रैथाने बालीको संरक्षणमा जुट्दै सहकारी

  • असार १७, २०७५

बझाङमा लोप हुने अवस्थामा पुगेका रैथाने बालीहरूको संरक्षणका लागि सामुदायिक बीउ बैंकको स्थापना गरिएको छ ।

बझाङको मस्टा गाउँपालिका २ मा स्थानियबासीले गठन गरेको मस्टा साना किसान कृषि सहकारी संस्था मार्फत रैथाने बालीहरूको संरक्षणका लागि बीउ बैंकको स्थापना गरिएको हो । बीउ बैंकको स्थापना गरेर अस्तित्व खतरामा परेका बालीहरू संरक्षणको अभियान सञ्चालन गरिएको छ ।

स्थानीयका अनुसार स्वास्थ्यका लागि लाभदायक पुराना बीउ जोगाउन अभियान नै सञ्चालन गर्नुपरेको हो । ‘धेरै जातहरू त लोप नै भइसके, अब पनि संरक्षणको पहल थालिएन भने बचेका बालीहरू पनि केही वर्षभित्र लोप हुने खतरा देखेर बीउ बैंकको स्थापना गरेका हौं’, सामुदायिक बीउ बैंकका अध्यक्ष धीरबहादुर खड्काले भन्नुभयो, ‘सकेसम्म लोपोन्मुख बालीको बीउको पनि खोजी गरेर खेतीपाती गर्नलाई प्रोत्साहन गर्नेछौं ।’ मस्टा साना किसान कृषि सहकारी संस्था मार्फत बीउ बैंकको स्थापना गरिएको र यसको व्यवस्थापन गर्नका लागि सदस्यहरूभित्रबाट ७ जनाको व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

जिल्लाबाट लोप हुने अवस्थामा पुगेका रैथाने धानका जातहरू तागमारो, लडमन्या, उभो देशी, सुनाखुरी, रातो धान, राम जमुना, जाउली धान र रैथाने जातका बालीहरू मास्र्या, कोदो, कागुनु, फापर, रातो झालो, चाम्न्या काठो, मुणुल्लो, बड्डी गहुँ, भदौरे मकैलगायतका बीउहरू सामुदायिक बीउ बैंकमा राखिएको छ । यस्तै रातो भटमास, कालो भटमास, मुरी मास, रातो मास, रातो र कालो गहत, गुरुस आदि जातका रैथाने दालको बीउसमेत बैंकमा भण्डारण गरिएको र किसानले चाहेका बखत सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाइएको सहकारीले जनाएको छ ।

५ सयभन्दा बढी परिवारको बसोबास रहेको साविक मस्टा र भातेखोला गाविसका बासिन्दाको हकमा एक किसान बराबर ५ केजी बीउ सहुलियत मूल्यमा उपलब्ध गराउने निर्णय गरिएको र बाहिरका किसानहरूलाई पूरा मूल्यमा बीउ बिक्री गरिने सामुदायिक बीउ बैंकका सदस्य राममति कठायतले बताउनुभयो । विभिन्न ठाउँका किसानहरूबाट खरिद गरेर उपचारसमेत गरिएको बीउले उत्पादन पनि राम्रो दिन थालेपछि रैथाने बालीको खेती गर्न छोडेका किसानहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन ।

यसअघि सीमित व्यक्तिहरूले मात्र लगाउने गरेका रैथाने बालीहरू बीउ बैंककै कारणले धेरैले खेती गर्न थालेको बताउँदै रैथाने बाली प्रवद्र्धनका लागि गाउँपालिकाले पनि सामुदायिक बीउ बैंकसँग सहकार्य गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले बताउनुभयो । रैथाने जातका बालीहरूको मूल्य उच्च भएका कारण बजारसम्म पहुँच विकास गर्न सके खेती गर्ने किसानको संख्या आफैं वृद्धि हुने पनि उहाँले व्यक्त गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू