तथ्यांक व्यवस्थित गर्न कोपोमिस सञ्चालन

  • अशोज १४, २०७५

सहकारीका तथ्यांक व्यवस्थित गर्न सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली (कोपोमिस) सञ्चालनमा ल्याइएको छ ।

सहकारी विभागले शुक्रबारदेखि पहिलो चरणमा प्रदेश, महानगर र उपमहानगरबाट कोपोमिस कार्यान्वयनमा ल्याएको हो । सहकारी तथ्यांक व्यवस्थापन गर्न सरकारले सबै स्थानीय तह र प्रदेशबाट कोपोमिस कार्यान्वयनमा ल्याउने भएको हो ।

कोपोमिस कार्यान्वयनका लागि पहिलो चरणमा सहकारी विभागले शुक्रबारसम्म सातवटा प्रदेश सरकार, ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका सहकारी हेर्ने कर्मचारीलाई कोपोमिसका लागि युजर नेम र पासवर्डको एक्सेस दिएको छ । ती कर्मचारीलाई विभागले कोपोमिसको परिचय, यसको प्रयोग विधि, वित्तीय विवरण संकलन गर्ने तरिका, विवरण दाखिला गर्ने तरिका, पूरानो अभिलेख हेर्ने तरिका सिकाएको छ । विभागले दोस्रो चरणअन्तर्गत छिट्टै नगरपालिका र गाउँपालिकालाई कोपोमिसको एक्सेस दिने तयारी गरेको छ ।

सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले २७ हजार सहकारी कोपोमिसको सिस्टममा आइसकेको बताउदैँ सबै केही महिनाभित्र सबै सूचना कोपोमिस सिस्टममा आइसक्ने व्यक्त गर्नुभयो । कोपोमिसले संस्था पारदर्शी बनाउन र वित्तीय जोखिमबाट बचाउन सहयोग पुग्ने रेग्मीले जानकारी दिनुभयो । त्यस्तै नियामक निकायलाई सहकारीको नियमन गर्न सजिलो हुने उहाँको भनाई छ । यसअघि सहकारी विभागका साथै डिभिजन सहकारी कार्यालयले सहकारीको अनुगमन गर्ने गरेका थिए ।

अब सबै स्थानीय तहले आफ्नो मातहतको सहकारी नियमन गर्नेछन् । अनलाइन सिस्टमबाटै सहकारीको सम्पूर्ण विवरण हेर्न सकिने भएकाले सहकारी समस्यामा नपर्ने रेग्मीले बताउनुभयो । कोपोमिसले सहकारीको प्रवद्र्धन र नियमनका लागि तथ्यांकीय आधार तय हुने रजिस्ट्रार रेग्मीले व्यक्त गर्नुभयो ।

सहकारी विभागका उपरजिस्ट्रार नारायणप्रसाद अर्यालले कोपोमिस पूर्ण कार्यान्वयनमा आएसँगै कुल गार्हस्थ उत्पादन र वित्तीय क्षेत्रमा सहकारीको योगदान मूल्यांकन गर्न सजिलो हुने बताउनुभयो । कोपोमिसले सहकारीको यथार्थ विवरण देखाउने पनि उहाँले बताउनुभयो । अहिले सहकारीको योगदानको उचित मूल्यांकन समेत हुन सकेको छैन ।

सहकारी विभागका अनुसार देशभर ३४ हजार पाँच सय १२ सहकारी सञ्चालनमा छन् । सहकारीले पौने तीन खर्बको कारोबार गर्दै आएको छ । सहकारीमा ६० लाखभन्दा बढी मानिस आवद्ध भएको सहकारी विभागको तथ्यांक छ । सहकारीले कुल गार्हस्थ उत्पादनमा चार प्रतिशत र वित्तीय क्षेत्रमा १८ प्रतिशत योगदान दिएको छ । कोपोमिसको पूर्ण कार्यान्वयनसँगै सहकारीको सही तथ्यांक आउनेछ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू