गुल्मीका २ सय २७ सहकारी स्थानीय तहलाई हस्तान्तरण

  • बैशाख २६, २०७५

डिभिजन सहकारी कार्यालय पाल्पाले गुल्मीका स्थानीय तहलाई सहकारीहरुको अभिलेख हस्तातरण गरेको छ ।

स्थानीय तह कार्यन्वयन भएसँगै सहकारी हस्तान्तरण गर्दै उनीहरुलाई अभिमुखीकरण गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख, स्थानिय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, विभिन्न सहकारी संघका प्रमुख तथा सरोकारवालाहरुसँगको दुई दिने अभिमुखिकरण गरिएको डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।
जिल्लाका दुई नगरपालिका र १० गाउपालिकालाई २ सय २७ वटा सहकारी संस्थाको अभिलेख हस्तातरण गरिएको छ । पाल्पा डिभिजन सहकारीमा आबद्ध भएका दुई सय ५६ मध्ये ३५ वटा सहकारी भने प्रदेशलाई जिम्मा लगाइने बोहराले बताउनुभयो ।

स्थानीय तहभन्दा बाहिर अधिकार क्षेत्र बनाएर काम गरि रहेका छ वटा सहकारी संघ र २९ वटा सहकारी प्रदेशमा जिम्मा लगाइएको छ । स्थानिय तहले पाएका सहकारी अभिलेख अनुसार रुरु गाउँपालिकामा २७ वटा, धुर्कोट गाउँपालिकामा २१ वटा, चन्द्रकोट गाउँपालिका १३ वटा सहकारी रहेका छन् । यसैगरी मदाने गाउँपालिकामा १३ वटा, छत्रकोट गाउँपालिकामा १९ वटा, मालिका गाउँपालिमा १६ वटा सहकारी, इस्मा गाउँपालिकामा १४ वटा सहकारी संस्था रहेका छन् । त्यस्तै गुल्मी दरवारगाउँपालिकामा २० वटा, मुसिकोट नगरपालिकामा १५ वटा,रेसुङ्गा नगरपालिकामा ३५ वटा, कालिगण्डकी गाउँपालिकामा १५ वटा र सत्यवत्ती गाउँपालिकामा १९ वटा सहकारी संस्था छन् । नगर तथा गाउँपालिकामा पर्ने सहकारीले अबदेखि सबै अधिकार र कामको लागि सो सेवा स्थानीय तहबाट लिन पाउने छन् । स्थानीय तहलाई सहकारी अभिलेक बुझाएसँगै आगामी दिनहरुका दर्ता तथा सबैखाले कामका लागि डिभिजन कार्यालय पाल्पामा जानु पर्ने बाध्यता हटेको छ ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली, प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापा,बचत सहकारी संघ अध्यक्ष राधा पन्थी, सहकारी समितिका हरि छन्तेल लगायतले स्थानिय तहमा सहकारी सञ्चालनको अधिकार आउनुले जनतामा थप आशा जगाएको बताएका थिए । उनीहरुले अधिकार प्राप्त भएसँगै नगर गाउँपालिकामा सहकारी व्यवस्थापनका लागि थप तालिम आवश्यक रहेकोमा जोड दिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू