बचत गर्ने बानीको विकास कसरी गर्ने ?

  • मंसिर २४, २०७५

रामसुदन तिमल्सिना

बचत गर्नुपर्छ । सबैलाई थाहा छ । तर धेरैले गर्दैनन् । किनकि सजिलो जस्तो लागे पनि सबै भन्दा कठिन कार्य हो जोगाउनु । यो खर्च गर्ने क्षेत्रको कमी नभएको समयमा बचत गर्न सक्नु पनि बहादुरीको काम नै हो । अझ देखादेखि गर्दै ऋण नै गरेर खर्च गर्ने संस्कार विकास भइरहेको समयमा बचत गर्नेलाई कन्चुस भनेर आरोप पनि लाग्न सक्छ ।

यो तमाम आलोचनालाई भोगेर बचत गर्न सक्नु चानचुने विषय हुनै सक्दैन । मरेर लाने जस्तो के धन सम्पत्ति थुपारेको होला ? भन्ने कुराले मानिसलाई अनावश्यक रुपमा खर्च गर्न उत्साहित गरिरहेको हुन्छ । तर, जब साँचै खर्च गर्नुपर्ने अवस्था आउँछ त्यतिबेला आफूले बचत नगरेका कारणको पीडाबोध हुन जान्छ । त्यसैले बचत गरेर पछुताउनु पर्दैन । या बचत भन्नाले पेट मारेर बचत गर्नुपर्छ भन्ने खोजेको पनि होइन । तर अनावश्यक खर्च गर्ने बानीलाई सुधार गर्दा समय, स्वास्थ्यको पनि बचत हुन्छ । त्यसैले बचतको बहुआयामीक पक्ष छ ।

यतिबेला देशभरि ३४ हजारभन्दा बढि सहकारी छन् । तीनीहरुको तारिफ गर्नुपर्ने काम भनेकै मानिसलाई बचतप्रति जागरुक गराए । जसका कारण मानिसले आफ्नो जीवनस्तरमा नयाँ आयाम भोग्न पाएका छन् । बचत भन्दाले थौलीमा पोको पारेर राखेको धन भन्ने हुदैन । नियमित रुपमा आम्दानीको केहि प्रतिशत भविश्यका लागि उपयोग हुने गरी लगानी गर्नु वा त्यसको ब्याज आउने गरी वित्तिय संस्थाहरुमा बचत गर्नु हो ।

तर धेरैको गुनोसा हुन्छ । खर्च नै पुग्दैन कसरी गर्ने बचत ? यसरी हेर्दा हो जस्तो लाग्छ । तर त्यो होइन । खर्चका धेरै मुख हुन्छन् । पैसा भएपछि त्यो बगिहाल्छ । त्यसैले बचतलाई पनि खर्चको एउटा शिर्षकका रुपमा लिएर पहिलो खर्च बचतका रुपमा गरेपछि अनि अन्य खर्च गरेको खण्डमा बचत सम्भव हुन्छ । थोरै कमाउने थोरै नै भएपनि बचत गर्न सक्छ । मासिक १ सय बचत गर्नका लागि आफूले खाने चिया खर्च कटाए भइहाल्यो नि । त्यसैले बचत नगर्ने बहाना खोज्न थाल्नुभयो भने यति धेरै भेटिन्छन् । तर हामीले सकारात्मक कुराको खोजी गर्नुपर्छ ।

सहकारीहरूले मासिक रूपमा नियमित बचत गर्ने बाध्यात्मक व्यवस्था गर्ने गरेका पनि छन् तर बचत मेरो लागि हो, मेरो आवश्यकता हो भन्ने महसुस भएर गर्न थालियो भने यो सहज हुन्छ । कतिपय अवस्थामा अतिरिक्त काम गरेर बढी आम्दानी गरेर पनि आफ्नो बचतको लक्ष्य पूरा गर्न सकिन्छ ।

बचत गर्ने बहाना खोज्नुपर्छ । कसरी बचत गर्न सकिन्छ भनेर खोज्न शुरु गर्नुस् त ? तपाई अतिरिक्त आम्दानीसमेत गर्ने उपायहरुसम्म पुग्नु हुन्छ । हामी एक दिन बाटोमा बसेर निलो रंग भएका कारमात्र खोज्नु भयो भने तपाईले देख्नु हुन्छ सडकमा यतिधेरै निलो कार गुड्दा रहेछन् भनेर जुन कुरा तपाईले यस अघि हेक्का नै राख्नु भएको थिएन । त्यसैले हामी केलाई आफूतर्फ आकर्षित गरिरहेका छौं । त्यसैले हामीलाई पनि आकर्षण गरिरहेको हुन्छ । त्यसैले बचतका लागि बहाना खोज्नुस् । खर्चका लागि होइन ।

वित्तीय लक्ष्यलाई निर्धारण गरेर कसरी बचत गर्ने भन्ने विषय आम मानिसका लागि धेरैले अप्ठ्यारोको विषय हो । त्यसैले बचतका लागि केही यथार्थपरक वास्तविक मार्गदर्शन प्रस्तुत गर्ने कोसिस गरिएको छ । यी केहि सामान्य उपायहरुमात्र हुन् । विभिन्न लेखक, साइडहरुको सहयोगमा यी उपायहरुको खोजी भएका हुन् तर अन्य थु्रपै बचतका तैरतरिका र उपायहरु हुन सक्छन् ।

।। बचतका लागि बहाना खोज्नुस् । खर्चका लागि होइन ।।

खर्चको अभिलेख राख्नुस्
बचत गर्नुभन्दा अगाडि हामीले गर्ने खर्चको विषयमा यथार्थ जानकारी पाउनुपर्ने हुन्छ । बचत गर्नुअघि तपाईले कहाँ कति खर्च गरिरहनुभएको छ त्यसको जानकारी राख्नुपर्दछ । एक महिनासम्म प्रत्येक खर्चको अभिलेख राख्नुहोस् । यसको अर्थ एक कप चिया, एउटा न्युजपेपर खरिद गरेको कुरालाई समेत टिपोट गर्नुहोस् । तपाईसँग डाटा भएपछि त्यसलाई विभिन्न शीर्षकमा छुट्ट्याउनुस् । जस्तै–ग्यास, खाद्यान्न, चियाकफीलगायत शीर्षक छुट्ट्याउनुस् र जम्मा खर्च विवरण राख्नुस् । यसले तपाईंलाई योजना बनाउका लागि कच्चा पदार्थको काम गर्दछ ।

नयाँ सवारीसाधन, घरजग्गा खरिदका लागि पनि लक्ष्य निर्धारण गरेर बचत गर्न सक्नुहुन्छ । त्यसैगरी, दीर्घकालीन अवस्थाका लागि बचत गर्ने कुरा हुन्छ । निवृत्तपछिका लागि बचत, बालबालिकाका कलेजका लागि बचतलगायतका लामो समयसम्मका लागि छुट्टै बचत गर्न सकिन्छ । तर, नियमित खर्च गर्नुपर्ने क्रियाकलापलाई एकातिर पन्छाएर बचत गर्नु मुर्खता हो ।

बजेट निमार्ण गर्नुस्
तपाईंले एक महिनामा केमा कति खर्च गर्नुहुदो रहेछ भन्ने कुरा पहिलो चरणबाट पत्ता लाग्छ । अब तपाईलाई बजेट निमार्ण गर्नका लागि सजिलो पर्छ । तपाईले अनावश्यक खर्च गरेको कुरा पनि पहिलो चरणको अभिलेखले पत्ता लगाउँछ । त्यसैले बजेट बनाउँदा त्यस्तो कुराहरूमा ध्यान दिन सकिने भयो । बजेट निर्माण गर्दा आवश्यकताअनुसारका शीर्षक छनोट गरी नियमित बचत गर्न सक्नुहुन्छ । कतिपय खर्च प्रत्येक महिना नहुने खालका हुन्छन् । त्यसैले त्यस्ता कुरालाई बजेट निर्माण गर्दा ध्यान दिनुपर्छ । जस्तो– सवारीसाधान मेन्टिनेन्स दुई महिनाको एकपटक हुन सक्छ । त्यस्तो कुराहरूलाई पनि बजेट निर्माण गर्दा ध्यानमा राख्नुपर्छ । बजेट निर्माण गरेपछि तपाईंको आवश्यक खर्च बजेटअनुसार हुन्छ । जसले बचतलाई प्रत्यक्ष फाइदा पुग्छ ।

मासिक खर्च र आम्दानीलाई ध्यानमा राख्नुस्
मासिक खर्च र आम्दानीलाई ध्यानमा राखेर बजेट निमार्ण गर्दा बचतका लागि छुट्टै शीर्षक तयार गर्नुपर्छ । कुल आम्दानीका कम्तीमा १० देखि १५ प्रतिशत प्रत्येक महिना बचत गर्नुपर्छ । तपाईंको खर्चको लागत बढी भएर त्यति पैसा बचत हुन सक्दैन भन्ने लाग्छ भने खर्चका शीर्षकहरूमा कटौती गर्न सक्नुहुन्छ । अनिवार्य रूपमा खर्च गर्नुनपर्ने कुरालाई कटौती गर्न सकिन्छ । मनोरञ्जन, बाहिर खाना खानेलगायतका कुरालाई कटौती गरेर पनि बचतलाई नियमित गर्नुपर्ने हुन्छ । सहकारीहरूले मासिक रूपमा नियमित बचत गर्ने बाध्यात्मक व्यवस्था गर्ने गरेका पनि छन् तर बचत मेरो लागि हो, मेरो आवश्यकता हो भन्ने महसुस भएर गर्न थालियो भने यो सहज हुन्छ । कतिपय अवस्थामा अतिरिक्त काम गरेर बढी आम्दानी गरेर पनि आफ्नो बचतको लक्ष्य पूरा गर्न सकिन्छ ।

बचतको लक्ष्य निर्धारण गर्नुस्
बचतको लक्ष्य निर्धारण गरेपछि बचत सुरु गर्न सजिलो हुन्छ । प्रत्येक लक्ष्यलाई कति समयको बनाउने भन्ने निर्णय तपाईंले नै गर्ने हो । केही छोटो लक्ष्य निर्माण गर्न सकिन्छ । एकदेखि तीन वर्षसम्मको छोटो लक्ष्यले तपाईंलाई अझ बचत गर्न प्रेरित गर्नेछ । जस्तै– ६ महिनाका लागि आपतकालीन कोष स्थापना गर्ने । कथंकथाचित तपाईंको ६ महिनासम्म आम्दानी भएन, जागिर गयो भने तपाईंको दैनिक जीविकोपार्जनका लागि खर्च कभर हुन्छ । त्यसैगरी, बिदाका लागि छुट्टै बचत गर्न सक्नुहुन्छ । नयाँ सवारीसाधन, घरजग्गा खरिदका लागि पनि लक्ष्य निर्धारण गरेर बचत गर्न सक्नुहुन्छ । त्यसैगरी, दीर्घकालीन अवस्थाका लागि बचत गर्ने कुरा हुन्छ । निवृत्तपछिका लागि बचत, बालबालिकाका कलेजका लागि बचतलगायतका लामो समयसम्मका लागि छुट्टै बचत गर्न सकिन्छ । तर, नियमित खर्च गर्नुपर्ने क्रियाकलापलाई एकातिर पन्छाएर बचत गर्नु मुर्खता हो । आम्दानी वृद्धि गर्नुस् तर डाइटमा कन्जुस्याइँ नगर्नुस् ।

आफ्नो प्राथमिकताको विषयमा निर्णय गर्नुस्
मानिसअनुसारको प्राथमिकता बेग्लाबेग्लै हुन्छन् । त्यसैले बचतको लक्ष्य मानिसअनुसार फरक हुन्छ । आफ्नो लागि कुन कुरा महत्वपूर्ण छ त्यही आधारमा बचतका प्रकार हुन्छ । तपाईंले लिएको लक्ष्य कति समयमा पूरा गर्ने हो त्यसका लागि प्रत्येक महिना कति बचत गर्नुपर्छ भन्ने विषयमा यथार्थ जानकारी राखेर बचत सुरु गर्नुभयो भने लक्ष्य भेट्टाउन सकिन्छ । तपाईंका लक्ष्यमध्ये पनि महत्वपूर्ण लक्ष्यका लागि सुरुमा पैसा बचत गर्नुस् त्यसैले कम महत्वका लागि पछाडि राख्नुस् । तपाईंको व्यक्तिगत विकल्पका आधारमा प्रथामिकता छुट्ट्याउनुपर्ने हुन्छ । तपाईं बुढेसकालका लागि बचत गर्न चाहनुहन्छ भने अन्य लक्ष्य पछाडि पर्न सक्छ । तपाईंको मुख्य लक्ष्य के हो त्यसमा भर पर्छ ।

विभिन्न लक्ष्यका लागि विभिन्न बचत र लगानीका रणनीति
यदि तपाईं छोटो समयको लक्ष्यका लागि बचत गरिरहनुभएको छ भने नियमित बचत खाता खोलेर बचत गर्न सक्नुहुन्छ, जुन सुलभ हुन्छ । त्यसैगरी विशेष बचत खाताहरू हुन्छन् जसमा साधारण खाताको भन्दा बढी ब्याज प्राप्त हुन्छ ।
त्यसैगरी, दीर्घकालीन लक्ष्यका लागि बचत गर्दै हुनुहुन्छ भने बिमाका योजनामा बचत गरेर दोहोरो फाइदा लिन सकिन्छ । केही उत्पादक क्षेत्रमा लगानी गर्न सकिन्छ । कतिपय लगानी नाफा नै हुन्छ भन्ने छैन, त्यसमा चुनौती मोल्न सक्नुपर्ने पनि हुन्छ । यदि चुनौती मोल्न सकिँदैन भने कम रिक्स भएको क्षेत्रमा बचत तथा लगानी गर्न सकिन्छ ।

अटोमेटिक ट्रान्सफरमार्फत सहज रूपमा बचत गर्न सकिन्छ
बचत खातामा अटोमेटिक ट्रान्सफर गर्दा सहज रूपमा बचत हुन्छ । यसरी पैसा ट्रान्सफर हुँदा अनावश्यक क्षेत्रमा खर्च हुने सम्भावना कम हुन्छ । पैसा निकालेर खल्तीमा राखेपछि खर्च हुने सम्भावना ज्यादा हुन्छ । त्यसैले सिधै ट्रान्सफर गर्ने तरिका लाभदाय बनेको छ । नियमित रूपमा बचतलाई गर्नैपर्ने खर्चका रूपमा लिनुभयो भने बचतको लक्ष्य पूरा गर्न सहज हुन्छ ।

बचत वृद्धिलाई अवलोकन गर्नुस्
प्रत्येक महिनाको प्रगतिलाई जाँच गर्नुस् । यसले तपाईंलाई व्यक्तिगत बचत योजनालाई सफल गराउन सहयोग मात्र गर्दैन यसले तपाईंको समस्या तत्काल पहिचान गराउन सहयोग पनि गर्छ । पैसा बचत गर्ने सहज तरिका अपनाउँदा बचतको वृद्धिले तपाईंलाई थप बचत गर्न प्रेरित गर्दै समयतालिकाभन्दा अगाडि पनि तपाईं लक्ष्यमा पुग्न सक्नुहुन्छ ।
(सिजेएनद्धारा प्रकाशित स्मारिका सहकारीताबाट साभार ।)

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू