जुम्लामा सहकारी बैंकको शाखा माग

  • जेष्ठ १४, २०७५

राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गरी सहकारीहरुको प्रवद्र्धनमा सहयोग गर्न जुम्लाका सहकारीकर्मीहरुले माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकले जिल्ला सहकारी संघ लिमिटेड जुल्लाको समन्वयमा आइतबार सम्पन्न सहकारी बैक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन् । स्याउ, जडिबुटी र कृषि लगायतका क्षेत्रमा लगानीको प्रशस्त संभावना रहेको जुम्ला जिल्लामा सहकारी संस्थाहरुलाई कर्जा लगानी गर्ने एक मात्र बैंक सहकारी बैंकको शाखा स्थापना गर्न सके यस क्षेत्रमा थप उत्पादनको काम गर्न सकिने उनीहरुको भनाई छ ।कार्यक्रममा जुम्ला जिल्लालाई स्याउ, जडिबुटी र कृषि क्षेत्रको व्यावसायिक क्षेत्रका रुपमा विकास गर्नका लागि सहकारी क्षेत्रको योगदान आवश्यक रहेको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदम महतले बताउनुभयो । सहकारीहरुलाई कर्जा प्रवाह गरी थप उत्पादनमा लाग्ने वातावरण सिर्जना गर्नका लागि तत्काल सहकारी बैंकको शाखा आवश्यक रहेको बताउदै अध्यक्ष महतले जिल्ला सहकारी संघले बैंकको शाखा स्थापनाका लागि सक्रिय भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले शाखा सञ्चालनका लागि १ सय वटा सहकारी संस्था बैंकको सदस्य हुनु पर्ने प्रावधान भएपनि जुल्ला लगायतका जिल्लाका सहकारीकर्मीहरुको सक्रियता भएमा शाखा सञ्चालनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले उद्घाटन गर्नु भएको अन्तरक्रिया कार्यक्रममा सहकारी बैंकले आफ्नो सेवालाई सदस्य संघ संस्थाहरुमार्फत देशव्यापी रुपमा अगाडि बढाएको र जुम्लामा छिट्टै शाखा सञ्चालन हुने अपेक्षा व्यक्त गर्नु भयो । सहकारी बैंकको शाखा जुम्ला लगायत दुर्गम जिल्लामा स्थापनाका लागि महासंघले समेत पहलकदमी गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका सदस्य जयराज भारती, बचत तथा ऋण सहकारी संघ जुम्लाका अध्यक्ष मीनबहादुर डांगी, उपभोक्ता सहकारी संघका अध्यक्ष साहसी राजकुमार शाही, महिला सञ्जाल जुम्लाका अध्यक्ष भगवती श्रेष्ठ, नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाही, चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दुर्गादेवी न्यौपाने लगायतले जुम्लाको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी अभियानलाई बलियो बनाउन आवश्यक रहेको र त्यसका लागि सहकारी बैंकको शाखा तत्काल सञ्चालन गर्न माग गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी र सञ्चारका बारेमा राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत रामसुधन तिमिल्सिनाले जानकारी गराउनु भएको थियो ।कार्यक्रममा जुल्ला जिल्लामा क्रियाशिल विभिन्न सहकारी संघ संस्थाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । राष्ट्रिय सहकारी बैंकले हाल ४४ शाखा र १ मुख्य शाखा मार्फत सेवा सञ्चालन गरिरहेको छ । बैंकमा देशभरका करिव १० हजार सहकारी संघ संस्थाहरु सदस्य, ९८ करोड शेयर रकम, १४ अर्ब निक्षेप, ११ अर्ब ५० करोड कर्जा लगानी र १६ अर्बको कुल कारोबार रहेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू