अहिलेका सहकारी उहिलेका ‘मुखिया’ जस्ता

  • पुस २२, २०७५

सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

ती संस्थाका बचतकर्ताले चर्को ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण सहकारी संस्था उहिलेका ‘मुखिया’ जस्तो भएको काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागीहरूले आरोप लगाएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्था सामाजिक नभई नाफामुखी हुँदै गएको बताउनुभयो । गरिबीको अन्त्य सहकारीबाट सम्भव भए पनि अहिलेका सहकारी संस्था नाफामुखी भएका कारण गरिब चर्को ब्याज तिर्न बाध्य भएको उहाँको भनाई थियो ।

राष्ट्रिय सहकारी विकास बैंकको १५ औँ साधारणसभामा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता हरेराम बस्नेतले सहकारीले सदस्यको हित गर्नुपर्नेमा चर्को ब्याजमा लगानी गरी बचतकर्ताको अहित गरेको आरोप लगाउनुभयो ।

कूल गार्हस्थ्य उत्पादनमा सहकारी संस्थाको योगदान झण्डै चार प्रतिशत रहेको अनुमान छ । लगभग चार अर्ब रुपैँया पूँजी सङ्कलन गरेका १० हजार २ सय १८ सहकारी संस्थाले उत्पादनका क्षेत्रमा उल्लेखनीय लगानी नगरेको सहकारी अभियन्ता गणेश तिमल्सिनाले बताउनुभयो ।

सहकारी संस्थाको साझा बैंक– राष्ट्रिय सहकारी बैंकसँग २२ अर्ब रुपैँया पुँजी भएपनि उक्त बैंकले कृषि, पर्यटन, उद्योग र जलस्रोतजस्ता क्षेत्रमा लगानी गरेको देखिँदैन ।

बैंकले शेयर सदस्यलाई पर्याप्त मुनाफा बढ्न सफल भएको देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा ४० करोड ७९ लाख ७९ हजार ८ सय ८९ रुपैँया अर्थात् लगानीको १५ प्रतिशत मुनाफा वितरण गरे पनि लगानीको सम्भावना रहेको कृषि क्षेत्रमा भने सन्तोषजनक लगानी देखिँदैन ।

यस वर्ष बैंकले झण्डै १३ अर्ब रुपैँया लगानी गरे पनि कृषि क्षेत्रमा तीन अर्ब ३७ करोड रुपैँया लगानी गरेको छ । उक्त लगानी कूल पुँजी लगानीको लगभग २५ प्रतिशत हो । कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन ३३ प्रतिशत छ ।

कृषि क्षेत्र परनिर्भरतातर्फ उन्मुख भए पनि सहकारी अभियन्ता तथा लगानीकर्ताको कृषिमा आर्कषण देखिँदैन । हाल प्रतिमहिना दुई अर्ब रुपैँयाको खाद्यान्न मात्र आयात भएको विभिन्न तथ्याङ्कले देखाएको छ ।

सफल बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ता श्रीराम कार्कीले हुनेखाने वर्गले सहकारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । पछिल्लोपटक ब्याज तिर्न सक्ने आम्दानी भएका हुनेखाने वर्गले सस्तो ब्याजमा बैंकसँग ऋण लिने र चर्को ब्याजमा सहकारीमा बचत गर्ने परिपाटी बढेकाले बचतकर्ता सहकारीबाट सस्तो ब्याजमा ऋण लिन हिचकिचाएको पाइन्छ ।

बैंकले ठूला लगानीमा ११ देखि १२ प्रतिशतमा लगानी गर्ने र सहकारीले १८ देखि १९ प्रतिशत ब्याज दिने गरेको पाइन्छ । काम नगरी छ प्रतिशत मुनाफा लिने समूह सहकारीमा आकर्षित हुनाले यसबाट गरीब व्यक्तिले लाभ लिन सकेको पाइँदैन ।

बैंकले यस आवमा व्यवसायतर्फ आठ अर्ब ७२ करोड ४१ लाख ५९ हजार ९ सय ७७ रुपैँया, घर–जग्गामा २१ करोड ३० लाख ६४ हजार ३ सय ७५ रुपैँया, हायरपर्चेजमा दुई करोड ४१ लाख ७९ हजार ४ सय २५ रुपैँया, मुद्दती रसिद धितो कर्जामा सात करोड २८ लाख २७ हजार ३ सय १५रुपैँया, कृषि परियोजनामा एक करोड ७२ लाख १७ हजार ९ सय ८० रुपैँया र अन्यमा दुई करोड १५ लाख ३१ हजार ५ सय २७ रुपैँया लगानी गरेको छ ।

सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल र नेता बालकृष्ण खाँणले सहकारीको लगानी गरीबीको अन्त्यतर्फ आकर्षित हुनुपर्ने बताउनुभयो । त्यसैगरी सभामा राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले ०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
रासस

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू