अभिवादन सहकारीको कर्जा लगानी ११ करोड ८७ लाख

  • अशोज ७, २०७५

ललितपुर स्थित महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले सहकारीले आवधिक पूँजीलाई शेयरको रुपमा लिन नहुने बताउनु भएको छ ।

प्रमुख श्रेष्ठले सहकारी संस्थाहरुले आवधिक बचतलाई पनि शेयर पूँजीमा गणना गर्ने गरेको र कुनै सदस्यले आवधिक बचत फिर्ता लिए संस्थालाई तरलता व्यवस्थापन गर्न समस्या हुने हुँदा आवधिक पूँजीलाई शेयरको रुपमा लिन नहुने बताउनु भएको हो । ललितपुर ६, सिद्धिपुरमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको दोश्रो वार्षिक साधारणसभाको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रमुख श्रेष्ठले नेपालका हरेक युवा वैदशिक रोजगारमा गएकाले वैदेशिक रोजगारबाट आर्जित रकमलाई उद्योगमा परिणत गर्न सके यसले उद्यमशीलता बढ्ने, रोजगारी सिर्जना भई आगामी दिनमा वैदेशिक रोजगारमा पलायन हुने क्रमलाई रोक्न सकिने दाबी गर्नुभयो । युवा शक्तिलाई स्वदेशमा नै अवसर प्रदान गर्न नगरपालिकाले उद्यमशीलता र रोजगारलाई प्राथमिकता दिएको पनि उहाँले बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि एवम् जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरद महर्जनले स्थानीय तहले सहकारी ऐन बनाउन हतार गरेको व्यक्त गर्नुभयो । उहाँले सहकारी नियमावली बन्ने तयारीमा रहेको, प्रादेशिक ऐन र नियमावली नबनिसकेको र त्यसको आधारमा मात्र स्थानीय तहले ऐन बनाउँदा उपयुक्त हुने धारणा राख्नुभयो ।

महालक्ष्मी नपा वडां नं ६ का अध्यक्ष एवम् विशेष अतिथि बासुदेव महर्जनले अभिवादन बहुउद्देश्यीय सहकारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सहकारीहरु व्याज आर्जनमामात्र केन्द्रित नभई औद्योगिक क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो । सिद्धिपुरलाई कृषिमा आत्मनिर्भर बनाउने योजना रहेकाले जग्गा प्लटिङ नगर्न र माटो समेत नबेच्न उहाँले स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष किशोर महर्जनले आर्थिक वर्ष २०७४/७५ को प्रगति तथा आर्थिक वर्ष २०७५/७६ को भावी योजना नीति तथा कार्यक्रम सभामा पेश गर्नु भएको थियो । सहकारीले मुलुकको कुल अर्थतन्त्रमा ३ प्रतिशत र वित्तीय क्षेत्रमा २४ प्रतिशत योगदान दिएको तथ्यांक रहेको जानकारी दिँदै ३ लाखभन्दा बढिले सहकारीबाट प्रत्यक्ष रोजगारी पाएको उहाँले बताउनुभयो ।

सभामा बोल्दै अध्यक्ष महर्जनले सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्नो कुल लागतको ३० प्रतिशत उत्पादनमूलक तथा रोजगारीमूलक क्षेत्रमा आगामी ३ वर्ष भित्र प्रत्यक्ष लगानी गर्नुपर्ने व्यवस्था बमोजिम संस्थाले यस वर्षदेखि उचित नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने जानकारी दिनुभयो ।

संस्थाले छोटो समयमै बचत संकलन, सदस्यता, शेयर पूँजी र कर्जा लगानीमा उल्लेख्य वृद्धि गर्न सकेको छ । संस्थाले गत आवको अन्त्यसम्म ६ सय ९१ सदस्यबाट १ करोड ९ लाख ३६ हजार शेयरपूँजी संकलन गरेको छ । त्यसैगरी संस्थाले ९ करोड ७१ लाख ४४ हजार बचत संकलन गरी ११ करोड ८७ लाख कर्जा लगानी गरेको छ । सदस्यहरुलाई छिटोछरितो र भरपर्दो सेवाप्रदान गर्न आधुनिक प्रविधिलाई आत्मसात गरेको संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत मुटु, मधुमेह र पायल्स सम्बन्धी स्वास्थ्य शिविर, कला संस्कृति र परम्परा जोगाउन धाःबाजाखलःलाई बाद्यवादनप्रदान, मठमन्दिरको सरसफाई, संवद्र्धन र प्रवद्र्धन जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

संस्थाले महिला सदस्यहरुलाई उद्यमशील बनाउन बिनाधितो बिनाब्याज ३ महिनासम्म २० हजार कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले सदस्यहरु बिरामी भई हस्पिटल भर्ना भएका ५ दिनसम्मको बेड चार्ज, बाल बचत र खुत्रुके बचतकर्तालाई बर्डडे केक उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा संस्थामा आवद्ध चिकित्क पेशामा रहेको शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी, स्थानीय युनिटी ग्रुप तथा धाबाजाखलःलाई बाद्यवादन सामग्री, प्रशंसापत्र र नगदसहित सम्मान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू