इमानका इन्द्रेनी

  • पुस २, २०७५

रामसूदन तिमल्सिना

इमानदार नेताको पहिचान बनाएका आदर्शवादी नेता हुन्, केशव बडाल । पद र सत्ताका लागि नेताले झुटा आश्वासन दिन्छन् । तर, बडाल त्यस्ता व्यक्ति हुन्, जसले निर्वाचनताका मतदाताले जागिरको अपेक्षा राख्दा निर्वाचन हार्न तयार भए तर झुटो आश्वासन दिएनन् । उनले काभ्रेका किसानलाई तरकारी खेती गरेर आत्मनिर्भर बन्न अनुरोध गरेकै कारण निर्वाचनमा पराजित हुनुपरेको प्रसङ्ग अझै पनि नेपालको राजनीति क्षेत्रमा चर्चाको विषय बन्ने गर्दछ ।

आज त्यही क्षेत्रका किसान तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भएका छन् । उनी भन्छन्, “निर्वाचन पो हारियो तर मेरो जुन सोच र विचार थियो त्यसले जितेको छ । आज काभ्रे तरकारी खेतीमा अग्रस्थानमा आएको छ ।”

राजनीतिमा इमानदारीताको खडेरी परिहेको समयमा बडाल नमूनाका रूपमा हामीसामु उभिएका छन् । यिनै इमानदार नेताका लागि लेखक अनिल पौडेलले दुई सटिक शब्द प्रयोग गरेका छन्, ‘इमानको इन्द्रेणी’ । अनिल पौडेललद्वारा लिखित बडालको जीवनीमा आधारित पुस्तकको नाम हो, इमानको इन्द्रेनी ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको शब्दलाई सापट लिएर भन्ने हो भने नेतामा इमानदारीताको खडेरी परिहेको समयमा जसले बढी पद र शक्तिको दुरुपयोग गर्न सक्छ, त्यो नै सफल मानिने अवस्था रहेको समयमा राजनीतिका इमानदार पात्रको विषयलाई पुस्तकमा उतार्ने काम भएको छ ।

पुस्तकमा बडालका तीन महत्वपूर्ण पाटो उजागर भएका छन् । लोभ र प्रलोभनमा नपरी निष्ठापूर्वक निरन्तर राजनीतिमा सक्रिय नेताका रूपमा बडाललाई पुस्तकले समेटेको छ । पुस्तकको नामले नै उनको इमानदारीताको पहिचानलाई प्रतिविम्बित गरेको छ । उनी कार्यकर्तादेखि तत्कालीन एमालेको स्थायी कमिटी सदस्य हुँदै, सांसद, उद्योगमन्त्री बन्दासमेत बेदाग भएर निस्किए । कसैले औलो उठाउने ठाउँ राखेनन् । बडालको विषयमा मन्त्री ज्ञवाली भन्छन्, “काम नगरेपछि पनि मानिस बेदाग भएर निस्कन सक्छ । तर, काम गरेर बेदाग भएर निस्कनु बडालको इमानदारीताको नमुना हो ।”

साँचै, सच्चा नेताले आफ्नो व्यक्तिगत स्वार्थ हेर्दैन । जता धेरै लाइन देख्यो, त्यतै लाग्दैन । त्यस्तै नेता हुन्, बडाल । जहिल्यै पनि सत्यको पछाडि लागे । आज पनि उनी एक्लै भए पनि सत्यता, इमानदारीता र निष्ठालाई छोड्न सक्दैनन् ।

तेस्रो पाटो भनेको देश र जनताका निम्ति जहिल्यै पनि उनी नयाँ ढङ्गले सोच्छन् भन्ने विषयमा पुस्तकले न्याय गरेको छ । पुस्तकमा एउटा प्रसङ्ग छ । उनी पढ्न भागेर बनारस गए । बनारसमा भएको हाजिरीजवाफ प्रतियोगितामा माउन्ट एभरेस्ट नेपालमा पर्छ भन्ने उत्तरलाई गलत भने पछि उनी बनारस छोडेर स्वदेश फर्के । उनी सानैदेखि विद्रोही स्वभावका थिए ।

बुबा उमाकान्त उनलाई संस्कृत पढाउन चाहन्थे । उनी देशविदेशको लयसँग लय मिलाउँदै परिवर्तनका लागि अंग्रेजी पढ्न चाहन्थे । पढ्ने भोकले उनी कहिले दिदीको घरमा गोठालो बने त कहिले भागेर बनारस पुगे । साँचै, पुस्तकले त्यतिबेलाको समाजलाई पनि प्रतिविम्बित गरेको छ ।
बडालको लुकेका केही पाटालाई पुस्तकमा उजागर गरिदिएको छ । समाज सुधारका लागि बडालले युवा अवस्था र जागिरे हुँदा कसरी भूमिका खेले भन्ने पुस्तकमा समेटिएको छ । पुस्तकमा एक मजदुर संग्राम तामाङको जीवनलाई उनले कसरी परिवर्तन गराइदिए भन्ने प्रसङ्ग निकै रोचक छ ।

बडालले देशलाई भूमि व्यवस्थापनका लागि ठूलो योगदान दिएका छन् । २०५१ मा उच्चस्तरीय भूमि सुधार आयोगको अध्यक्षका रूपमा उनले गरेको मिहिनेत समृद्ध मुलुक बनाउन महत्वपूर्ण कार्य साबित भएको छ ।

भूमिहीन, सुकुम्बासी, हलिया, मुक्त कमैया, पिछडिएका जाति र समुदायको न्यायका लागि आफ्नो जीवन समर्पित गरेका बडालले उतिबेला नै भूमि सुधार जमिनको पुनर्वितरण मात्र होइन, भूमिको उत्पादकत्व बढाउन प्लटिङ र खण्डीकरण गर्नेलगायतका सुझाव दिएका थिए ।

भूमिको विषयमा उनले दिएका सुझाव २४ वर्ष बित्दा पनि कार्यान्वयन भएको छैन । तर, आज पनि बडाल आयोगले दिएको प्रतिवेदन नै यसको आधिकारिक र सटिक दस्तावेजका रूपमा रहेको छ ।

त्यसैगरी, सहकारीलाई राष्ट्रिय एजेन्डा बनाउन उनले खेलेको भूमिकाको व्याख्या जति गरे पनि कम हुन्छ । पुस्तकमा बडालले सहकारीका लागि खेलेका केही भूमिकाको विषयमा उल्लेख गरिएको भए पनि गहिरोसँग उनको सहकारी जीवनलाई भने पुस्तकले समेट्न सकेको छैन ।

बडालले सहकारीलई राष्ट्रिय एजेन्डा बनाउन के कस्तो भूमिका खेल्नुप¥यो भन्ने विषयमा पुस्तक चुकेको छ । त्यस्तै, संविधानमा तीन खम्बे अर्थनीतिलाई समेट्न, नेपाल सरकारको आवधिक योजनामा सहकारीको छुट्टै अध्याय राख्न र सहकारी ऐनहरू निर्माण गर्न उनले खेलेका भूूमिकाबारे पुस्तक मौन देखिएको छ ।

त्यसैगरी, कतिपय महत्वपूर्ण प्रसङ्गलाई पुस्तकले गहिरोसँग समेट्न सकेको देखिँदैन । २०१६ सालमा बीपी कोइरालालले परिकल्पना गरेको बीपी राजमार्गलाई पहिलोपटक सांसद भए पनि बडालले निर्माण गर्न लबिङ गरेको सन्दर्भ, फास्ट ट्र्याकको निर्माण देशलाई हानि हुने गरी भारतीय कम्पनीलाई दिन लाग्दा उनले रोक्न खेलेको भूमिकाका विषयलाई पाठकले अझ केही कुरा खोतल्न बाँकी रहेको भेउ पाउनेछन् ।

दुईपटक खोलाले बगाएर बाँचेका बडाल हृदयघातलाई पनि कसरी झुक्याउन सफल भए भन्ने प्रसंग पुस्तकमा उतारिएको छ । चालक मोहन गिरीका पलभरमै निर्णय लिने खुवीले उनले नयाँ जीवन पाएको प्रसङ्गलाई पुस्तकले स्थान दिएको छ । इमानदार राजनीतिज्ञको जीवन चिनाउन पुस्तक सफल भएको छ तर अझै उनको जीवनका महत्वपूर्ण पाटोलाई पुस्तकले न्याय गर्न सकेको छैन । कतिपय स्थानमा प्रश्न गर्न सकिने अवस्था छ ।

कतिपय स्थानमा लेखकले पुस्तकका नायकसँग गरेको कुराकानीलाई जस्ताको त्यस्तै उतारेको प्रस्ट देखिन्छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले टिचिङ अस्पतालबाट दिएको मन्तव्यलाई पुस्तकले महत्व दिएको छ । तर, यसलाई अनुसूचीमा राखिएको भए पुस्तक छरितो हन्थ्यो ।

बडालले लेखेका पुस्तकका विषयलाई इमानको इन्द्रेनीमा व्याख्या गरिराख्नुपर्ने अवस्था देखिँदैन । पुस्तक मोटो बनाउन मात्र यो अध्याय राखिएको जस्तो देखिन्छ । तथापि, भुँडीपुराणको प्रकाशनमा प्रकाशित इमानको इन्द्रेनी इमानदार नेताको जीवन र संघर्ष बुझ्न एकपटक सबैले पढ्नुपर्ने पुस्तक हो ।
राजधानी

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू