राप्तीका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

  • बैशाख २७, २०७५

डिभिजन सहकारी कार्यालय दाङले राप्ती अञ्चलका सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

डिभिजन सहकारी कार्यालयले सहकारी अभिमुखीकरण कार्यक्रम आयोजना गरी ५ जिल्लाका ५ सय ७१ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो । कार्यालयले सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा र प्युठान जिल्लाका सहकारी संस्थाहरू हस्तान्तरण गरेको छ ।

डिभिजन सहकारी कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले सल्यान जिल्लामा एक सय ५५, पूर्वी रुकुममा ३३, रुकुम पश्चिममा एक सय सात, रोल्पामा एक सय ३२ र प्युठान जिल्लामा एक सय ४४ सहकारी संस्था स्थानीय तहलाई डिभिजन सहकारी कार्यालयले जिम्मा लगाएको बताउनु भयो । यस्तै दाङमा भने आगामी जेठको पहिलो हप्तासम्ममा सहकारी संस्थाहरू हस्तान्तरण गरिनेछ ।

दाङ बाहिरका जिल्लामा सहकारी हस्तान्तरणको काम सकिएको र अब दाङका स्थानीय तहलाई सहकारी हस्तान्तरणका लागि फाइल मिलाउने काम भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । बाँकी रहेका सहकारी संस्थाहरूलाई भने प्रदेश र केन्द्रमा हस्तान्तरण गरिनेछ ।

राप्ती अञ्चलका ६ जिल्लामध्ये ५ जिल्लाका एउटै स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू