विराटनगरका किसानले पर्याप्त मल पाएनन्

  • मंसिर १८, २०७५

मंसिरको धमाधम सकिएसँगै किसानहरू हिउँदे बालीलगायत व्यस्त छन् । तोरी, गहुँ, फापर, मकैं र आलु जस्ता हिउँदे बाली लगाउने बेला घर्किन लागेको छ । तर किसानले समयमै मल र बीउ पाउन सकेका छैनन् । सरकारले पर्याप्त मल उपलब्ध भएको बताइरहँदा किसानले भने हिउँदे बालिका लागि मल नपाएको गुनासो छ ।

धान रोप्ने सिजनमा चाहिने युरिया अभाव हुने र गहुँ छर्ने सिजनमा चाहिएको डिएपी मल अभाव हुने समस्याले आफूहरू हैरान भएको मोरङ जहदाका किसान पर्शुराम राजवंशीको भनाई छ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मलको आयात र बिक्री वितरण गर्दै आएको छ । यी संस्थानहरूले आवश्यकताअनुसार मल आपूर्ति नसक्दा किसानले मार बेहोर्नु परिरहेको हो ।

कटहरी गाउँपालिकामा रहेको राजा धनपाल बहुउद्देश्यीय सहकारी संस्थाको मल बिक्री केन्द्रका प्रमुख राजु राजवंशीले दैनिक १०० बोरा डिएपी मल बिक्री हुने गरेकोमा कम्पनीले हप्तामा १०० बोरा मात्र दिने गरेको बताउनुभयो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादव भने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा पर्याप्त मल रहेको दाबी गर्नहुन्छ । प्रदेश सरकार प्रादेशिक मल नीति बनाउने कुरा अगाडि बढाइरहेको बताउँदै केही समन्वयको अभाव हुनसक्ने बताउनुभयो ।

संघीय सरकार मातहत रहने साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेड हाल प्रदेश सरकार मातहतमा छन् । यी दुई संस्थानमा प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रको मागका आधारमा मल बिक्री वितरण गर्दै आएको छ । मलको आवश्यकताका आधारमा स्थानीय निकायहरूबाट सिफारिस गर्ने गरी मल उपलब्ध गराउने र बिक्रीको प्रतिवेदन र मल उपलब्ध गराएको जानकारी स्थानीय तहमा पठाउने व्यवस्था प्रदेश सरकारले गरेको छ । तर सरकारको निकायबीचको समन्वय र ऐन कानुन निर्माणको समस्या देखाउँदा किसानले भने समयमा मल बीउ पार्न सकेका छैनन् ।
थाहा खबर

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू