परम्परागत खेती गर्न साना किसान बाध्य

  • साउन १३, २०७५

उचित ब्याजदर रकम नपाएका कारण झण्डै ६४ दशमलव शून्य चार प्रतिशत किसानले परम्परागत रुपमा चिया खेती गर्न बाध्य भएको एक सर्वेक्षणले देखाएको छ ।

नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण–२०७५ मा ३२ प्रतिशत किसानले चिया खेती विस्तार गर्ने बताए पनि दुई दशमलव शून्य पाँच प्रतिशतले कम गर्ने र शून्य दशमलव आठ प्रतिशतले चिया खेती अफापसिद्ध भएको उल्लेख गरिएको छ । झन्डै एक दशक अर्थात विसं २०५० देखि ०६० सम्म चिया उत्पादनमा किसानको उत्साह रहेको तथ्यांकमा उल्लेख छ । सो दशकमा ६४ प्रतिशतले चिया खेतीबाट आफूहरु सन्तुष्ट रहेको उल्लेख गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक शेषकान्त गौतमले तथ्यांकलाई सुक्ष्मरुपमा अध्ययन गर्दै जाँदा नेपाली चिया उत्पादक किसान सहुलियतपूर्ण ऋण प्राप्त हुनुबाट बञ्चित भएका कारण क्रमशः उनीहरूमा निरासाको संकेत देखिएको बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले झन्डै एक वर्ष लगाएर तयार पारेको चिया खेती सर्वेक्षण–२०७५ मा चिया निर्यातमा प्रचुर सम्भावना भए पनि व्यावसायिक खेती गर्न सर्वसुलभ र उचित ब्याजदरमा रकम नपाएकै कारण चिया खेतीमा उत्साह घट्दै गएको उल्लेख छ ।

सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहेको कृषि विकास बैंकले नेपालको चिया खेतीमा १४ दशमलव शून्य छ प्रतिशत ऋण लगानी गरेको छ । तर, सोही उद्देश्यका लागि विभिन्न सहकारी संस्थाले भने ४८ दशमलव शून्य तीन प्रतिशत लगानी हुनुले साना किसान सस्तो ब्याज प्राप्त गर्नबाट बञ्चित छन् भन्ने संकेत मिल्छ ।

विसं १९९२ बाट चिया खेती शुरु भएको इतिहास छ । नेपालको १४ जिल्लामा दुई लाख ४१ हजार ३४० रोपनी जग्गामा शुरु भएको व्यावसायिक चिया खेतीमा साना किसानको संख्या नौ हजार १२७ र ठूला किसानको संख्या १०८ छन् । नेपालमा सबैभन्दा धेरै चिया खेती झापा जिल्लामा एक लाख ४३ हजार ९०३ रोपनीमा र सबैभन्दा कम मोरङ जिल्लामा पाँच सय रोपनीमा हुन्छ ।

साना तथा ठूला किसानलाई लक्षित गर्दै अन्य बैंक तथा वित्तीय संस्थाले २३ दशमल शून्य छ प्रतिशत, व्यक्तिगत तीन दशमलव नौ र अन्य समूहसँग नौ दशमलव शून्य छ प्रतिशत कर्जा प्रवाह भएको जनाएको छ । विशेषगरी, सीटीसी, अर्थोडक्स र ग्रिनटी नेपालका मुख्य उत्पादित चिया हुन् । देशका ७७ मध्ये १४ जिल्लामा व्यावसायिकरुपले चिया खेती गरेको पाइएको छ । ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरुङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछाप चिया खेती भइरहेका जिल्ला हुन् ।

चियाको हरियोपत्ती उत्पादनमा संलग्न साना किसान ९८ दशमलव शून्य आठ प्रतिशतले भन्दा ठूला किसान एक दशमलव शून्य दुई प्रतिशतले सस्तो ब्याजदरमा ऋण लिएको पाइन्छ । उनीहरूले चियाका ठूला बगान सञ्चालन गरेका छन् । ठूला बगान हुनेलाई बैंकले सजिलै कर्जा लगानी गर्ने गरेको बताइन्छ । कृषि पेशामा ठूलाभन्दा साना किसानको आवद्धता धेरै देखिन्छ । त्यसैले ५९ प्रतिशत कृषक व्यवसायीले परम्परागत रुपमा एक लाख ७६ हजार ७६० रोपनी जमिनमा चिया खेती गरेको देखिन्छ । ३० प्रतिशतले ४२ हजार ५८० रोपनी क्षेत्रफलमा प्राङ्गरिक उन्मुख खेती गरेको पाइन्छ ।

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले चिया खेती गर्न मेरो जग्गा छैन भन्ने अवस्थाका किसानको संख्या पाँच प्रतिशत रहेको बताउनुभयो । ९५ प्रतिशत किसानले आफ्नै जग्गामा चिया खेती गरेको भए पनि शुद्ध प्राङ्गरिक चिया खेती गर्ने किसानको संख्या ११ प्रतिशत छ । नेपालमा विशुद्ध प्राङ्गरिक चिया खेती २२ हजार रोपनीमा हुन्छ । जीवनको आधार चियाबाहेकका अन्य पेशा नगरेका किसानको संख्या ५३ दशमलव शून्य पाँच प्रतिशत अर्थात् चार हजार ९ सय ४१ छ । व्यावसायिक चिया खेती भन्नाले अर्थोपार्जनका उद्देश्यले पहाडी तथा हिमाली जिल्लामा कम्तिमा एक रोपनी र तराईका जिल्लामा कम्तिमा एक कठ्ठा १० धुर क्षेत्रफलमा हरियो चियापत्ति उत्पादन गरी बिक्री वितरण गर्ने व्यक्तिलाई सर्वेक्षणमा परिभाषित गरिएको छ ।

व्यावसायिक चिया खेती गर्ने कृषकमध्ये २० रोपनीभन्दा कम क्षेत्रफलमा खेती गर्ने किसानको संख्या सात हजार ६सय एकजना, २० रोपनीभन्दा माथि दुई सय रोपनीभन्दा मुनी चिया खेती गर्नेको संख्या एक हजार ५ सय २८ र २०० रोपनीभन्दा माथि चिया खेती गर्ने किसानको संख्या ५४ रहेका छन् । कृषक र व्यवसायीले जम्माजम्मी ११ हजार ४१ बगानमा चिया खेती गरेको देखिन्छ । सबैभन्दा बढी बगान इलाममा छ हजार ९९५ र सबैभन्दा कम सिन्धुपाल्चोकमा आठ रहेका छन् । कृषक र व्यवसायीले हरियोपत्ति बिक्रीबाट गत वर्ष एक अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५रुपैँया प्राप्त गरेका छन् । रासस

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू