सहकारीमार्फत कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छ : मन्त्री पौडेल

  • असार १३, २०७५

प्रदेश न. ५ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नेपालको समृद्धिका लागि कृषि क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले कृषिमा क्रान्ति गर्नका लागि सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी बैंक लिमिटेडले मंगलवार रुपन्देहीको बुटवलमा आयोजित सहकारी बैंक र सदस्य संस्थाहरुबीच अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उत्पादन गर्ने उत्पादक किसानहरुले कम रकम पाउने, उत्पादित वस्तु उपभोग गर्ने उपभोक्ताहरुले धेरै मूल्य तिर्न पर्ने तर बिचौलियाले धेरै नाफा पाउने अवस्था विद्यमान रहेको भन्दै उहाँले सहकारी क्षेत्रलाई विचौलियाको अन्त्यका लागि अग्रसर गराउनु पर्नेमा जोड दिनुभयो ।

उत्पादकलाई थप उत्पादन गर्न प्रेरित गर्न तथा उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय वस्तु खान पाउने अवस्था सिर्जन ागर्नका लागि सहकारी क्षेत्र सचेत र प्रभावकारी बन्नु पर्ने उहाँको सुझाव छ । सहकारीहरुले विपन्न वर्गका जनतासंग रहेको रकम जम्मा गरेर ठुलो रकम बनाएको भन्दै अब सहकारी क्षेत्रमा रहेको रकमलाई देशको समृद्धिको अभियानमा जोडाउनु पर्नेमा जोड दिनुभयो । ५ नं. प्रदेशको समृद्धिका लागि सहकारी अभियानलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम र बजेट समेत विनियोजन गरिएको भन्दै उहाले सहकारी अभियानसंग समन्वय गरेर बजेट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।प्रदेशमा सहकारी ऐन निर्माणको क्रममा रहेको जानकारी गराउदै उहाँले प्रदेश नं. ५ को सहकारी ऐन सहकारीमैत्री बन्नेमा ढुक्क हुन सहकारीकर्मीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी ऐन अनुसारको कर समायोजन गर्नका लागि अन्य ऐनहरुसंग समायोजन गर्न आवश्यक रहेको भन्दै सरकारले समायोजनका लागि कार्यदल गठन गरेको र सहकारी ऐनको भावना अनुसार नै कर समायोजन हुने गरी छलफल अगाडि बढेको बताउनु भएको छ । कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै बैंकका प्रवन्धक सञ्चालक के.बी. उप्रेतीले सहकारीहरुमार्फत समाज रुपान्तरणको अभियानमा अग्रसर रहने सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका लागि बैंक अग्रभागमा रहेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचन, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण नेपाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, सहकारी विषयमा विद्यावारिधी गर्नु भएको सहकारी विज्ञ डा. खगराज शर्मा लगायतले राज्यले सहकारीमार्फत गरिवी निवारणका क्षेत्रमा गर्ने रकम सहकारी बैंकमार्फत परिचालनल गर्नु पर्नेमा जोड दिनु भएको थियो । बैंकका अध्यक्ष रमेश पोखरेलको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र बुटवल शाखाका प्रमुख नरेश पाण्डेको स्वागतमा सम्पन्न कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगामी योजनाका बारेमा बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहजीकरण गर्नु भएको थियो ।

सोही अवसरमा बैंकको बुटवल शाखामा आर्थिक वर्ष २०७३/०७४ मा उत्कृष्ट कार्य गर्ने गरिमा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल र नियमित कारोबार गर्ने कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रमुख अतिथि प्रदेश नं. ५ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले सम्मान गर्नु भएको थियो । रुपन्देही जिल्लाका १ सय ५० भन्दा बढी सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको थियो ।



सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू