आजदेखि कर्मचारीको पारिश्रमिक बैंकमार्फत गर्न निर्देशन

  • साउन १, २०७५

श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खाता मार्फत भुक्तानी गर्न सरकारले निर्देशन दिएको छ ।

सरकारले पारिश्रमिकलाई व्यवस्थित बनाउनका लागि सबै श्रमिक र कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी दिनुपर्ने बाध्यकारी निर्णय गरेकोे हो । नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीको पारिश्रमिक एवं वित्तीय सुविधा २०७५ श्रावण १ गतेदेखि २०७५ मसान्तसम्म अनिवार्य रूपमा बैंक खाता मार्फत भूक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै बैक, वित्तीय संस्था, बीमा कम्पनी, होटल, एयरलाईन्स, ट्राभल एजेन्सी लगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक एवं संस्थागत शिक्षण संस्थालाई पनि अनिवार्य रुपमा पारिश्रमिक बैंक मार्फत भुक्तानीको व्यवस्था मिलाउन सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले निर्णय गरेको छ ।

साथै कानून बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रष्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेश लगायत कानून बमोजिम गठित सबै संघ–संस्थाहरूले आफू मातहत काम गर्ने श्रमिक तथा कर्मचारीलाई २०७५ पौष मसान्तभित्र अनिवार्य रूपमा बैंक खाता मार्फत पारिश्रमिक तथा वित्तीय सुविधा भुक्तानीको व्यवस्था मिलाउने समेत निर्देशन दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू