साना सहकारी गाभ्ने अभियानमा मिलीजुली

  • बैशाख १९, २०७५

दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित मिलीजुली बचत तथा ऋण सहकारी संस्था अहिले साना सहकारी गाभ्ने अभियानमा लागेको छ ।

४ महिनाको अवधीमा ५ साना सहकारीसँग एकीकरणका लागि सम्झौता गरिसकेको मिलीजुली सहकारीले आफ्नो सेवा र व्यवसाय विस्तार गरेसँगै जिल्लाका अन्य सहकारी पनि गाभिन लागेका हुन् ।

मिजीजुलीसँग एकताका लागि कालिन्चोक गाउँपालिका–२ बाबरेमा रहेको प्रगतिशील परोपकार बचत तथा ऋण सहकारी संस्था, भीमेश्वर नगरपालिका–८ बोचमा रहेको धर्तीमाता बचत तथा ऋण सहकारी, भीमेश्वर नगरपालिका–६ मा रहेको च्याँसे भगवती बचत तथा ऋण सहकारी संस्था, बैतेश्वर गाउँपालिका–६ मा रहेको एकता बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिका–७ मा रहेको ध्रुवतारा बचत तथा ऋण सहकारी संस्थासँग सम्झौता भइसकेको छ ।

दुवै संस्थाका एकीकरण कार्यदल र मिलीजुलीको कार्यदलबीच भएको छलफलपछि एकीकरणका लागि सम्झौता गरेको मिलीजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

एकीकृत सहकारी संस्थाको नाम मिलीजुली बचत तथा ऋण सहकारी संस्था राख्ने र साविकका प्रगतिशिल परोपकार, एकता र धर्तीमाता सहकारी रहेको ठाउँमा सोही नामबाट सेवा केन्द्र राख्ने सहमति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एकीकरण कार्य सहकारी ऐन २०७४, परिच्छेद १५ को दफा ८७ अनुसार गरिएको श्रेष्ठले बताउनु भयो ।

एकीकरणका लागि सहकारी ऐन र कार्यविधिअनुसार साधारणसभा गर्नुपर्ने र अरू पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले एकीकृत कारोबार गर्न केही समय लाग्ने मिलीजुली साकोस एकीकरण कार्यदलका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।

एकीकृत सहकारी बनाउनका लागि कार्यदलले अवधारणासमेत तयार गरेको छ । यस एकीकरण कार्यबाट संस्थागत क्षमता वृद्धि हुने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्काले विश्वास व्यक्त गर्नुभयो । प्राविधिक कार्य पूरा भएपछि एकीकृत कारोबार हुने भएको छ । एकीकरणपछि सिंगटी, बोच, सुनखानी, फस्कु लगायतका ठाउँमा सेवा केन्द्र सञ्चालन गर्ने मिलीजुलीको तयारी छ । मिलीजुली एसियाली मापदण्ड (एक्सेस ब्रोन्च प्राप्त) सहकारी हो ।

सहकारी ऐन २०७४ मा एक व्यक्ति एक सहकारीको अवधारणा ल्याएको र सरकारीप्रति सरकार पनि कडाईका साथ लागेपछि दर्ता गरेका तर सञ्चालन हुन नसकेका, मापदण्ड पूरा गर्न नसकेका सहकारीहरू एक आपसमा एकीकरणमा लागेका छन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू