असारे बजेट सिद्धाउन सहकारी मन्त्रालयलाई चटारो

  • असार २६, २०७५
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय धनगढीमा नयाँ भवन मर्मत संभार गर्न राखिएको २८ लाख खर्च गर्दै २५ लाख बढी रुपैँया फर्निचरमा खर्चिएको छ ।
 
प्रदेश सरकार व्यवस्थापन समितीले नयाँ भवनमा मर्मत सम्भार र लिपपोतमा २८ लाख खर्च गर्दै मन्त्रालयलाई आवश्यक पर्ने ९ लाखका फर्निचर किनेर दिएको चार महिनामा थप १६ लाख बढीको फर्निचर किनिएको हो । मर्मत सम्भारमा कुनै रकम खर्च नगरेको मन्त्रालयले फर्निचर र फिक्चर्समा १६ लाख बढी खर्च गर्दै अनावश्यक खर्च गरिएको छ ।
 
सहकारी प्रशिक्षण डिभिजन कार्यालयको नयाँ भवनमा स्थापना गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा चार महिनामै थप १६ लाख बढीको फर्निचर तथा फिक्चर्स किनिएका छन् । प्रदेश सरकार व्यवस्थापन समितीले नयाँ भवनमा मर्मत सम्भार शिर्षकमै २८ लाख खर्च गर्दै मन्त्रालय स्थापना गर्नका लागि फागुन महिनामै ९ लाखका फर्निचर किनेर दिईएको थियो । अहिले चार महिना हुन लाग्दा १६ लाख ३५ हजारको फर्निचर किनेर रकम सकिएको छ ।
 
मन्त्रालयले सो शिर्षकमा विनियोजन गरेको २० लाख रकममध्ये अब ३ लाख ६५ हजार मात्रै बाँकी रहेको छ । पुँजीगत तर्फ विभिन्न ५ वटा शिर्षकमा रकम विनियोजन गरिएकोमा फर्निचरका साथै मेसिनरी तथा औजार शिर्षकमा पनि १७ लाख ७ हजार रकम खर्च गरिएको छ । वाँकी तीन शिर्षकमा एक रुपैया पनि खर्च भएको छैन । निर्मित भवनको संरचनात्मक सुधारमा राखिएको १० लाख, सवारी साधनमा राखिएको १० लाख र पुँजीगत अनुसन्धान तथा परामर्श शिर्षकमा राखिएको ५८ लाख रकममध्ये एक रुपैयाँ पनि खर्च भएको छैन् ।
 
फर्निचर र फिक्चर्स शिर्षक तथ मेसिनरी औजार शिर्षकमा साढे ३३ लाख अन्धान्धुन खर्च गरिएको छ । कुल बजेट एक करोड २३ लाख पूँजीगत बजेटमध्ये ८९ लाख खर्च गर्न बाँकी छ । अहिले पनि बाँकी रहेको बजेट असार लागेसँगै धमाधम खर्च भईरहेको छ । तर त्यसको वास्तविक हिसाब किताब कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले दिएको छैन् ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू