सल्यानमा सहकारीबाट ऋण लिई सफल व्यावसायी बन्दै

  • कार्तिक १३, २०७५

स्वदेशमा काम नपाएको भन्दै विदेशीने युवाको जमात बढीरहेका बेला सल्यानका एक युवा भैंसीपालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन ।

घर नजिकैको सहकारी र आफन्तबाट ५ लाख रूपैयाँ ऋण लिएर व्यावसायिक रूपमा भैंसीपालन सुरु गरेका सल्यान शारदा नगरपालिका–५ रातामाटाका फत्तेजंग घर्तीले मासिक ३२ हजार रूपैँया आम्दानी गर्न सफल भएका हुन् ।

आफ्नै जमिनमा खाली खोला भैंसीपालन फार्म सञ्चालन गरेका घर्तीले ८ वर्षसम्म तरकारी खेती गरेको अनुभवसमेत संगालेका छन् । केही वर्ष तरकारी खेतीसमेत सञ्चालन गर्नु भएको उहाँले २०७० साल जेठबाट व्यावसायीक भैंसीपालन सुरु गर्नु भएको हो ।

अहिले उहाँको फार्ममा ४ वटा भैंसी, एउटा राँगो र २ वटा साना पाडा÷पाडी छन् । सिजनका बेला (साउन महिनामा) ८५ हजार रूपैँयाको दूध मात्र बिक्री गरेको बताउने उहाँले अहिले दैनिक १८ लिटर दूध बिक्री गर्दै आउनु भएको छ । प्रतिलिटर ६० रूपैँयाका दरले उनले दैनिक १ हजार ८० रूपैँया दूधबाट मात्र आम्दानी गर्दै आउनु भएको छ ।

शारदा नगरपालिका–३ थापागाउँमा रहेको चेतना सामाजिक डेरी उद्योगमा दूध पुर्याउने गरेको घर्तीले बताउनुभयो । दूध बिक्री गर्न समस्या नभएकाले निकट भविष्यमा अन्य कुनै स्थानमा अझ ठूलो क्षेत्रमा व्यापक तरीकाले भैंसीपालनको सोच बनाएको उहाँको भनाई छ ।

९० हजार रूपैँयादेखि १ लाख रूपैँयासम्मका भैंसी खरिद गर्नु भएका उहाँले भैंसीको बिमासमेत गर्नु भएको छ । उहाँले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ लाख रूपैँया बराबरको बिमा गर्नु भएको छ । भैंसी फार्ममा घर्तीकी श्रीमती देवा घर्तीले पनि सहयोग गर्दै आउनु भएको छ ।

हरियो घाँसका लागि सामुदायिक वन र नर्सरीको घाँस किन्ने गरेको उहाँले बताउनुभयो । २०५२ सालमा एसएलसी पास गरेका घर्तीले अहिलेसम्म जिल्ला पशु कार्यालय सल्यानबाट गोठ सुधारका लागि भन्दै ६० हजार रकम अनुदान पाएको र अन्य सरकारी अनुदान अहिलेसम्म नपाएको उहाा बताउनुहुन्छ । ऋण काडेर भैंसीपालन व्यवसाय थाल्नु भएको उहाँले स्थानीय सरकारबाट सहयोग पाए व्यावसायीकरूपमै भैंसीपालन गर्न सहज हुने बताउनुहुन्छ ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू