खाजा खर्च बचाएर सहकारीमा ४० लाख बचत

  • पुस १२, २०७५

बाँकेको राप्तीपारीको दुर्गम क्षेत्रमा पर्ने फत्तेपुरका गृहणी महिलाले खाजा खर्च बचाएर करिब ४० लाख रुपैँया बचत गर्न सफल भएका छन् ।

सहकारीहरूले गाउँ–गाउँमा गएर चुलोचौकोमा सीमित महिलाहरूलाई बचत गर्न सिकाएपछि सुन्दा पत्याउनै गाह्रो लाग्ने सो क्षेत्रका महिलाहरूले आफ्नो बचतलाई आयआर्जन कार्यमा लगाई यति ठुलो रकम जम्मा गर्न सफल भएका हुन् । नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध फत्तेपुरका ८ सय ९९ जना गृहणी महिलाले करिब ४० लाख रुपैँया बचत गरेका हुन् ।

सहकारीमा मासिक, दैनिक र ऐच्छिक बचत गर्दै आएका उनीहरूले ९७ वटा बाख्रा र ३ सय ४५ वटा खसी बिक्री गरेर ३९ लाख ७३ हजार ३ सय ८९ रुपैँया आर्जन गरेको र सोही रकम बचत स्वरुप जम्मा गरेको सहकारीका व्यवस्थापक विद्या गुरुङले जानकारी दिनुभयो । उहाँले महिलाहरूले खाजा खर्च बचाएर सहकारीमा जम्मा गरेको रकमलाई विभिन्न प्रकारका आय आर्जन कार्यमा लगाएर बचत बढाउँदै ४० लाखसम्म पुर्याएको जनाउनुभयो । गुरुङका अनुसार ती महिलाहरूका उपहार समूह र स्वावलम्बी समूह छन् ।

उपहारमा ४२ र स्वावलम्बीमा ५० जना सदस्य रहेका छन् । महिलाले सञ्चालन गरेको उक्त सहकारीले व्यवसाय संचालनका लागि महिला सदस्यलाई ऋण प्रदान गर्ने र बजारीकरणमा सहयोग गर्दै आएको छ । सहकारीबाट ऋण लिएका महिलाले बाख्रा, भैँसी पालन र किराना व्यापार गर्दै आएको सहकारीका अध्यक्ष गंगाकुमारी चन्द ठकुरीले जानकारी दिनुभयो । सो सहकारीको २५ लाख २१ हजार सेयर पुँजी रहेको उहाँले बताउनुभयो ।

९ लाख ७ सय ८४ रुपैँया जगेडा कोष छ । उद्यम सञ्चालनका लागि महिलाहरूले एक करोड तीन लाख ५७ हजार ६ सय ६९ रुपैँया कर्जा लिएका छन् । अध्यक्ष चन्द ठकुरीका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा सो सहकारीले सात लाख ६७ हजार ८ सय ८३ रुपैँया कुल आम्दानी गरेको छ ।
कारोबार

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू