सहकारीकर्मीलाई लविङमा केन्द्रित हुन बडालको आग्रह

  • अशोज १५, २०७५

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष केशव बडालले स्थानीय, प्रदेश र संघिय सरकारलाई सहकारी मैत्री बनाउन सहकारीकर्मीलाई लविङमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

आइतबार सहकारी विभागले आयोजना गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीसँग भएको एकीकृत व्यवस्थापन सुचना प्रणाली(कोपोमिस) सम्बन्धी अन्तक्रिया तालिम कार्यक्रममा अध्यक्ष बडालले सहकारीकर्मीलाई आ–आफ्नो क्षेत्रबाट लविङमा केन्द्रित हुन आग्रह गर्नु भएको हो । कार्यक्रममा अध्यक्ष बडालल २०७५ चैत २० गतेसम्म सहकारी अगुवा साथीहरुको मुख्य काम लविङ गर्ने रहेको बताउनुभयो ।

अध्यक्ष बडालले ७ सय ५३ वटै स्थानीय सरकार र सातवटै प्रदेश सरकारलाई सहकारी मैत्री बनाउनका लागि जिम्मेवारी लिन समेत अनुरोध गर्नुभएको थियो । उहाँले सहकारीमा दक्ष जनशक्ति हुन आवश्यक रहेको पनि व्यक्त गर्नुभयो । उहँँले कोपोमिसमार्फत सहकारीको डाटा संकलनमा सहज हुने र यसको योगदान प्रष्ट हुने बताउनुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केशव रेग्मीले सहकारीको उपलब्धी देखाउनका लागि कोपोमिसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सहकारी क्षेत्रकोे भविष्य कोपोमिससँग जोडिएको बताउदै रजिष्ट्रार रेग्मील अब सहकारीका कर्मचारीले प्रतिवेदनका लागि दिन रात खट्नु नपर्ने व्यक्त गर्नुुभयो । उहाँले सो अवसरमा व्यक्तिगत रुपमा गोप्य राखिने डाटाहरु यसमा इन्ट्रि गर्नुनपर्ने बनाइएको समेत जानकारी दिनुभयो ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य उपेन्द्र ढुंगानाले मन्त्रालयले मेगा प्रोजेक्टका रुपमा कोपोमिसलाई लिएकै कारण यसले सार्थकता पाएको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका संचालक तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव चन्द्र ढकालले सहकारीको एकिकरणलाई फोकस गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा कोपोमिसबाट स्वनियम हुने प्रष्टाउनुभयो ।

कार्यक्रममा केन्द्रीय तरकारी तथा फलफुल सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले कोपोमिसको प्रयोगपछि सहकारीको बदलिदो अवस्थाको तत्काल जानकारी हुने बताउनुभयो । नेपाल मौरीपालान केन्द्रीय सहकारी संघ लिका अध्यक्ष अर्जुन पोखरेलले सहकारी क्षेत्रको उत्पादन र यसको योगदानको जानकारी दिनका लागि सूचना प्रविधिको प्रयोग आवश्यक रहेको औल्याउनुभयो । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेडका अध्यक्ष दिपराज पौडेलले कोपामिसमार्फत सहकारीले नयाँ उचाई प्राप्त गर्ने बताउनुभयो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव माधवप्रसाद तिमल्सिनाले देशभरिका सहकारीको डाटा संकलनमा कोपोमिसले योगदान दिने र सहकारीमा सुधार गर्नुपर्ने कुरामा ध्यान पु¥याउन सकिने अवस्था सिर्जना हुने बताउनुभयो ।

५० करोडभन्दा बढि कारोबार गर्ने सहकारीहरुका व्यवस्थापक तथा कर्मचारीको उपस्थिति रहेको अन्तक्रिया तालिम कार्यक्रममा कोपोमिसको प्रयोग विधिको जानकारी दिदै प्रयोगकर्ता नाम र पासवर्ड प्रदान गर्ने कार्यक्रम छ । हालसम्म ३२ हजार ३४२ संघ÷संस्थाको साविकको दर्ता विवरण कोपोमिसमा दाखिला भइसकेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू