सहकारीबाट किसानलाई पर्याप्त मल पाउनै गाह्रो

  • साउन १०, २०७५

सिरहाको औरही गाउँपालिका–१ दरहिया गाउँका दिनेश यादव मंगलबार एक बोरा डीएपी (रासायनिक मल) लिन ४० किलोमिटर टाढा लहान बजार आउनुभयो । भारतबाट मलखाद ल्याउन भारतीय प्रहरीले रोक लगाएपछि यादव लहान आउनु भएको हो ।

१० बिघा जग्गामा धान खेती गरेका उहाँलाई एक बोरा मलले पुग्दैन तर त्योभन्दा बढी मल कृषि सामग्री कम्पनीले दिने गरेको छैन । नागरिकता देखाएपछि प्रतिव्यक्ति एक बोरा मल कम्पनीले उपलब्ध गराउँछ ।

लहान नगरपालिका–२२ सिसवनीका सञ्जीव चौधरीले तीन दिन धाउँदा एक बोरा मल पाउनुभयो । उहाँका अनुसार धान रोपाइँ भइरहेकै बेला मल अभाव हुँदा किसान मर्कामा परेका छन् । उनीहरूजस्तै बिहानदेखि लाइनमा बसेर रामबहादुर सिंह, बेचनीदेवी साफी, देवसुनैर साफी, रामकुमार यादवलगायतले एक÷एक बोरा मल लिएका छन् ।

कृषि सामग्री कम्पनी शाखा प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार सहकारी संस्थालाई मलखाद दिइन्छ, त्यसपछि किसानले त्यहाँबाट किन्छन् । ‘प्रत्येक किसानलाई बोराका बोरा मल दिने प्रावधान छैन’, उहाँले भन्नुभयो, ‘सहकारीमार्फत गाउँ–गाउँमा खाद पठाउने गरेका छौं ।’ केन्द्रबाट पर्याप्त मलखाद नपठाइएको उहाँले जानकारी दिनुभयो । सिरहामा कम्तीमा २० हजार बोरा डीएपी मल आवश्यक छ तर यहाँ अहिलेसम्म आएको ५ हजार बोरा बेचिसकेका र बाँकी स्टकमा रहेको चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार युरिया पर्याप्त भएपनि धान रोपाइँका बेला चाहिने डीएपी मल केन्द्रले समयमा नपठाएपछि किसानलाई उपलब्ध गराउन नसकेको हो । उहाँले भन्नुभयो, “हामीले यहाँका सयवटा सहकारीलाई मल उपलब्ध गराउँदै आएका छौं र सहकारीले ५ प्रतिशत नाफा लिएर किसानलाई बेच्न गरेका छन् ।” सहकारीले कसरी मल बेच्छन् भनेर यसको अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय भएको व्यक्त गर्दै प्रमुख चौलागाईले सहकारीले बढी मूल्य लिएर बेच्ने गरेको सुनिएको र त्यसको अनुगमन जरुरी भएको पनि बताउनुभयो ।

यस्तै बजारमा मल किन्दा महँगो पर्ने गरेको किसानहरुको गुनासो छ । भारतबाट मलखाद आउन दिएको भए सस्तो हुने बताउदै कम्पनीबाट सहकारीमार्फत गाउँ–गाउँ मल जान्छ तर बिचौलियाले किसानलाई महँगोमा बेच्ने गरेको उनीहरुको भनाई छ । कृषि सामग्री कम्पनीमा २ हजार १ सय ८८ पर्ने मल किसानकहाँ पुग्दा बोराको ३ हजार रुपैयाँसम्म पुग्ने गरेको किसानको समस्या छ ।
अन्नपूर्णबाट

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू