स्थानिय तहमा मनपरी सहकारी ऐन

  • भदौ ३१, २०७५

नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)का कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्थानीय तहहरुमा मनपरी रुपमा सहकारी ऐन निर्माण भईरहेको बताउनु भएको छ ।

मोरङको उर्लाबारी ७ स्थित महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पोख्रेलले अधिकांश स्थानीय तहहरुले सहकारीको प्रवद्र्धन र हितमा ऐन निर्माण नगरेको बताउनु भएको हो । उहाँले स्थानीय तहहरुले सहकारी क्षेत्रका संचालक र विज्ञहरुको सुझाव र सल्लाहका आधारमा ऐन निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

देश संघियतामा गएपछि सहकारीहरुको अनुगमन र नियन्त्रण गर्ने अधिकार स्थानीय तहहरुमा पनि आएकाले अब स्थानीय तहले पनि सहकारीको प्रवद्र्धन र विकासका लागि कार्यक्रमहरु ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । साधारणसभामा सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीका अध्यक्ष तेजनाथ घिमिरे, हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारीका अध्यक्ष डिबी थापा, नारी शृजना बचत तथा ऋण सहकारी संस्था लिमिटेड उर्लाबारीकी अध्यक्ष भगिरथा अधिकारी लगायतले संस्थाको प्रगतिको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत आमा मिलन केन्द्र उर्लाबारीकी अध्यक्ष अमृता राईलाई सम्मान गरिएको थियो । यस्तै नियमित बचतकर्ता दुर्गादेवी घिमिरे, लक्ष्मी घिमिरे, असल ऋणी सरिता राई, कुमारी भुजेल, जानुका ढकाल र उत्कृष्ट कर्मचारीका रुपमा सुजता फुयाललाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा कक्षा १२ को परीक्षामा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने सबिना लिम्बु र उदय भट्टराईलाई नगद जनही १५ सय रुपौया र प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।

संस्थाको शेयर पूँजी ५५ लाख १९ हजार रुपैँया, कोष हिसाब तीन लाख १ हजार ४ सय ८९ रपैँया र बचत तीन करोड २४ लाख ८९ हजार ३ सय ४१ रपैँया रहेको प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू