सहकारीका नाममा लिएको ऋण तिर्न नसक्दा महासंघ विवादमा

  • जेष्ठ २९, २०७५

माओवादीको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ, युवा स्वरोजगार कोषमार्फत लिएको ऋण तिर्न नसक्दा विवादमा फसेको छ ।

महासंघले कोषमार्फत आठ वर्षअघि मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेडका नाममा लिएको ५ करोड रूपैयाँ ऋण तिर्न नसक्दा आन्तरिक विवादमा फसेको हो । पेट्रोल पम्प, सहकारी पसल, गाई फार्मलगायत स्वरोजगारमूलक काम गर्ने उद्देश्यले सहकारीको नाममा मजदुर संगठनले युवा स्वरोजगार कोषबाट राजनीतिक पहुँचका आधारमा ऋण लिएको थियो ।

राजनीतिक प्रभावका आधारमा ठूलो रकम ऋण लिएको भन्दै त्यतिबेलै आलोचना खेपेको मजदुर संगठनले सावा ब्याज नै नतिर्दा अहिले समस्या आएको छ । महासंघले ४ करोड ४७ लाख रूपैयाँ तिर्न बाँकी छ । कोषको ऋण तिर्न नसक्नु र लगानी गरेका आयोजना असफल हुनुमा मजदुर नेताहरूको व्यक्तिगत लाभहानी प्रमुख कारण रहेको संगठनभित्रैबाट आरोप लागेको हो ।

विवाद बढेसँगै महासंघको २५ जेठमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष जय कार्कीको नेतृत्वमा ५ सदस्यीय छानविन तथा ऋण असुली समिति गठन गरेको छ । समितिमा मजदुर नेताहरू एसबी थापा, शालिकराम काफ्ले, प्रकाश श्रेष्ठ र घनश्याम ठकुरी सदस्य छन् । २०६५ सालमा तात्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको कार्यकालमा बेरोजगार र पिछडिएका विपन्न वर्गका युवाहरूलाई देशभित्रै रोजगारी दिने र जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यका साथ युवा स्वरोजगार कोष गठन भएको थियो । स्वरोजगार कोषबाट राजनीतिक प्रभावका आधारमा तत्कालीन मजदुर संगठनले विभिन्न सातभन्दा बढी समूह बनाई ऋण लिएको थियो ।

ऋण तिर्न नसकेपछि अहिले संगठनका अध्यक्ष गणेश रेग्मीलगायत नेताहरूले पेरिसडाँडा पार्टी कार्यालयअगाडि मजदुर नेताहरू जय कार्की, अध्यक्ष रेग्मी र बाबुराम गौतमको नाममा रहेको २१ आना जग्गा बिक्री गरेर तिर्ने प्रस्ताव गरेका छन् । केही मजदुर नेताहरूले भने ऋण लिने र खर्च गर्ने काम व्यक्तिगत लाभहानीका आधारमा गरिएकाले संस्थागत जिम्मेवारी लिन नसक्ने बताएपछि छानविन समिति गठन भएको हो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू