बस्नेतको पुनः गिरफ्तारीका लागि सहकारीपीडितको माग

  • जेष्ठ २७, २०७५

सहकारीपीडित महिला हकहीत अधिकार संरक्षण समितिले ओरेन्टल कोअपरेटिभ लिमिटेडका सञ्चालक सुधिर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकार्ताको चार अर्ब रुपैँया बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरेको रिहाइले पीडितको भावनामा चोट पुगेको बताउनु भयो । अध्यक्ष पोखरेलले उक्त कम्पनिको अचल सम्पत्तिलाई सरकारले लिलाम गरी बचतकर्तालाई वैज्ञानिक ढङ्गबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड दिँदै मुलुकमा विधि र कानूनको शाषण कायम गर्न बस्नेतको पुनःगिरफ्तारीको माग गर्नु भयो ।

सहकारी निक्षेप ठगी आरोपमा वि.सं. २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेकोमा गत साता धरोटीमा रिहा गरिएको थियो । काठमाडौँ महानगरपालिका ३३ मैतीदेविमा प्रधान कार्यालय स्थापना गरेको सहकारी वि.सं. २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनिले वित्तिय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर वि.सं. २०६९ देखि बन्द भएको थियो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षण समेत गराएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू