हुन्डीको कारोबारमा सहकारी संलग्न

  • माघ २, २०७५

हुन्डीको कारोबारमा सहकारी संलग्न हुने गरेको पाइएको छ ।

सहकारीकै कार्यालयबाट हुन्डीको कारोबार हुने गरेको तथ्य फेला परेको हो । हुन्डीको कारोबार गरेको भन्दै मोरङ प्रहरीले सहकारीका अध्यक्ष र म्यानेजरलाई पक्राउ गरेको छ ।

हुन्डीमा सम्लग्न रहेको भन्दै मोरङ प्रहरीले आस्था नेपाल बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष सहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । हुण्डीका लागि प्रयोग भएको ६९ लाख रूपैँयासहित प्रहरीले सहकारीबाटै तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर महानपालिका ७ का ३२ वर्षीय संस्थाका अध्यक्ष राजेश हेडा, ४१ वर्षीय म्यानेजर दिपककुमार कर्ण र अर्का एक व्यक्ति सुमित साह प्रक्राउ परेका हुन् । प्रहरीले सहकारीबाट ५९ लाख ७ हजार ६ सय र पक्राउ परेका साहबाट ९ लाख ५० हजार रुपैँया बरामत गरेको छ ।

बिराटनगरमा बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीमा आइतबार बिहान प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा हुण्डीमा प्रयोग भएको रकमसहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपीं) घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ पर्ने मध्ये अध्यक्ष हेडा मुख्य हुण्डी कारोबारी हुन् । पक्राउ परेका तीन जनालाई थप राजस्व अनुसन्धान विभाग इटहरीमा पठाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

हुन्डी कारोबार काठमाडौँदेखि वीरगञ्ज र विराटनगरजस्ता सीमावर्ती सहरमा फैलिएको अनुसन्धानले देखाएको छ। संगठित रूपमा हुन्डी कारोबारमा सहकारी, मनी एक्सचेन्ज नै संलग्न देखिएका छन्।

एक वर्षयता हुन्डी कारोबारीबाट प्रहरीले करोडौँ रकम बरामद गरेको छ। १० जनाभन्दा बढी पक्राउ परिसकेका छन्। अर्थतन्त्रलाई नै चुनौती दिनेगरी भइरहेको हुण्डी कारोबार नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्युरो र महानरीय अपराध महाशाखा सक्रिय छ। प्रदेश र जिल्ला प्रहरी पनि कारोबार रोक्न लागिपरेका छन्।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू