सहकारी अध्ययन अवलोकनका लागि भर्जिनिया पुगेका सहकारीकर्मी टोली स्वदेश फर्किए

  • पुस ६, २०७५

संयुक्त राज्य अमेरिकामा सञ्चालित सहकारीहरुको अध्ययन अवलोकनका लागि भर्जिनिया राज्यमा गएको नेपाली सहकारीकर्मीहरुको टोली स्वदेश फर्किएको छ ।

इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइ.डि.आई) अमेरिकाको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको समन्वयमा सञ्चालित सहकारी व्यवस्थापन नेतृत्व विकास तथा अध्ययन अवलोकन कार्यक्रममा सहभागी नेपाली टोली स्वदेश फर्किएको हो । डिसेम्बर २ देखि ८ गतेसम्म भर्जिनियाको स्प्रिङफिल्डमा सम्पन्न कार्यक्रममा सहकारी अभियान र सुशासन, विकासोन्मुख देशमा सहकारीको भूमिका, कृषक देखि कृषक कार्यक्रम, अमेरिकाको सहकारी अभियान, विद्युत सहकारीमार्फत देश विकासमा पुगेको योगदान लगायतका विषयमा जानकारी गराइएको थियो ।

सहकारीमार्फत आर्थिक विकासमा भएका विभिन्न क्षेत्रका बारेमा कार्यक्रममा छलफल भएको बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिनुभयो । कार्यक्रममा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले सहकारी बैंक र दिगो विकास लक्ष्यका विषयमा सहजीकरण गर्नु भएको थियो । नेपालको बारेमा धेरै विषयमा आफ्नो अनुभव रहेको स्मरण गर्दै उहाँले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्न सके नेपाल समृद्ध बन्न धेरै समय नलाग्ने बताउनु भएको थियो ।

नेपालको समृद्धिका लागि महिला र युवाहरुलाई अगाडि सार्न आवश्यक रहेको डेलिसीको भनाई थियो । जबसम्म युवा जनशक्तिलाई देश निर्माणको अभियानमा लगाइदैन तवसम्म विकासले गति लिन नसक्ने पनि उहाँले बताउनुभयो । विकोशोन्मुख देशहरुमा सहकारीको भूमिका तथा एशियामा सहकारीको अवस्थाका बारेमा आइडीआईका दक्षिण, मध्य एशिया निर्देशक एवम् अफगानिस्तानका पूर्व सहायक अर्थमन्त्री अमिन हबिबीले सहजीकरण गर्नु भएको थियो ।

अमेरिकामा विद्युत व्यवस्थापनमा सहकारीले खेलेको भूमिका लगायत सहकारी सुशासनका बारेमा राष्ट्रिय ग्रामिण विद्युत सहकारीका प्रमुख सल्लाहकार जर्ज स्टुटभिलेले सहजीकरण गर्नु भएको थियो । उहाँले अमेरिकाको विद्युत क्षेत्रको विकासमा सहकारीको उल्लेख्य भूमिका रहेको र सहकारीमार्फत विद्युतीकरण अभियानलाई अगाडि बढाउन सहज भएको व्यक्त गर्नु भएको थियो ।

यसैगरी विकोशोन्मुख देशहरुमा सहकारीको भूमिका तथा एशियामा सहकारीको अवस्थाका बारेमा आइडीआईका दक्षिण, मध्य एशिया निर्देशक एवम् अफगानिस्तानका पूर्व सहायक अर्थमन्त्री अमिन हबिबीले सहजीकरण गर्नु भएको थियो । आइडिआई अमेरिकाका प्रवन्ध निर्देशक परशु नेपाल र कार्यकारी प्रमुख सुमनराज तिमिल्सिनाले सहकारीमार्फत अमेरिकामा भएका प्रगति, असल कार्यहरु, प्रविधि र व्यवस्थापन लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

उहाँहरुले नेपाल र अमेरिकाको सहकारीबीच समन्वय गरी प्रविधि लगायत आवश्यक सहयोगको वातावरण बनाउन आफुहरु निरन्तर लागेको बताउनु भएको थियो । आइडीआइको संयोजनमा नेपालबाट गएको टोलीले विश्व बैंक, विश्व ऋण परिषद, अमेरिकाको राष्ट्रिय सहकारी बैंक, सहकारीमार्फत सञ्चालित कमन कोप बजार लगायत अमेरिकाका विभिन्न पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको गरेको टोलीका सदस्य नारायणदत्त तिमिल्सिनाले जानकारी दिनुभयो ।

आफ्ना छोरा छोरीहरुलाई स्वस्थ खानाको व्यवस्थापन गर्ने उदेश्यका साथ १२ परिवार मिलेर सन १९७४ देखि मेरिल्याण्ड राज्यमा सञ्चालित कमन कोप बजार कृषकहरुको आर्थिक विकासको प्रमुख माध्यम बनेको छ । ६ हजार ६ सय सदस्य रहेको सहकारीले सदस्यहरुलाई उत्पादन गर्न प्रोत्साहन गर्ने, उत्पादित वस्तुहरुको विक्रीको ग्यारेण्टी गरिदिने गरेको कमन कोप बजारका जनरल म्यानेजर बब थोम्पसनले जानकारी दिनुभयो ।

कार्यक्रमका अवसरमा आइडिआई अमेरिका र राष्ट्रिय सहकारी बैंक बीच सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुभव आदान प्रदान, सहकारी बैकिङ प्रणालीमा सुधार, एक अर्काे देशमा भएका सहकारीका असल अभ्यासहरु र प्रविधिहरुको अनुशरण लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । सहकारी क्षेत्रमा क्रियाशिल अगुवाहरुलाई अमेरिकाको सहकारी अभियानले गरेका असल अभ्यास र प्रविधिहरुका बारेमा जानकारी लिई नेपाल फर्केर त्यसको विस्तार गर्ने उदेश्यले बैंंकसंग सहकार्य गरिएको आइडिआई अमेरिकाका कार्यकारी प्रमुख सुमन तिमिल्सिनाले बताउनु भयो ।

कार्यक्रममा सहभागी नेपाली सहकारीकर्मीहरुलाई प्रमाणपत्र वितरण गर्दै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले सहकारीमार्फत आर्थिक विकासका क्षेत्रमा अमेरिकामा सिकेको कुरा नेपालमा व्यवहारमा ल्याउन सहभागीहरुलाई आग्रह गर्नु भएको थियो । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको नेतृत्वमा देशभरका विभिन्न सहकारी संघ संस्थाका १६ जना सहकारीकर्मीहरु कार्यक्रममा सहभागी रहका थिए ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू