महिलाको शक्ति बढाउदैँ महिलाशक्ति सहकारी

  • अशोज २३, २०७५

नेपालमा सहकारीको सङ्ख्या ३४ हजारभन्दा बढी छ । देशको अर्थतन्त्रमा  सहकारीलाई एक महत्वपूर्ण खम्बाका रुपमा लिइएको छ । यसमा महिला सहकारीको उपस्थित पनि उल्लेखनिय छ । महिला सहकारीले के कस्तो काम गर्छ ?  यसका काम गर्ने क्षेत्रहरु तथा काभ्रेको बनेपा, तरकारीबजार स्थित महिला शक्ति लगानी बचत तथा ऋण सहकारी संस्थाका विषयमा रहेर संस्थाका अध्यक्ष इश्वरी श्रेष्ठसँग सुजना ढकालले गर्नु भएको कुराकानी  :

महिला शक्ति लगानी सहकारीको परिचय ?
महिला शक्ति लगानी बचत तथा ऋण सहकारी संस्था १० वर्ष पूरा भएर ११ औँ वर्षमा प्रवेश गरेको छ । बनेपाको तरकारीबजारमा अवस्थित यस संस्थाको बारेमा बताउनु पर्दा महिला शक्ति सहकारी भन्नाले यसमा कार्यकारी सदस्यदेखि लिएर सबै हामी महिला मात्र छौँ । यो महिलाको छुट्टै पहिचानको लागि खुलिएको संस्था हो । कोही सक्षम व्यक्ति जसलाई हामीले लगानी गर्दा उहाँहरुले राम्रो काम गर्ने तथा उद्योमी बन्न चाहनुहुने महिलाहरुका लागी हामी ५० हजारसम्म बिना धितो ऋण दिन गरेका छौँ । स्थापना कालदेखि नै हामी महिलाहरुले खोलेको संस्था राम्रौ तरिकाले नै अगाडि बढी रहेको छ । अहिलेसम्ममा हाम्रो सहकारीको लगानी ३ करोड रहेको छ, २ करोड ५० जति हाम्रो बचत छ अनि ६ सय महिलाहरु यहाँ सदस्य हुनुहुन्छ । पहिलादेखि नै हामीले धेरै बोनस मतलब १६ प्रतिशत सम्म बोनस खुवाउन सकेको सहकारीका रुपमा मानिसहरुले पहिचान गर्ने सहकारी नै हो यो ।

कुन कुन क्षेत्रमा लगानी गर्न ऋण दिनु हुन्छ ?
हाम्रोमा ब्युटिपार्लर भयो, किण्डर गार्डेन, सिलाई, कृषि सम्बन्धि ऋण लिनुहुन्छ । यसैगरी पशुपालन, फलफूल व्यवसाय लगायत व्यवसाय गर्न चाहनुहुनेका लागि पनि हामी ऋण दिन्छौँ । पहिला पहिला त हामी घरजग्गामा लगानी गथ्र्यौँ । अहिले चाहिँ घरजग्गामा त्यति लगानी गरेका छैनौँ ।

ऋण दिने प्रकृया चाहिँ कस्तो छ यस सहकारीको ?
हाम्रो अफिसियल्ली सबै कागजातहरु त चाहिनै हाल्छ जुनै सहकारीको लागि पनि । हामी पनि त्यही कागजातहरु सबै भइसकेपछि कुन व्यवसाय गर्नका लागि लिन चाहनुहुन्छ त्यसअनुरुप ऋण दिन्छौँ । यस्तै ऋण लिन चाहनुहुनेको क्यारेक्टर बुझेर पनि ऋण दिइरहेका हुन्छौँ ।

सहकारीमा महिलाहरुले मात्र ऋण लिन पाउने हो वा पुरुषहरुले पनि लिन पाउछन् ? महिलाले लिने र पुरुषले लिने ऋण कसरी फरक छ ?
महिलाहरुलाई बिना धितो ५० हजार रुपैँया ऋण दिने भनेर हामीले पहिलाबाट नै घोषणा गरेका छौँ । तर पुरुषहरुलाई पनि ऋण दिन्छौँ कारोबार भइरहेको छ । उहाँहरुको लागि भने बिना धितो ऋण दिँदैनौँ, यो महिलाहरुको लागि मात्र हो । महिला र पुरुषलाई ऋण दिँदाको फरकको कुरा गर्दा भने हामीले आफ्नो कामबाट नै के देखेका छौँ भने महिलाहरु पुरुषहरु भन्दा विश्वासिलो हुनुहुन्छ । महिलाहरुले थोरै ऋण नै किन नहोस समयमा नै तिर्नुहुन्छ पुरुषहरुले लिनु भएको ऋणको तुलनामा ।

१० वर्षको अनुभवमा कस्ता कस्ता खालका चुनौतीहरुको सामना गर्नु भएको छ ?
चुनौतीहरु त छ नै, सहकारी जस्तो संस्था जहाँ पैसाको, लगानीको कुरा आउछ । मानिसहरुलाई लोन दिँदा के हुन्छ भने, हामीकहाँ मानिसहरु ऋण लिन आउदा नरम तरिकाले राम्रो भएर आउनुहुन्छ अनि ऋण तिर्नुपर्ने बेलामा चाहिँ मान्छेहरुसँग डिसकस हुन्छ । चुनौती भनेको विशेषगरी त्यही हो ऋण उठाउन सबैमा समस्या हुने होइन तर कोही कोहीमा एकदम गाह्रो हुन्छ । यस्तै सहकारी भित्रका समस्या भन्नुपर्दा कहिलेकाहीँ पैसाको नै समस्या हुन्छ । सबै पैसा लगानी भइसकेको हुन्छ । त्यहीपनि हामी सञ्चालक सबैहरु एकजुट भएको कारण समस्या भएपनि हामी म्यानेज गर्छौँ ।

विगतलाई फर्केर हेर्दा आज सहकारी क्षेत्रमा कस्तो भिन्नता पाउनु भएको छ ?
पहिला थोरै सहकारी थियो, आज धेरै सहकारी खुलीसकेका छन् । त्यसैले त्यसबेलाको सहकारी नै ठीक थियो, राम्रो थियो जस्तो लाग्छ मलाई । जग्गाको धेरै कारोबार हुन्थ्यो, व्यवसायमा ऋण लिनेहरु पनि विश्वासिलो हुनुहुन्थ्यो । त्यसैले काम गर्न पहिला नै सजिलो थियो । पहिला हामीले १६ प्रतिशत खुवाको पनि अनि १६ प्रतिशत ब्याज दिएर ऋण प्रवाह गरेको थियौँ । दिन प्रतिदिन संस्थालाई टिकाई राख्न गाह्रो छ अहिले ।

संस्थालाई टिकाई राख्न र विश्वासिलो बनाउन के गर्नुपर्ला ?
संस्थालाई टिकाउन त अहिले सरकारले धेरै कुरा ल्याइरएको छ । त्यो कुरा धेरै राम्रो हो । अस्ति म एउटा सहकारीको कार्यक्रममा जादा त्यहाँ एक घर एक सहकारीको बारे कुराकानी भयो । त्यो कुरा पहिला मैले नबुझ्दाखेरी चाहिँ यस्तो भयो भने त समस्या हुने भयो नि त मानिसहरुका लागि भनेर सोच्थे । तर राम्रोसँग बुझ्दा, त्यस्तो नभएर दुई तीनवटा सहकारीमा सदस्य भएपछि समस्या बढी हुनेहुन्छ । यसमा एकभन्दा बढी सहकारीमा सदस्य भइएकोमा कस्तो हुन्छ भने एक ठाँउमा (सहकारी) ऋण लियो, अनि फेरी अर्कोलाई तिर्यो । त्यसो गर्दा उसको काम राम्रो नभएपनि सहकारीमा सदस्यता भएका कारण ऋण पाउछ । उसको झन् ऋणको भार बढ्दै जान्छ, समस्या अझ बढ्छ सवाधान हुनुभन्दा पनि । एक घर बराबर एक सहकारी नीति ल्याउनु भनेको त सबैका लागि राम्रो हुन्छ । त्यसरी नै सहकारीका राम्रा नीतिले यहाँका समस्याहरुको सावधान हुन्छ भन्ने विश्वास गरौँ । सहकारीको राम्रो नीति भयो भने सहकारीको आयु पनि लामो हुन्छ ।

महिला मात्र भएको सहकारीमा कत्तिको सहज छ काम गर्न ?
पहिला भन्दा अहिले धेरै नै विकास भइसकेको छ समाजदेखि लिएर देश र अन्य कुरामा पनि । अहिले महिलाहरुलाई उनीहरुको कामप्रति विश्वास पनि गर्छन् । पहिला महिलाले के त गर्लान् भन्ने धारणा थियो । अब मान्छेमा त्यो धारणा छैन । महिलाले पनि गर्न सक्छ भन्ने धेरै उदाहरण छ नि यसको कुरा गर्दा नारी टेवा भयो । महिलाहरु बरु बिस्तारै जान्छन् तर सफल चाहिँ हुन्छन् नै । त्यस्तो महिलालाई चुनौती नै नहुने चाहिँ होइन तर चुनौतीलाई महिलाहरुले सामना पनि गर्न सक्छ । उसमा त्यो क्यापाबिलिटि हुन्छ । महिलाहरु सक्षम छन् । कुनै एक हप्तामा गर्न सकिने काम होला, महिलाले एक महिना लगाएर गर्नसक्छन् तर उसले गरेको काम राम्रो हुन्छ, सोचेर गरेको हुन्छ । म अन्य संस्थामा पनि छु अनि म सबैे महिलाहरुलाई यो भन्छुकी हामी चुलोमात्र बस्नुपर्छ भन्ने धारणा नराख्नुस् । हामी चुलोमा बस्यौँ भने पकाउने खानेमा मात्र सिमित हुन्छ, त्यही काम हामी एक घण्टामा पनि सिद्धाउन सक्छौँ र आधा घण्टामा पनि सिद्धाउन सक्छौँ । त्यही भएर फुर्सद निकालेर अन्य केही काममा पनि लाग्नुपर्छ । घरको काम पनि गर्नु पर्छ तर त्यसलाई म्यानेज गर्ने सकिन्छनि । भ्याउदिन सक्दिन नभनौँ । दैनिक गर्ने काम अरु दिनभन्दा अलि चाडो गर्न सकिन्छ भने किन नगर्ने ।

प्रायः महिलाहरुलाई बाहिर गयो भने घरको चिन्ता लाग्ने, अलिकति ढिला भयो भने गाली खानुपर्छकी भन्ने डर हुन्छ, भात पकाउन ढिला हुन्छकी, घरमा कोही रिसाउने पो होकी भन्ने हामी महिलालाई हुन्छ । त्यही पनि हामीले म्यानेज गर्न सक्नुपर्छ । मेरो आफ्नै कुरा गर्दापनि ८/९ जना दाजुभाई भएको घरमा बिहे गर्दा सुरु सुरुमा डर लाग्थ्यो केही भनौँ कि नभनौँ, बाहिर जाउ भनेर कसरी भनौँ, रीसाउने पो होकी भनेर । आफूले पनि गरेर देखाए दुईजना मान्छेले मलाई चिन्यो । यो नै मेरो लागि उपलब्धी होनी । म घरमै बसी भने मलाई इश्वरी भनेर घरका बाहेक कसैले चिन्दैन । अहिले मलाई म बाहिर जन्छु भनी भने कसैले सोध्दैन किनभने उहाँरुले पनि बुझ्नुुहुन्छ मेरो कामका बारेमा । त्यो भएर आफै पनि क्यापेबल हुनुपर्छ तर आफ्नो जिम्मेवारी पनि बिर्सिनु हुँदैन । आफू आफैमा अनुशासित भइयो भने सबै राम्रो हुन्छ ।

यो संस्थाका योजनाहरु के के रहेका छन् ?
अब महिलाहरुका लागि खुलेको भएका कारण सबैभन्दा पहिला त महिलाहरुलाई पूँजिबाट वञ्चित नहोस् भन्ने मुख्य टार्गेट रहेको छ । अनि हाम्रो सदस्यहरुलाई बढी भन्दा बढी बोनस खुवाउन सकियोस् भन्ने छ । यो भन्दा पनि अझ ठूलो रुपमा सहकारी सञ्चालन गरी बढी भन्दा बढी सदस्याहरुलाई सुविधा प्रदान गर्न सकियोस् भनेर अघि बढेका छौँ । अहिलेसम्म हामीले सहकारी भनेर त्यति ठूलो ठूलो कार्यक्रम दिन सकेका छैनौँ, अब चाहिँ बिस्तारै कार्यक्रम गर्ने सोचिरहेका छौँ । यस सहकारीबाट अरु सहकारीले झैँ कार्यक्रम सञ्चालन गर्न सकियोस् भन्ने छ ।

महिला सहकारीमा किन आवद्ध हुनुपर्छ ?
महिला सहकारीमा किन आवद्ध हुनुपर्छ भने मैले पहिला नि भने ५० हजारसम्म बिना धितो ऋिण उपलब्ध गराउछौँ । यो सुविधा सहकारीमा सदस्य भईसकेपछि मात्र पाइन्छ । हाम्रो सहकारीका सञ्चालकले राम्रोसित मिहिनेत गर्यो भने सहकारीका लागि पनि राम्रो हुन्छ र यहाँको सदस्याको लागि पनि । महिलाको लागि नै भनेर खोलिएको संस्था महिलामा केन्द्रीत हुने भएका कारण उहाँहरुका कुरा नै यसमा आउने हुँदा महिला सदस्यले धेरै जान्ने र बुझ्ने अवसर पाउनुहुन्छ ।

महिलाहरु जो उद्योमि बन्न चाहनुहुन्छ तर बन्न सक्नु भएको छैन भने उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिला कुरा भनेको इच्छाशक्ति हुनुपर्यो । म बिजनेश एण्ड प्रोफेसन वमेन (बि.पि.डब्लु) बनेपा, बुडोलमा हेड अफिस छ, यसमा पनि काम गर्छु । यसबाट मैले थुप्रै व्यक्तिहरुलाई तालिम दिएको छु र म सबैलाई के भन्छु भने सबैभन्दा पहिला आफूमा इच्छशक्ति विकास गर्नुपर्यो अनि पैसा छैन अहिले भन्ने कुरा चाहिँ अहिले एकदम होइन । मसँग पूँजि छैन, म अहिले गर्न सक्दिन भन्ने होइन । म घरेलु उद्योगको महिला सभापति पनि हुँ । त्यसैले तपाईहरु दर्ता गर्नुहोस्, यसबाट तपाईलाई नै फाइदा हुन्छ भनिरहेको हुन्छु । हामीले एक लाख बराबरको कोटेशनहरु तयार गरेर, शिलाई नै किन नहोस वा अन्य कुनै उद्योमी हुनुपर्छ । उद्योमी महिलाले भूकम्प गएदेखि वर्षको एकचोटी प्रविधि हस्तान्तरण गरिरहेका छौँ । अब मान्छेले दर्ता गरेर वर्षको ५ सय नै किन नहोस् हामीले १ लाख बराबरको प्रविधि पाउनेमा ८० प्रतिशत सरकारले दिन्छ र २० प्रतिशत हामीले आफैले तिर्नुपर्छ । त्यस्तो पाउने भएपछि तिमिहरु उद्योम बन, उद्योमी दर्ता भएपछि सरकारबाटै सहयोग हुने भएपछि त्यत्तिकै नबस भन्छु । त्यस्तै धेरैवटा सहकारी भएको हिसाबले अहिले पूँजिको चाहिँ समस्या छैन । सबैले आफू सक्षम भइसकेपछि त्यो २०/२५ हजार, ५० हजार लोन दिन्छ । त्यो भएर आत्मशक्ति नै सबैभन्दा ठूलो कुरा हो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू