ठगी गरेर फरार सहकारी सञ्चालक एक वर्षपछि पक्राउ

  • असार १, २०७५

धनकुटा नगरपालिका–७ हुलाक टोल स्थित सहयात्री कृषि सहकारी संस्थाका अध्यक्ष तिलकबहादुर यसमालीलाई प्रहरीले पक्राउ गरेको छ ।

रकम हिनामिना गरी फरार रहेका अध्यक्ष यसमालीलाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको हो । संस्थाबाट ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार यसमालीलाई एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका–७ स्थायी घर भएका यसमाली जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २३ गते पक्राउ गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनु भयो । त्रिवेणी माध्यमिक विद्यालयका निमावि स्थायी शिक्षकसमेत रहेका यसमाली सहयात्री सहकारी संस्थाको रु ५५ लाख एवं अन्य व्यक्ति एवं संस्थाको थप ठगीको उजुरी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसमाली धनकुटा नगरपालिका–७ स्थित निजी घर आएको मौका पारी धनकुटाबाट खटेको विशेष प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कोशी पहाडका चार जिल्ला हेर्ने डिभिजन सहकारी कार्यालय धनकुटाले यसअघि पनि धनकुटामा सञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागि पक्रिया अघि बढाउन सचेत गराइएको जनाएको छ । सहकारीको आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा एवं लेखापरीक्षण नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दै आफूखुसी चलेका र आर्थिक हिनामिनाका आरोपमा धनकुटा जिल्लाका १६ वटा सहकारी संस्था खारेजिमा परेका थिए ।

कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल ५८३ उपभोक्ता सहकारी संस्था दर्ता भई सञ्चालनमा रहेको डिभिजन सहकारी कार्यालय धनकुटाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू