सहकारीलाई उद्योममा लगानी गर्न मुख्यमन्त्रीको सुझाब

  • बैशाख १९, २०७५

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीहरुलाई उद्योगमा लगानी गर्न सुझाब दिनु भएको छ ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठीको हेटौडामा उद्घाटन गर्दै उहाँले सहकारीमा अर्बौ रकम रहेको भन्दै त्यसलाई उद्योगमा लगानी गर्नसके रोजगारी खोज्दै विदेशिनेको सङ्ख्या घट्ने दाबी गर्नुभयो । सबै सहकारी मिलेर उद्योगमा लगानी गर्न सके उत्पादन बढ्नुका साथै रोजगारी समेत सिर्जना हुने पौडेलले बताउनु भयो ।

“हाल जिल्लाका सहकारी मात्र नभएर देशभर रहेका सहकारीले बचत तथा ऋणको मात्र काम गरिरहेको छ । सहकारीको काम त्यो मात्र होइन । अब परिवर्तन हुन जरुरी छ । अब उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा लगानी गर्न जरुरी रहेको छ”, उहाँले भन्नुभयो, “यसका लागि साना सहकारीलाई मर्ज गर्न आवश्यक छ ।” सहकारीबाट ऋण लिएर उत्पादनको काममा लगाउनु पर्नेमा पनि मुख्यमन्त्रीको जोड थियो ।

हाल नेपालमा स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । “स्वदेशमा उत्पादन गरेका वस्तुको हामी उपयोग गर्दैनौँ, अब आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिनुपर्छ”, पौडेलले भन्नुभयो, “भारतमा उत्पादन गरेको मालाले कार्यक्रममा स्थान पाइरहेकोले त्यसलाई हामीले बन्द गर्यौँ, अब ३ नम्बर प्रदेशले स्वदेशमै उत्पादन भएका वस्तुलाई मात्र प्राथमिकता दिने उद्देश्यले नीति नियम बनाउँदैछौँ ।”

सहकारी देशको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा रहेको भन्दै उहाँले नेपालका सहकारीले महिलालाई रोजगारीको साथै आत्मनिर्भर बनाउदै लगेकोमा प्रंशसा समेत व्यक्त गर्नुभयो । “महिलाले नै सहकारी सञ्चालन गरेका छन् । समग्रमा सहकारीमा पुरुष भन्दा महिलाको बाहुल्य बढी छ”, पौडेलले भन्नुभयो । संघीय संरचना अनुरुप तीनवटै तहमा सहकारी वर्गीकरण भएकोले संरचना अनुरुप कानून निर्माणको क्रममा रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारीलाई समन्वय र सहजीकरणमा आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू