तेस्रो साकोस शिखर गोष्ठी राजधानीमा सुरु

  • जेष्ठ २४, २०७५

समावेशी आर्थिक विकास : साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्सरचना’ भन्ने मूल नाराका साथ तेस्रो साकोस शिखर गोष्ठी राजधानीमा सुरु भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा राजधानीको सोल्टि होटेलमा गोष्ठी सुरु भएको हो ।
प्रमुख अतिथिका रुपमा गोष्ठिको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले राज्यले सहकारीको विकासमा सक्दो सहयोग पुर्याउने आश्वासन दिनुभयो । त्यस्तै देशविकाशका लागि सहकारीले पनि आफ्नो क्षेत्रबाट उचित सहयोग पुर्याउनुपर्ने रक्षामन्त्री पोखरेलले जोड दिनुभयो ।

त्यस्तै कानुनमन्त्री शेरबहादुर तामाङले सहकारीको हकहितका लागि हाल जारी गरिएको नयाँ सहकारी ऐनमा कुनैपनि बुँदा संसोधन गर्नुपर्ने भए छलफल र सुझावका आधाबरमा संसोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले भर्खरै सरकारले सार्वजनिक गरेको २०७५/०७६ को बजेटले सहकारीलाई अपेक्षित बमोजिम समेट्न नसकेको भन्दै बजेटमा सहकारीलाई अझ बढी महत्व दिन आग्रह गर्नुभयो । नेफ्स्कुनले देशभरका बचत सहकारीको एकरुपता प्रणालीमा जोड दिदैँ तेस्रो साकोस शिखर गोष्ठी थालेको हो । गोष्ठीले साकोसका उपलब्धिको साझा मञ्चहरुको विकास गर्ने, आवश्यक ज्ञान, सीप र प्रविधिको हस्तान्तरण तथा अबलम्बन गर्ने, साकोसमा उच्चतम प्रविधि र औजारहरुको विकास गर्ने जनाइएको छ ।

शुक्रबार सम्म जारी रहने गोष्ठीले जोखिममा आधारित अनुगमन, एकीकरण र अभियानको सुरक्षाका लागि स्थिरीकरण कोषका बारेमा बृहत कार्ययोजना तयार पार्ने आयोजकले जनाएको छ । गोष्ठीपश्चात मन्त्रालयको सहकार्यमा सहकारीमा लेखा परीक्षण मापदण्ड लागू गरिने जनाइएको छ । गोष्ठीमा ६५० भन्दा बढीको सहभागिता रहेको छ । जना सहकारीकर्मीको सहभागिता हुने बताउनुभयो । गोष्ठीमा अस्ट्रेलिया, बंगलादेशलगायतका विभिन्न देशका सहकारीकर्मीको पनि सहभागिता छ । गोष्ठीले साझा घोषणापत्र जारी गर्ने भएको छ ।

गोष्ठीमा साकोस अभियानको उपलब्धि : एकरुपता प्रणाली र व्यवस्थापन, वित्तीय सकारीहरुमा जोखिम सुपरीवेक्षण : आन्तरिक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास, समावेशी आर्थिक विकास : वित्तीय शिक्षा, पहुँच अभिवृद्वि र अवसरहरु विषयमा कार्यपत्र प्रस्तुत हुने छ । त्यस्तै नयाँ सहकारी ऐन : सहकारीको प्रवद्र्वन, नियमन र क्षमता विकासका तहगत व्यवस्था, वित्तीय सहकारीमा स्थिरीकरण कोष : सुरक्षित अभियानको कल्पना, प्रविधि र पहुँच : सहकारीका लागि भरपर्दो वित्त, समग्र विकासमा सहकार्य र योगदान : दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, साकोस एकीकरण : अवसर र अभियानको आवश्यकता, सहकारीमार्फत उत्पादन, बजारीकरण र प्रतिष्पर्धी स्थानको अवधारणा : सम्भावना र चुनौती, सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन : सम्भावना र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत हुने भएका छन् ।

 



सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू