बझाङका सहकारीमा महिला सहभागिता बढ्दै

  • पुस ५, २०७५

केही वर्षयता बझाङका ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीहरूमा महिलाको सहभागिता बढ्दै गएको छ । सहकारी संस्थाहरूमा सेयर सदस्यका रूपमा पुरुषभन्दा महिलाको संख्या बढ्न थालेको छ । हरेक जसो बचत तथा ऋण सहकारी संस्थामा पुरुषको तुलनामा महिला सेयर सदस्यको संख्या झन्डै दोब्बर बढी रहेको छ ।

सहकारीमा सेयर सदस्य मात्र होइन सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष तथा अन्य ठूला पदमा पनि महिलाको सहभागिता उच्च छ । बझाङको बुङ्गल नगरपालिकास्थित काल भैरव कृषि सहकारी संस्थामा कूल सेयर सदस्य संख्या ९ सय ५५ जना रहेका छन् । जस्मा महिला सेयर सदस्य संख्या ६ सय ४५ जना रहेको संस्थाका अध्यक्ष केशव नाथले बताउनुभयो । श्रीमान् बैदेशिक रोजगारका लागि घरबाहिर भइरहने र श्रीमतीले श्रीमानले कमाएको तथा आफूले कमाएको सानोतिनो पैसा बचत गर्ने गरेको उहाँको भनाई छ ।

सानोतिनो घरायसी समस्या टार्नु परेमा सहकारी संस्थामार्फत नै कारोबार गरेर सर्वसाधारणले आफ्नो गुजारा चलाइरहेका छन् । केही वर्ष अघिसम्म आफ्नो घरखर्च चलाउन थोरै रकम सापटी लिनुप¥यो भने साहु महाजनको धाउनुपर्ने बाध्यता थियो । तर सहकारी संस्थाहरूको स्थापनासँगै यो झन्झट हटेको छ । पहिले–पहिले आफूलाई पैसाको आवश्यकता भए कोसँग माग्ने, अरुले दिने हुन् या होइनन्, कसरी माग्ने भन्ने चिन्ता भइरहन्थ्यो । तर सहकारीमा बचत गर्न थालेपछि आफूलाई आवश्यक परेको बेला ऋण माग्न पनि सहज भएको दहबगर कृषि सहकारी संस्थाकी सेयर सदस्य रस्मिला बोहराको भनाई छ । नयाँ वर्षसम्ममा आफूले गरेको बचत रकम झिक्ने र आवश्यक केही रकम सहकारीबाट ऋण काढेर बाख्रापालन व्यवसाय गर्ने लक्ष्य उहाँको छ ।

आर्थिक सहजता सँगसँगै सहकारी संस्थामा सदस्य बन्ने, बचत गर्ने, समय समयमा बैठक गरेर सदस्य–सदस्यबीचमा परेका आर्थिक समस्यालाई एक आपसमा सल्टाउने परम्पराको विकास भएको छ । कृषि प्रधान देश भए पनि कृषि क्षेत्रलाई सुदृढ र प्रोत्साहन गर्ने खालका योजना सहकारी संस्थाले बाहिर ल्याउन थालेका छन् । अधिकांस सेयर सदस्यले अहिले सहकारीबाट ऋण काढेर तरकारी खेती, बाख्रापालन, भैंसीपालन, बंगुरपालन, बीउविजन, सिलाइकटाई, खुद्रा पसल सञ्चालन, हाते होजियारीलगायतमा व्यवसाय गर्दै आएका छन् ।

सहकारीले व्यवसायतर्फ उन्मुख भएका कृषकलाई सहुलियत दरमा ऋण दिएर आम्दानीको स्रोत बढाउन सहयोग पु¥याइरहेका छन् ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू