देशको आर्थिक विकासमा सहकारीको योगदान अग्रस्थानमा छः महरा

  • मंसिर २३, २०७५

सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासको लागि सहकारीले गरेको योगदान अग्रस्थानमा रहेको बताउनु भएको छ ।

काठमाडौँको पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वाषिर्क साधारण सभामा उहाँले यस्तो बताउनु भएको हो । महराले देशको आर्थिक विकासको लागि सहकारीले गरेको योगदान अग्रस्थानमा रहेको बताउदै सहकारीको विकासमा सरकारले पनि योगदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा देशको कुल वित्तीय कारोबारमध्ये सहकारीले २५ प्रतिशत हिस्सा ओगटेको तथ्य समेत सार्वजनिक गरिएको थियो । संस्थाका सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले देशभर २८ वटा वाणिज्य बैंकहरु पछि दोश्रो ठूलो वित्तीय कारोबार सहकारी संघ संस्थाहरुबाट भइरहेको जानकारी दिनुभयो । देशभर ३५ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भएकोमा २८ हजार भन्दा बढी सहकारी संस्थाहरु क्रियाशिल रहेको छन् ।

पछिल्लो तथ्याङ्क अनुसार सहकारी क्षेत्रको वित्तीय कारोबार जम्मा करोबारको २५ प्रतिशत भन्दा बढी अर्थात ५ सय ५० अर्ब भन्दा बढी निक्षेप परिचालन सहकारीले गरेको जनाइएको थियो । त्यस्तै ८० अर्ब बराबर शेयर पूँजी संकलन सहकारीबाट भएको छ । प्रत्यक्ष रुपमा २ लाख भन्दा बढी व्यक्तिहरुले रोजगारी समेत प्राप्त गरेर सहकारी बजारमा योगदान दिएको भण्डारीले जानकारी दिनुभयो ।

लालिगुरासको मुख्य लगानीमा ताल्छिलेखमा लालीगुराँस हस्पिटल, नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि र कलेज, चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, सिन्धुपाल्चोकको, लार्चामा भैरवकुण्ड हाईड्रोपावर लिमिटेड तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी प्रालि सञ्चालन गरेको छ ।

संस्थाले निकट भविष्यमा डेरी संचालन गर्ने योजना अघि बढाएको छ । डेरी परियोजनाको प्रवर्द्धन गर्न, खैरहनी तथा रत्ननगर नगरपालिकाका गाई पालन गर्ने कृषकहरुलाई लक्षित गरी लगानी वृद्धि गर्न, प्रविधि विकासको लागि सहयोग गर्न, उत्पादित दुधको बजारिकरण गर्न तथा चितवनको पर्सामा चौथो सदस्य सुविधा काउण्टर सञ्चालन गर्न लागेको छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू