस्य बनाउने,
– गैर सदस्यसँगको कारोबार तुरुन्तै रोक्ने,
– गैर सदस्यसँगको कारोबारलाई तुरुन्तै राफसाफ गर्ने,
– कार्यक्षेत्रभन्दा बाहिर लगानी नगर्ने,
– कार्यक्षेत्र बढाउने भन्दा पनि कार्यक्षेत्र भित्रकै जनसंख्यालाई पहिलो प्राथमिकता दिने,
– कार्यक्षेत्रको जनसंख्याको अनुपातमा संस्थाको सदस्य अनुपातलाई कम्तिमा ३० प्रतिशत कायम राख्ने लक्ष्य राख्ने ।

कारण १२. सञ्चालक समिति व्यवस्थापकिय कार्यमा प्रत्यक्ष संलग्न हुनु :

यो विषय राष्ट्रियस्तरमै बहसको विषय बनेको छ । नेफ्स्कूनका पुर्व अध्यक्ष कैलाशभक्त प्रधानांगको शब्दहरु सापटी लिने हो भने उहाँले भन्नुभएको छ , “सहकारीका सञ्चालकहरु राजनैतिक प्रवृत्तिका हुन्छन् जो नीति तथा कानुनहरुको निर्माण गर्न र आवश्यक संसोधन गर्नमा संलग्न भएका हुन्छन्, उनीहरु आफैंले बनाएको कानुनको कार्यान्वयन गर्ने तहमा आउनु हुँदैन, यो कार्य व्यवस्थापनले गर्नुपर्छ ।” अतः नीति निर्माणमा संलग्न हुने पक्षले कार्यान्यवनको तहमा आउँदा त्यसले कानुनी सन्तुलन गुमाउँछ जसले गर्दा नीति नियमको उल्लंघन हुने, मनोमानी हुने, आफू अनुकुलका निर्णयहरु हुने, व्यवस्थापनका अन्य पक्षहरुको वेवास्ता हुने, कर्मचारीहरुको मनोबलमा कमि हुने आदि सम्भावनाहरु हुन्छन् ।
समाधानको मार्गः
यसका कुनै पनि समाधानको उपचारहरु छैनन् । पारित सहकारी ऐनले यस विषयमा स्पष्ट मार्गनिर्देश गरेको छ । अब कार्यान्वयनमा आएपछि यो समस्याको केहि हदसम्म समाधान हुने विश्वास लिन सकिन्छ ।

तिमल्सिना नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का कार्यक्रम अधिकृत हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू