पाँचतारा सहकारीले नाफाको १८ प्रतिशत लाभांश दिने

  • कार्तिक २०, २०७५

काठमाडौँ स्थित पाँचतारा बचत तथा ऋण सहकारीले १८ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको ११ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेफ्स्कुनका पूर्व अध्यक्ष एवम् सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा बोल्दै प्रधानाङ्गले छोटो समयमा पाँचतारा सहकारीले गरेको प्रगतिको प्रशंसा गर्दै सहकारीले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग पु¥याएको भए पनि राज्यले वेवास्ता गरेको बताउनुभयो । उहाँले नेफ्स्कुनल सञ्चालन गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्डिङले वित्तीय व्यवस्थापनलाई सहयोग पुग्ने भएपनि सहकारीले समाजलाई के दिन सक्यो भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि डा. विष्णुहरि नेपालले समाजको आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । सहकारीले रोजगारी सिर्जना र उत्पादन वृद्धिको प्रयास गरिरहेको भएपनि पूर्ण रुपमा सफल नभएको औंल्याउँदै उहााले आर्थिक रुपान्तरणमा सहकारीको भूमिकालाई बढाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो ।

सभामा बोल्दै सहकरी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीको सैद्धान्तिक विषयमा प्रकाश पार्दै संस्थाले शेयर पूँजी, बचत संकलन, ऋण लगानी र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने व्यक्त गर्नुभयो । उहाँले दुई तिहाइको सरकारले सहकारीलाई आर्थिक मोडलको रुपमा अघि लैजानुपर्ने भएपनि सहकारी क्षेत्र अहिले अन्यौलमा रहेको उल्लेख गर्नुभयो ।

सभामा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले सहकारी क्षेत्र सरकारको नजरमा अझै प्रतिष्ठित बन्न नसकेको भएपनि अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेको बताउनुभयो । सहकारीले सदस्यमार्फत ससानो क्षेत्रमा लगानी गरेर उत्पादन बढाउन सके सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुनसक्ने चौलागाईंको विश्वास थियो ।

कार्यक्रममा काठमाडौं जिल्ला बचत संघका अध्यक्ष केशवप्रसाद दंगालले पाँच ताराले गरेको प्रगतिको प्रशंसा गर्दै फोर्स मर्जरको आवश्यकता रहेको औंल्याउनुभयो । रहरमा जन्मेका र बाध्यतामा परेका सहकारीलाई पाँचतारा जस्ता ठूला सहकारीले एकिकरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

निजामति ट्रेड यूनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले सदस्यहरुलाई उद्यमशील र व्यवसायिक बनाउन अहिलेको चुनौती रहेकाले त्यसतर्फ सहकारीको ध्यान जानुपर्ने बताउनुभयो । कुल जनसंख्याको एक तिहाई जनसंख्या सहकारीको सदस्य बनेको अवस्थामा सहकारीको सही व्यवस्थापन गर्नु राज्यको जिम्मेवारी रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम् पुष्कर साकोसका अध्यक्ष मनमोहन श्रेष्ठले सहकारीको संख्या धेरै भएपनि वित्तीय पहुँच भने बढ्न नसक्नुमा सहकारीको क्षमता कमजोर रहेको बताउनुभयो । संख्यात्मक रुपमा धेरै सहकारी हुँदा विकृति बढेको भन्दै उहाँले राज्यका नियमन अनुगमन समेत कमजोर रहेको उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष भोलानाथ पाठकले नयाँ व्यवस्थाअनुसार तीनवटै तहमा सहकारी हस्तान्तरण भएको भएपनि प्रदेश सरकारले ऐनकानुन नबनाउँदा आफूहरुलाई समस्या परेको व्यक्त गर्नुभयो ।

सहकारीका सदस्य एउटै घरका परिवार भएको भन्दै उहाँले सदस्यहरुबीच हरेक कुरामा सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, सामाजिक संघसंस्थालाई सहयोग जस्ता कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

५ करोड ६२ लाख रुपैँया शेयर पूँजी रहेको संस्थाको बचत संकलन ३६ करोड ७४ लाख र ऋण लगानी ३६ करोड ९५ लाख रहेको छ । संस्थाले गत वर्षको आम्दानीबाट राज्यलाई ५५ लाख ८३ हजार कर तिरेको र सो अवधिमा २ करोड २३ लाख खुद मुनाफा आर्जन गरेको छ । संस्थाको जगेडा, प्राकृतिक विपत्ति, घाटापूर्ति र ऋण नोक्सानी कोषमा गरी ४ करोड ९८ लाख रकम जम्मा भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू