सहकारीको रकम अपचलन गर्ने दुईजना पक्राउ

  • असार १५, २०७५

दमौली बचत तथा ऋण सहकारीको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सहकारीका पदाधिकारी र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको बुधबारको आदेशबाट सहकारीकी सचिव दिव्या थापा, लेखापालद्वय लक्ष्मी थापा र शुभेच्छा दरैलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । सोही मुद्दाका आरोपी सहकारी संस्थाका कोषाध्यक्ष राजु थापा भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अदालतले संस्थाकी सदस्य दिपीका थापा र बजार प्रतिनिधी गीता रानाभाटलाई जनही १०/१० लाख धरौटी माग गरेकोमा धरौटी रकम राख्न नसकेपछि थापा र रानाभाट समेत कास्की कारागार चलान भएका छन् ।

सोही मुद्धाकै आरोपीहरु सहकारीका बजार प्रतिनिधिहरु अजुमा खातुन, रिना गुरुङ, इन्दिरा दरै र सुस्मिता बोटे जनही ५०र५० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । व्यास–२ स्थित दमौली सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम संस्थाका अध्यक्ष प्रकाश भन्ने थमबहादुर बहिक समेतको मिलेमतोमा हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरु विरुद्ध मुद्धा चलाएको थियो । संस्थाका अध्यक्ष प्रकाश भने हालसम्म पनि फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सहकारी संस्थाले भन्दा बढी ब्याजदर र सुविधा दिने लोभ देखाई सहकारीका पदाधिकारीले रकम हिनामिना गरेका थिए । प्रहरीका अनुसार उनीहरुले १४.७५ प्रतिशत व्याजदरको लोभ देखाई घर–घरमा गई दैनिक व्याजदरमा चल्ती तथा मुद्दती खाता खोल्न लगाई बचतकर्तालाई प्रलोभनमा पारेका थिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू