आफ्नै प्रयासमा जैविक मल उत्पादन गर्दै सहकारीका कृषक

  • जेष्ठ २६, २०७५

दमकको कमल गाउँपालिकास्थित आईपीएम कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध कृषकहरूले पछिल्लो चार वर्षदेखि रासायनिक मल प्रयोगमा करिब ६० प्रतिशतले कटौती गरेका छन् ।

कमल गाउँपालिकाका किसानले आफ्नो खेतमा रासायनिक मल र विषादी प्रयोगमा रोक लगाएका हुन् । उनीहरूले खेतमा रासायनिकको सट्टा आफ्नै प्रयासमा उत्पादन गरेको जैविक मल र विषादी प्रयोग गर्न थालेका छन् । रासायनिक मलको प्रयोगले जमिनको उत्पादकत्वमा ह्रास आएको भन्दै उनीहरूले गाउँघरमै पाइने झारपात प्रयोग गरेर जैविक मल र विषादीको उत्पादन थालेका हुन् । आउने दिनमा यसको मात्रालाई बढाउँदै लगेर शतप्रतिशत बनाउने लक्ष्य राखेको किसानहरुले बताउने गरेका छन् ।

आईपीएम कृषि सहकारीका अध्यक्ष यामबहादुर राईले आफंैले उत्पादन गरेको जैविक प्राङगारिक मलले बालीमा अत्यनतै फाइदा पु¥याइरहेको बताउनुभयो । धेरै वर्षदेखि रासायनिक मल प्रयोग गरिरहेकाले एकैचोटीमा छाड्न गाह्रो भएपनि अहिले आएर आफंैले बनाएको जैविक प्राङगारिक मलको प्रयोगले राम्रो नतिजा आइरहेको हुँदा उत्साहित भएको अध्यक्ष राइले बताउनुभयो । साथै अबको दुई–तीन वर्षभित्र आफ्नो गाउँ रासायनिक मल मुक्त बन्ने उहाँको विश्वास छ । सहकारीको नेतृत्वमा जेठ १० गतेदेखि जैविक प्राङगारिक मल उत्पादन थालिएको छ । पहिलो चरणमा १० हजार केजी मल उत्पादन गर्ने लक्ष्य राखेको मल उत्पादनका सहजकर्ता टंकप्रसाद कट्टेलले जानकारी दिनुभयो ।

मल उत्पादनका लागि जंगलबाट ल्याइएको माटो प्रयोग गरिएको उहाँले बताउनुभयो  । माटोमा काठको धूलो, पिना, ब्रान्ड भुस, छ महिना पुरानो कुखुराको सुली, खरानी, हड्डीको धूलो, पाकेको कम्पोस्ट मल, सूक्ष्म जीवाणु, गाईको गहुँत, खेत बालीमा लाग्ने किराले मन नपराउने अमिलो, पीरो, टर्रो हुने ३० प्रजातिका झारपात मिसाउने गरिएको छ । यसरी मिसाएको मललाई सात दिनसम्म गहुँत हालेर चलाइन्छ । अन्य विभिन्न चरण पारगरेपछि १८ दिनमा प्रयोग गर्न मिल्ने गरी मल उत्पादन हुने कट्टेलले बताउनुभयो ।

जैविक प्राङगारिक मल सहकारीमा आबद्ध रहेका किसानलाई निस्शुल्क वितरण गरिने कट्टेलले बताउनुभयो । उहाँका अनुसार सहकारीमा आबद्ध ७० कृषक समूहका दुई सय किसानले मल प्राप्त गर्ने छन् । यसका साथै सहकारीले मल उत्पादन गर्नुअघि दुई वर्षदेखि जैविक ढुसिनासक् विषादी (टाइकोड्रमा) पनि उत्पादन गर्दै आएको छ । सहकारीले विषादी उत्पादनका लागि बाली संरक्षण निर्देशनालय तथा जिल्ला कृषि विकास कार्यालयबाट १६ लाख मूल्यको ल्याबका सामान प्राप्त गरेको छ । ल्याबबाट एक हप्तामा २० केजी विषादी उत्पादन गर्ने गरेको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले जानकारी दिनुभयो । उत्पादनपछि ३ सय ३७ ग्रामको प्याकेट बनाएर किसानलाई वितरण गरिन्छ ।

एक प्याकेट विषादीले ५० केजी गोबरमा मिसाएर १ कट्ठा जमिनमा प्रयोग गर्न मिल्ने पोखरेलले बताउनुभयो । विषादी उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सञ्चालित धान सुपर जोन एकाइले चार कोठे भवन निर्माण गरिदिएको छ । १४ लाखको लागतमा निर्माण गरेको भवनमा ल्याब राखेर सहकारीले विषादी उत्पादन गर्दै आएको छ ।

 



 

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू