लालीगुराँस सहकारीले दियो गाई फार्ममार्फत ५२ जनालाई रोजगारी

  • पुस २४, २०७५

चितवनको खैरहनी–१२ स्थित कुमरोजमा रहेको श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्चको एउटै गाई फार्मले ५२ जना व्यक्तिलाई रोजगारी दिएको छ ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी लिमिटेडले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको गाई फार्ममा ५२ जना व्यक्तिलाई रोजगारी दिएको हो । गाई फार्ममा ५ सयवटा गाई रहेका छन् ।

विगत चार वर्षदेखि उक्त गाई फार्ममा काम गर्दै आएका रामचन्द्र भण्डारीका अनुसार फार्ममा काम गर्ने कर्मचारीले साढे १५ हजारदेखि २५ हजार रुपैँया पारिश्रमिक पाउने गरेका छन् । १५ हजार सुरुमा फार्ममा काम गर्न आउने कर्मचारीको तलब हो । उहाँले भन्नुभयो उक्त फार्ममा काम गरेको एक वर्षपछि सञ्चय कोष काटिने व्यवस्था रहेको बताउनुभयो ।

उक्त गाई फार्म चितवनको खैरहनी–१२ कुमरोजमा २० बिघा जमिनमा सञ्चालनमा रहेको छ । फार्मका व्यवस्थापन प्रमुख कृष्ण भण्डारीका अनुसार विगत चार वर्षदेखि सञ्चालनमा रहेको फार्ममा करिब ३० करोड रुपैयाँ लगानी रहेको छ । १ सय ५० वटा गाईबाट सुरु गरिएको फार्ममा अहिले ५ सयवटा गाई रहेको भण्डारीले बताउनुभयो । फार्ममा रहेका ५ सयवटा गाईमध्येमा दूध दिने १ सय ८४ वटा रहेको जानकारी दिनुभयो ।

दूध दिनमा पनि करिब ८०/८४ वटा जर्सी गाई भएको बताउदै यसले अन्य गाईका तुलनामा धेरै दूध दिने भण्डारीले बताउनुभयो । उहाँका अनुसार एउटा गाईले दिनमा १० देखि ३२ लिटर दूध दिन्छ । गाई भारतको हरियाणा र स्थानीय किसानबाट खरिद गरिएका हुन् । सबै गाई उन्नत जातका रहेको जानकारी दिनुभयो । त्यसैगरी लालीगुराँस गाई फार्मबाट दिनमा २ हजार दूध उत्पादन गर्ने गरेको भण्डारीले थप्नुभयो ।

फार्मबाट उत्पादन भएको दूध काठमाडौंको आधुनिक दूध डेरी बालाजुलाई दिने गरेको छ । अहिले मासिक रूपमा दूध बिक्रीबाटै ४० लाख रुपैँया आम्दानी गर्दै आएको छ । फार्मको क्षमता विस्तार गरी निकट भविष्यमा ८ सय गाई पाल्ने योजनाअनुसार थप जग्गा र पूर्वाधार बनाइएको व्यवस्थापन प्रमुख भण्डारीले जानकारी दिनुभयो । त्यसअनुरूप अहिले थप २८ बिघा जग्गा लिजमा लिइसकिएको भण्डारीले बताउनुभयो ।

चार वर्षदेखि अहिलेसम्म गाई खरिद र लिजको जग्गासहित पूर्वाधार बनाउँदा १ अर्ब रुपैँया लगानी भइसकेको उहाँले बताउनुभयो । गाईका लागि आवश्यक घाँसको व्यवस्था र थप गाई पाल्न सहकारीले जग्गा लिजमा लिएको हो । फार्मले दूधसहित गोबर, गहुँतजन्य वस्तु प्रशोधन गर्न ललितपुरको गोदावरीमा ‘प्लान्ट’ निर्माण गर्ने योजना बनाएको छ । त्यसको प्रक्रिया पनि अघि बढेको छ ।

६ महिनाभित्र गोदावरीमा डेरी उद्योग सञ्चालन र फार्मबाट उत्पादित दूध प्रशोधन गरिने भण्डारीले बताउनुभयो । “अहिले गाई फार्मबाट उत्पादन हुने दूध काठमाडौंका डेरी उद्योगलाई बिक्री गर्दै आएका छौं”, भण्डारीले भन्नुभयो, “महिना दिनभित्र गोदावरीमा सहकारीको आफ्नै डेरी उद्योग सञ्चालन गर्दैछांै । त्यसपछि दूध प्रशोधन गरी पनिर, पाउडर, क्रिम, बटरलगायत दुग्धपदार्थ उत्पादन गर्छाैं ।”

सहकारीले भविष्यमा गाईले जन्माएका बाच्छी हुर्काएर सहकारीमार्फत किसान तथा अन्य संस्थालाई बिक्री गर्ने योजनासमेत बनाएको छ । अहिले भने सहकारीले गाई खरिद र पूर्वाधार निर्माणका लागि लगानी गरेको छ ।

सहकारीको आफ्नै प्लान्ट भएपछि गाईको गोबर प्रशोधन गरी जैविक मल उत्पादन गर्ने, गहुँत पनि प्रशोधन गरी जैविक विषादीमा प्रयोग गरिने लक्ष्य सहकारीको छ । गोदावरीमा अहिले प्लान्ट निर्माणको काम अघि बढेको भण्डारीले बताउनुभयो ।
राजधानी दैनिक

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू