भारतबाट रासायनिक मल किन्न सहकारी मन्त्रालयले प्रस्ताव

  • साउन १०, २०७५

कृषि भूमिसुधार तथा सहकारी मन्त्रालयले भारत सरकारसँग ५ वर्षका लागि रासायनिक मल खरिद गर्न प्रस्ताव पठाएको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६सहित २०७९÷८०सम्मका लागि ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल किन्ने प्रस्ताव भारतलाई पठाएको हो । भविष्यमा मल अभावको अवस्था आउन नदिन नेपालले पहिले नै सरकारी स्तरबाट हुने खरिदका लागि मलको विवरण भारत पठाइएको छ । सरकारले समयमै मल खरिद नगर्दा विभिन्न सिजनमा विभिन्न जिल्लामा मल अभावको समस्या देखिएको छ ।

गभर्नमेन्ट टू गभर्नमेन्ट (जीटूजी) स्किममा ५ वर्षमा ९ लाख ३५ हजार मेट्रिक टन मल किन्न प्रस्ताव गरिएको छ । बजेटअनुसार हेरफेर हुने गरी मन्त्रालयले भारतलाई एकैपटक ५ वर्षका लागि खरिद प्रस्ताव पाएको हो । सरकारले अबको ५ वर्षमा ११ लाख १५ हजार मेट्रिकटन युरिया, ८ लाख २० हजार मेट्रिक टन डीएपी, ५५ हजार मेट्रिकटन पोटास मल खरिद गर्नुपर्ने प्रक्षेपण गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ३ लाख ७ हजार, ०७६र७७मा ३ लाख ६० हजार, ०७७र७८मा ४ लाख ५ हजार, ०७८र७९मा ४ लाख ४२ हजार र ०७९र८०मा मा ४ लाख ७५ हजार मेट्रिकटन मल आवश्यक पर्ने अनुमान गरेको छ । यसमध्ये ५ लाख ६५ हजार मेट्रिकटन युरिया जीटूजी स्किकमा खरिद गर्ने प्रस्ताव गरिएको छ । ३ लाख ७० हजार मेट्रिकटन डीएपी मल पनि सरकारी स्तरको सुविधासहित बिक्री गर्न भारतलाई अनुरोध गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १ लाख ५० हजार, ०७६र७७मा १ लाख ७० हजार, ०७७र७८मा १ लाख ९५ हजार, ०७८र७९ र तथा ०७९र८०मा मा २ लाख १० हजार मेट्रिक टन मल भारतसँग जीटूजी स्किममा आफूलाई बेच्न भारतसँग प्रस्ताव गरेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू