सहकारीले ६० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगाउनु पर्छ : लम्साल

  • माघ २, २०७५

प्रदेश नं ३ बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले सहकारीहरुले ६० प्रतिशत रकम उत्पादनको क्षेत्रमा लगाउनु पर्ने बताउनु भएको छ ।

सहकारीहरुले हालसम्म शेयर सदस्यहरुसँग आर्थिक कारोबार मात्रै गरेकोले अब आर्थिक कारोबारको साथै उत्पादनको क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने लम्सालले बताउनु भएको हो । जीवनमार्ग कृषि सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थासँग झण्डै २ अर्व पुँजी रहेको बताउदै सो पुँजीको ६० प्रतिशत उत्पादनको क्षेत्रमा लगानी गर्दा शेयर सदस्यहरुको रोजगारीमा समेत सहज हुने बताउनु भयो ।

कृषकको पसिनाबाट जम्मा भएको रकम आर्थिक कारोबार मात्रै गर्ने हो भने त्यसको फाईदा सहकारीका शेयर सदस्यहरुले भन्दा ठुला बैंकहरुलाई हुने बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि लम्सालले सहकारीहरुमा आवद्ध शेयर सदस्यहरुको रकम दुरुपयोग हुन नदिनको लागि साथै सुरक्षित रहने वातावरण निर्माण गर्न प्रदेशले सहकारी ऐन निर्माण गरीसकेको जानकारी दिनुभयो । आफु नीति निर्माण गर्ने तहमा रहेकोले जनताको हीतका साथै सुरक्षाको लागि नीति निर्माण भईरहेको प्रष्ट पर्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि पाँचखाल नगरका उप—प्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरमा रहेको १ सय ४३ सहकारी संस्थाहरुलाई राम्रो साथै व्यवस्थित ढङ्गबाट अगाडी बढाउनको लागि नगरले पहल गरेको व्यक्त गर्नुभयो । सहकारी नहुँदा थोरैे रकम खाँचो हुँदा समेत साहुकोमा पुगी घरबारी पास गर्नुपर्ने अवस्थालाई सहकारीले गर्दा निमिट्यान्न पारेको बताउनुभयो ।

कार्यक्रममा दनुवारले कृषिको लागि उर्वरा भूमिको रुपमा रहेको पाँचखाल र आसपासको क्षेत्रका कृषकहरुको हितको लागि बजारको व्यवस्था गर्न पाँचखालमा रहेका ४, मण्डन देउपुरमा रहेको ४ र धुलिखेल नगरमा रहेको ४ सहकारी गरी जम्मा १२ ओटा सहकारीको छनोट गरेको बताउनुभयो । बिचौलीयाको अन्त्यसँगै कृषकहरु साथै उपभोक्ताहरु समेतलाई हीत हुने भएकोले सो कार्यको लागि नगरको तर्फबाट पहल भएको बताउनुभयो ।

संस्थाको अध्यक्ष शुसिलराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचखाल नगर सहकारी समन्वय समितिका प्रतीनिधि विद्यालक्ष्मी देउजा, प्रतिष्ठा कृषि सहकारी संस्थाका उपाध्यक्ष ज्ञानबहादुर थापा, चन्द्र शुर्य सहकारीका प्रतीनिधि उद्धव प्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष शुसिलराज गिरीले उत्पादनको क्षेत्रमा अगाडी बढ्दै सहकारीमा आवद्ध शेयर सदस्यहरुको आम्दानिको स्रोतलाई वृद्धि गर्ने योजना बनाएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू