एकीकृत कृषि खेती प्रणालीमा सहकारीले योगदान दिनुपर्छ : मन्त्री खनाल

  • असार २४, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले एकीकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा सहकारीले योगदान दिनुपर्ने बताउनु भएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु हुँदै मन्त्री खनालले यस्तो बताउनु भएको हो । ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लाग्न निर्देशनसमेत दिनुभएको थियो । मन्त्री खनालले नेपालका अधिकांश भूमी खण्डिकरण र टुक्रा–टुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको व्यक्त गर्नुभयो ।

यस्तै पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले हात झिकेको खण्डमा दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो । ७ सय ६१ वटा सरकार रहेकाले उनीहरूलाई रिजाउन सहकारीलाई चुनौती भएकाले सबै स्थानीय तहमा सहकारी डेक्स र सहकारी अधिकृत राख्नुपर्नेमा जोड दिनुभयो । यसैगरी ७ वटै प्रदेशमा राष्ट्रि स्तरको प्रशिक्षण केन्द्र र केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कन्ट्री डाइरेष्टर रेनाउड मेयरले नेपालको सहकारी अभियान जनसम्पर्क गर्ने उत्कृष्ट मञ्च बन्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । नयाँ नेपाल निर्माणका लागि संविधानले एक महत्वपूर्ण खम्बाका रुपमा सहकारीलाई स्विकार गरेको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलेले दिगो विकास लक्ष्य हासिल गर्न बनेको समन्वयन समितिमा पछिल्लो समयदेखि सहकारीको अनिवार्य सहभागिता गराइएको जानकारी दिनुभयो । सहकारीले यी लक्ष्य हासिल गर्न लगानी र सचतेनाको भूमिकामा महत्वपूर्ण योगदान दिने भन्दै उहाँले योजना आयोगले सहकारीसँग सहकार्य गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रमका अवसरमा राष्ट्रिय सहकारी महासंघले जिल्ला बचत तथा ऋण सहकारी संघ चितवनलाई यस आर्थिक वर्षको उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको छ । प्रत्येक प्रदेशका एक सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएकोमा प्रदेश १ बाट झापाको पहिलो पाईला बहुउद्देश्यीय सहकारी, प्रदेश २ बाट साना किसान कृषि सहकारी संस्था, प्रदेश ३ बाट मन्थली बचत तथा ऋण सहकारी संःथालाई सम्मानित गरिएको थियो ।

त्यसैगरी गण्डकी प्रदेशबाट सिवाईसी बचत तथा ऋण सहकारी, प्रदेश ५ बाट पञ्चनगर महिला कल्याण सहकारी, कर्णाली प्रदेशबाट जनसेवा कृषि सहकारी र प्रदेश ७ बाट सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी पुरस्कृत भएका छन् । उत्पादनतर्फ भने चितवनको भण्डारा दुग्ध उत्प्पादन सहकारी उत्कृष्ट हुन सफल भयो । उत्कृष्ट सहकारी संघ/संस्थालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रत्येक बर्ष जुलाईको पहिलो शनिबार विश्वभरि नै अन्तर्रा्ष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा सहकार्यमार्फत दीगो समाज भन्ने मूल नाराका लागि नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू