प्रदेश सरकारले सुरु गर्यो सहकारीको अनुगमन

  • कार्तिक १८, २०७५

सहकारीको नियमन तथा अनुगमको अख्तियारी पाएको प्रदेश सरकार मातहतको निकायले सहकारीको अनुगमन सुरु गरेको छ ।

डिभिजन सहकारी कार्यालयको खारेजीपछि झापामा पहिलोपटक बुधबार ५ वटा सहकारीको अनुगमन गरिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेश–१ का सहकारी मन्त्रालयका प्रशासन तथा सहकारी शाखा प्रमुख रामप्रसाद चापागाईँ नेतृत्वको टोलीले सहकारीको अनुगमन सुरु गरेको हो ।

सहकारी शाखाका शाखा अधिकृत टोलीले बिर्तामोडको सतासी बहुमुखी सहकारी संस्था, साना मझौला सहकारी संस्था, शिखर साकोस, सिम्रिक बचत तथा ऋण सहकारी संस्था र लक्ष्मी बहुउद्देश्य सहकारीको अनुगमन गरेको छ । झापामा प्रदेश–१ को मातहतमा रहेका ३ सय ७४ वटा सहकारीको अनुगमन गर्ने क्रममा पहिलो चरणमा पाँचवटाको अनुगमन गरिएको प्रमुख चापागाईँले जानकारी दिनुभयो ।

टोलीले सहकारीको वित्तीय कारोबार, कार्यालय व्यवस्थापन, सहकारी सुशासनको अवस्थाबारे जानकारी लिएको छ । मन्त्रालयले निरन्तर सहकारीको नियमन र अनुगमन गर्ने कार्ययोजना बनाएको उनले जानकारी दिए । प्रमुख चापागाईँका अनुसार अनुगमनका क्रममा लेखापरीक्षण प्रतिवेदन कसरी बनाउने र कहाँ पठाउने भन्ने अन्योल रहेको देखिएको छ । उहाँले प्रदेशस्तरीय मन्त्रालयमा जनशक्ति कम भए पनि कामलाई निरन्तरता दिने र प्रदेश मातहतका सहकारीले सम्बन्धित निकायमा आफ्नो गतिविधि जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रमुख चापागाईँले प्रदेश सहकारी मन्त्रालयअन्तर्गत ७२ जना कर्मचारी रहने स्वीकृत दरबन्दी भए पनि तत्काल ४० जना कर्मचारी रहेको जानकारी दिनुभयो । टोलीले अनुगमनका साथै सहकारी सूचना प्रणाली स्थापनमा इमेल र सम्बन्धित सहकारीलाई पासवर्ड उपलब्ध गराएको छ । जसले सहकारीको गतिविधिलाई अनलाइन प्रविधिमार्फत हेर्न र अनुगमन गर्न सकिने विश्वास लिइएको छ ।

सीमित स्रोत साधनका बाबजुत पनि अनुगमन थालिएको बताउदै चापागाईँले सहकारीको अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । झापामा अनुगमन गर्नुअघि उदयपुर, सुनसरी, झापाको दमकलगायत क्षेत्रमा अनुगमन गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू