सहकारी मार्फत बाख्रापालनमा सक्रिय बन्दै बागलुङका किसान

  • साउन १०, २०७५

बागलुङको काठेखोला गाउँपालिका ४ तंग्रामका कृषकहरु व्यवसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् ।

विदेशबाट फर्किएका तथा खेतीकिसानी गरिरहेका कृषकहरु बाख्रापालनबाटै राम्रो कमाई हुन थालेपछि यसप्रति आकर्षित भएका हुन् । मगर समुदायको अत्याधिक बसोबास रहेको तंग्राममा व्यवसायिक बाख्रापालन गर्ने प्रचलन थिएन । हेफर इन्टरनेशनलको सहयोगमा भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले बाख्रा उपहार कार्यक्रम सञ्चालन गरेपछि स्थानीयहरु बाख्रापालनतर्फ अग्रसर भएका हुन् ।

हेफर कार्यक्रम अन्तर्गत फापरखेतमा सप्तरंगी सामाजिक उद्यमी महिला विकास सहकारी संस्था र बसन्त सामाजिक उद्यमी महिला विकास सहकारी संस्था मार्फत कृषकहरु बाख्रापालनमा सक्रिय बनेका हुन् । सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढेको छ ।

प्रत्येक परिवारमा २/४ वटा बाख्रा अनिवार्य पाल्ने गरेका तथा व्यवसायिक रुपमा बाख्रा पाल्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको स्थानियले बताए । घरका महिलाहरु सहकारीका सदस्य बनेको र उनीहरुलाई पुरुषहरुले राम्रो सहयोग र समन्वय गरेका कारण वर्षमा १ हजार गोटा भन्दा बढी खसी बोका तंग्रामका दुईवटा सहकारीमार्फत बजारमा बिक्री हुने गरेका छन् ।

सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर बिक्री गर्दै आएका छन् । संस्थाले प्रति केजी ५ रुपैया लिएर सदस्यले उत्पादन गरेका खसी बोका बजारमा विक्री गर्दै आएका छन् । सहकारीमार्फत सदस्यको उत्पादन विक्री गरेर उनीहरुको आयआर्जन वृद्धि गराउन पाउदा खुसि मिलेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो ।

विवाइसीले बाख्रापालनतर्फ अग्रसर गराउन पहिलो पटक एउटा बाख्रो दिएकोमा त्यसैलाई बढाउदै र केही थप गर्दै यहाँका व्यवसायिक किसानहरुले ४०÷४५ वटा बाख्रासम्म पालेका छन् । विदेशबाट फर्केपछि के गर्ने भनेर अलमलिएका यहाँका युवाहरुमा हेफर कार्यक्रम अन्तर्गत बाख्रा पाएपछि यो पेशामा लाग्न प्रेरणा मिलेको उनीहरु बताउछन् । बाख्रासँगै यहाँका महिलाहरु सहकारीमा आवद्ध भई सपरिवार मिलेर कुखुरापालन व्यवसाय पनि गर्न थालेका छन् ।

साप्ताहिक रुपमा दुई संस्थाले खसी बोका खरिद गरेर विक्री गर्ने गरेका छन । आर्थिक वर्ष २०७४÷०७५ मा सप्तरंगी सहकारीमार्फत ७ सय ८५ गोटा खसी बिक्री गरी ८६ लाख रुपैया आम्दानी गरिएको संस्थाका प्रबन्धक मनकुमारी पुनले जानकारी दिनुभयो । यस्तै बसन्त सहकारीमार्फत १ सय ४० गोटा खसी बोका विक्री गरि १४ लाख ९० हजार ६ सय आम्दानी गरिएको संस्थाका प्रवन्धक हेमा वि.कले जानकारी दिनुभयो । दुईवटा सहकारी मार्फत तंग्रामका बाख्रापालक किसानहरुले वार्षिक १ करोड रकम घर भित्र्याउन थालेका छन् ।

हेफर इन्टरनेशनलमार्फत विवाइसी बागलुङले साविक तंग्राम गाविसमा विगत ६ वर्षदेखि साना किसान सबलीकरण परियोजना सञ्चालन गरेको छ । परियोजनाबाट सप्तरंगी सहकारीमार्फत २ सय २९ जना र बसन्त सहकारी मार्फत ७ सय ११ जना सदस्यलाई आयआर्जनका काममा केन्द्रीत गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू