राष्ट्रिय सहकारी महासंघको प्रादेशिक गोष्ठि आज सकिदै

  • जेष्ठ ८, २०७५

ललितपुरमा जारी राष्ट्रिय सहकारी महासंघको आयोजनामा लेखा समितिको भूमिका अभिबृद्धि विषयक दुई दिने प्रादेशिक कार्यशाला गोष्ठी मंगलबार सकिदैछ ।

प्रदेश ३ स्तरीय सो गोष्ठीमा विषयगत केन्द्रीय सहकारी संघ, जिल्लास्तरीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायतका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागीता छ । हिजोदेखी सुरु भएको गोष्ठीको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पुर्व मन्त्री केशवप्रसाद बडालले सहकारी क्षेत्रलाई व्यवसायीक बनाउनका लागि लेखा तथा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारी संघ/संस्था जोगाउन लेखा समितिको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । ‘वाह्य लेखापरिक्षक नियुक्त गर्ने समयमा पनि लेखा समितिको भूमिका हुनुपर्छ । संघ/संस्था विग्रेपछि भन्दा पनि विग्रन नदिनका लागि लेखा तथा सुपरिवेक्षण समिति चनाखो हुनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले सस्थाको आकार बृद्धि हुँदै जाँदा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका समेत अभिबृद्धि हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीभित्रको आन्तरिक शुसासन प्रभावकारी पार्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सहकारी ऐन २०७४ले लेखा समितिको भूमिका बृद्धि गरिदिएको बताउँदै सचिव मैनालीले भन्नुभयो,‘कर्जा प्रभाव ठिक सँग गरेको छ कि छैन, धितो मुल्याकंनलगायतको विषयमा पनि लेखा समितिको भूमिका महत्वपूर्ण रहन्छ ।’ उहाँले लेखा समितिलाई लेखा प्रतिवेदन गम्भिर रुपमा छलफल गरेर पृष्ठपोषण गर्ने, सुझाव दिने र पैरवी गर्ने अधिकार कानुनले नै दिएको औल्याउनुभयो । ‘लेखा समितिले साधारण सदस्यको आँखाका रुपमा काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । शुभकामना मन्तव्य राख्नेक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले साधारणसभाबाट निर्वा्चित हुने लेखा समिति सदस्यप्रति उत्तरदायि हुनुपर्ने बताउनुभयो ।

२०७४ को सहकारी ऐनले लेखा समितिमा बस्ने व्यक्तिहरु लेखाको ज्ञान भएको हुनुपर्ने कुरालाई समेत उल्लेख गरेको बताउनुभयो । ‘कहिलेकाही लेखा समिति प्रतिपक्षजस्तो देखिए पनि संचालक समिति र लेखा समिति परिपुरक हुन् ।’ उहाँले भन्नुभयो, ‘लेखा समिति दैनिक काम सहभागी हुँदैन तर यसले सबै काम कार्वाहीलाई नजिकबाट निहाल्छ ।’ राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संघ/संस्थालाई बलियो बनाउनका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘लेखा समितिको चयन गर्दा उपयुक्त व्यक्तिलाई चयन गर्नुपर्ने देखिन्छ । समितिमा राख्नका लागि मात्र, संचालक समितिमा नअटाएपछि लेखामा राख्ने प्रचलनले पनि समस्या आउँछ । यसमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

लेखा समितिलाई देखाउनका लागि नभइ संघ/संस्थालाई प्रभावकारी र पारदर्शी रुपमा अगाडी बढाउनका लागि महत्वपूर्ण अंगका रुपमा लिनुपर्ने उहाँले धारणा राख्नुभयो । महासंघका लेखा समितिका सदस्य उमेश महासेठले स्वागत मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय सहकारी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै लेखाले प्रभावकारी भुमिका निर्वाह गर्दा संस्था सवल हुने बताउनुभयो । ‘लेखा समितिले वाच डगको रुपमा सदस्यप्रति उत्तरदायी भएर काम गर्नुपर्छ । सहकारी ऐन २०७४ को दफा ४७ ले लेखा समितिमा तोकिएको योग्यता भएको व्यक्तिको चयन गर्नुपर्ने कुरा उल्लेख गरेको छ ।’ उहाँले भन्नुभयो, ‘लेखा समितिको काम प्राविधिक काम हो । त्यसैले वित्तिय विवरण विश्लेषण गरेर सुझाव दिन सक्ने हुनुपर्छ । यसैलाई पृष्ठ पोषण गर्नका लागि महासंघले नियमित रुपमा कार्यक्रम गरिरहेको छ ।’

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू