तीव्र आर्थिक विकासका लागि सहकारीको भुमिका महत्वपुर्ण

  • बैशाख २४, २०७५

नेपाल जस्तो विकासन्मुख राष्ट्रमा तीव्र आर्थिक विकासका लागि सहकारीको उल्येख्य भुमिका रहने प्रदेश २ का कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री शैलेन्दकुमार शाहले बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४० औं शाखाको आइतबार उद्घाटन गर्दै मन्त्री शाहले सहकारी क्षेत्रलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएकोे हो । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीमैत्री ऐन निर्माणमा आफुहरु जुटेको समेत मन्त्री शाहले बताउनु भयो ।

कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की, बैंकका प्रवन्धक सञ्चालक के.बी. उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ घनुषाका अध्यक्ष धु्रव नारायण यादव, जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीका अध्यक्ष कृष्ण बहादुर सिंह, राष्ट्रिय सहकारी बैंक राजविराज शाखा समन्वय उपसमितिका संयोजक विश्वनाथ मण्डल, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट यस आर्थिक वर्षमा ७ वटा थप शाखा सञ्चालनको अनुमति पाएको छ । बैँकको वैशाख १४ गते पाँचथरको फिदिम र बैशाख २२ गते सर्लाहीको हरिवनमा शाखा उद्घाटन भइसकेको छ । यस्तै धनकुटाको धनकुटार बजार, चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा यसै आर्थिक वर्षमा शाखा उद्घाटन गरिने बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।

मुख्य शाखा सहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू