कृषि सहकारीलाई सहकारी बैंकमार्फत बजेट परिचालन गर्न माग

  • कार्तिक १४, २०७५

चितवनका साना किसान कृषि सहकारी संस्थाका अगुवाहरुले कृषि लगायत उत्पादनका क्षेत्रमा काम गर्ने सहकारीहरुलाई राज्यले प्रदान गर्ने बजेट राष्ट्रिय सहकारी बैंक लिमिटेडमार्फत परिचालन गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकको चितवन शाखाले मंगलबार चितवनको नारायणगढमा आयोजना गरेको सहकारी बैंक र साना किसान कृषि सहकारी संस्थाहरुबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । सहकारी क्षेत्रका लागि विनियोजित हुने बजेट सहकारी बैंकमार्फत परिचालन गर्न सकेमा लक्षित वर्गमा छिटो र सहज रुपमा उपलब्ध हुने उनीहरुको भनाई थियो ।

सहकारीहरुको प्रवद्र्धनका लागि बनेको बैंकमार्फत सहकारी क्षेत्रमा विनियोजन हुने बजेट परिचालन गर्न सहकारीहरुले सरकारसँग माग समेत गरेका छन् । सहकारीलाई उत्पादनका क्षेत्रमा काम गर्न सकेनन् मात्रै भनेर यसलाई उत्पादनका क्षेत्रमा काम गर्ने वातावरण बनाउन समेत सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईले सहकारीकर्मीहरु एकजुट भएर सहकारी बैंकमार्फत सरकारको बजेट परिचालनका लागि दवाव दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत उत्पादन, सेवा र बचतका कार्यक्रमलाई प्रभावकारी बनाउदै अगाडि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुले प्रभावकारी परियोजनाका साथ अगाडि बढेमा बैंकले सहज र सरल रुपमा कर्जा उपलब्ध गराउने बताउनु भयो । सहकारीका सदस्य र संस्थागत रुपमा सञ्चालन गरिने कर्जामा बैंकले सहकारी संघ संस्थाहरुलाई परियोजनाको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने भन्दै उहाँले कृषि लगायत उत्पादन, प्रशोधन, संकलन र बजारीकरणका क्षेत्रमा काम गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला कृषि सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले जिल्लाका कृषि सहकारीहरुको अवस्था र सहकारी बैंकसंगको समन्वयका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारी बैंकको सेवा सुविधा लगायत क्षमता विकासका लागि के गर्न सकिन्छ भन्नेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई, सहायक महाप्रवन्धक हरिकृष्ण सापकोटा, प्रवन्धक प्रमोद कुमार घिमिरेले सहभागीले उठाएका जिज्ञासा बारेमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा चितवन जिल्लामा क्रियाशिल २५ वटा साना किसान कृषि सहकारी संस्थाका ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू