बाँकेका महिलाद्वारा आठ करोड २२ लाखको खसी बिक्रि

  • मंसिर २०, २०७५

तीन वर्षको अवधिमा बाँकेका बाख्रापालक महिलाले आठ करोड २२ लाख २८ हजार रुपैँयाको खसी बिक्री गरेका छन् ।

केही वर्षअघि भान्छामा मात्र सीमित महिलाले व्यावसायिक बाख्रापालन गरेर मनग्य कमाउन थालेका हुन् । महिलाले वर्षमा कम्तीमा एक लाख रुपैँयाको खसी, बोका बिक्री गर्दै आएको राप्तीसोनारी गाउँपालिका– ७ की लक्ष्मी पुनले बताउनुभयो ।

हरेक वर्ष बाख्राको सङ्ख्या बढाउँदै लगेका बाँकेका महिलाले आर्थिक वर्ष २०७४÷०७५ मा चार करोड १२ लाख ८४ हजार रुपैँयाको खसी बिक्री गरेको सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष गंगा चन्द ठकुरीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७३÷०७४ मा दुई करोड ६३ लाख र आर्थिक वर्ष २०७२÷०७३ मा एक करोड ४६ लाख ४४ हजार रुपैँयाको खसी, बोका बिक्री गरेको जानकारी दिनुभयो ।

सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघमा १२ हजार घरधुरीका ११ हजार परिवारका महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । यी महिलाले वार्षिक १६ हजार खसी उत्पादन गर्ने लक्ष्य लिएको संघका अध्यक्ष ठकुरीले बताउनुभयो । “सहकारी संघमा नौ हजार पाँच सय महिला सेयर सदस्य छन्, यी महिलाले जम्मा गरेको सेयर पुँजी तीन लाख ९० हजार रुपैँया जम्मा भएको छ”, उहाँले भन्नुभयो । महिलाले व्यवसाय हितकोषमा पाँच लाख ५० हजार रुपैँया पनि बचत गरेका छन् ।

तौलिएर बेच्न सुरु गरेपछि ठगिएनन् महिला
महिलाको सक्रियतामा बाँकेमा खसी, बोका तौल गरेर बिक्री गर्ने परिपाटीको विकास भएको छ । पहिले अन्दाजको भरमा खसी, बोका व्यवसायीसँग बिक्री गर्दैै आएका महिलाले पछिल्लो समय तौल गरेर मात्र बिक्री गर्न थालेका छन् । “तौलेर बिक्री गर्दा बाख्रापालन व्यवसाय गर्ने महिला ठगिनबाट जोगिएका छन्”, नयाँ सिर्जनशील सहकारी संस्थाकी व्यवस्थापक विद्या गुरुङले भन्नुभयो । उहाँले खसीको अवस्था हेरेर मूल्य निर्धारण हुने गरेको बताउनुभयो । उहाँले तीन सय ५० देखि चार सय ८० रुपैँया प्रतिकेजी जिउँदो खसी बिक्री हुने गरेको बताउनुभयो । “खसीको अवस्था जस्तो छ, त्यस्तै मूल्य किसानले पाउने गरेका छन्”, उहाँले भन्नुभयो ।

व्यवसाय केन्द्र स्थापना
बाख्रापालन व्यवसायलाई प्राथमिकता दिन बाँकेका महिलाका लागि बाख्रा व्यवसाय केन्द्र स्थापना गरिएको छ । हेफर इन्टरनेसनल नेपालले महिलाले उत्पादन गरेको बाख्रा बिक्रीका लागि केन्द्रमा राख्ने व्यवस्था मिलाएको हो । केन्द्रमा ल्याएर महिलाले देशका विभिन्न सहरमा पठाउने गरेका छन् । ढुवानीका लागि हेफरले ट्रकसमेत संघलाई प्रदान गरेको संघका अध्यक्ष गंगा चन्द ठकुरीले बताउनुभयो ।

उहाँले जिल्लाभरबाट सङ्कलन भएका खसी मागअनुसार देशका विभिन्न सहरमा पठाउने गरिएको व्यक्त गर्नुभयो । खसी ढुवानी गर्दा अनेकौँ किसिमका समस्या झेल्नुपरेको बताउँदै उहाँले ढुवानी गर्दा खर्च धेरै लाग्ने गरेको बताउनुभयो । “ढुवानीमा लाग्ने केही खर्च स्थानीय सरकारले व्यहोरिदिएको भए हामीलाई धेरै राहत मिल्थ्यो”, उहाँले भन्नुभयो ।

हेफरले सो केन्द्र सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेलाई हस्तान्तरण गरिसकेको छ । ग्रामीण महिलाको आयस्तर बढाउने उद्देश्यले बाँकेको रोप्तीसोनारी– ८ ढकेरीमा हेफर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके बाख्रा व्यवसाय केन्द्र स्थापना गरिएको हो ।
नयाँ पत्रिका

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू