दुग्ध उत्पादक सहकारीमार्फत वितरित अनुदानमा अनियमितता

  • माघ ३, २०७५

किसानको नाममा वितरण भएको ‘प्रतिलिटर एक रुपैँया’ अनुदान ठूला किसानले मात्रै पाएको खुलासा भएको छ ।

पशुजन्य उत्पादन वृद्धि तथा बजारीकरणका लागि सरकारले पाइलट कार्ययोजनाका रूपमा दुग्ध उत्पादक सहकारीमार्फत वितरण गरे पनि अनुदान ठूलाले मात्रै पाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त कार्यक्रम पशु सेवा विभागले कार्यान्वयन गरेको हो । कार्यक्रमअन्तर्गत विभागले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ गरी १४ करोड बजेट विनियोजन गरेको थियो ।

“सरकारले अनुदान वितरण गरेको सुनेको छु । दैनिक छ लिटर दूध बिक्री गर्छु”, हेटौंडागढी ३ की किसान सावित्री दुलालले भन्नुभयो, “मैले कहिल्यै पाइनँ ।” धेरै दूध बिक्री गर्नेले मात्रै अनुदान पाएको उहाँले बताउनुभयो । दैनिक १० लिटरभन्दा कम दूध बिक्री गर्ने किसानले अनुदान पाएका छैनन् ।

एक–दुई वटा गाई–भैंसी पालेर जीविकोपार्जन गर्ने किसान सधै मर्कामा रहेको मध्यवर्ती दूध सहकारीका अध्यक्ष राजन अर्यालले बताउनुभयो । “सरकारले ठूलाका लागि मात्रै काम गर्यो । धेरै दूध उत्पादन गर्ने किसानले पाए”, उहाँले भन्नुभयो, “एक–दुई वटा गाई पाल्ने किसान त्यो सुविधाबाट वञ्चिन्त भए, सानाले पाएनन् ।”

साना र ठूलाबीच विभेद हुँदा साना किसानको सुधार हुन नसकेको उहाँले बताउनुभयो । सरकारले तयार पारेको ‘दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रम कार्यविधि २०७३, दोस्रो संशोधन २०७४’ ले पनि किसानलाई विभेद गरेको देखिन्छ । कार्यविधिमा सहकारीमार्फत सहकारीमा आवद्ध कृषक उल्लेख गरेपछि अन्य किसान वञ्चित भएका हुन् । “कार्यविधि ठूला किसान र फार्मका लागि मात्रै भयो । सहकारीमा आवद्धले अनुदान पाउने अवस्था नै रहेन”, विभागका एक अधिकारीले भने ।

मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दहालका अनुसार मकवानपुरमा ३१ सहकारी संस्थाले अनुदान पाएका थिए । अनुदान सहकारीमा आवद्धलाई मात्रै वितरण भएको बताउनुभयो । “हामीले मापदण्डअनुसार नै सहकारीमा आवद्धलाई मात्रै वितरण गरेका थियौं । मापदण्डअनुसार धेरै उत्पादन गर्ने किसानलाई अनुदान दिएका छौं”, उहाँले भन्नुभयो।

विभागका अनुसार कार्यविधि सहकारीका लागि भए पनि वितरण प्रणालीका लागि बनाइएन । सहकारीले आफूखुसी किसानलाई अनुदान वितरण गरे । कार्यविधिअनुसार कम्तीमा दैनिक ३ सय लिटर र वार्षिक कम्तीमा दुई सय दिनसम्म दूधको कारोबार गर्ने गरेको, दैनिक संकलित दूध दुग्ध उत्पादक सहकारी संस्था आफैंले प्रशोधन गरी वा उद्योगलाई बिक्री गरी दूध र दुग्धजन्य पदार्थहरुको बेचबिखनको प्रबन्ध गरेको लगायत मापदण्डमा उल्लेख भए पनि सहकारीले किसानलाई कसरी वितरण गर्ने भने उल्लेख छैन । जसले गर्दा सानाहरु पीडित भएको जानकारहरु बताउँछन् ।

राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका रेशमराज ज्ञवालीले भने रकम दुरुपयोग नभएको दाबी गर्नुभयो । “मापदण्डअनुसार सहकारी छनोट गरेका थियौं । कार्यविधिका आधारमा अनुदान सहकारीलाई उपलब्ध गराएका छौं”, उहाँले भन्नुभयो, “कार्यक्रम धेरै प्रभावकारी भयो ।” दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध संकलन हुन्छ ।

सहकारी संस्था मापदण्डअनुसार दर्ता हुन्छन् । केही विश्वसनीय भएकाले पनि सहकारीलाई छनोट गरेको ज्ञवालीको दाबी छ । सहकारीलाई वितरण गरेपश्चात् उनीहरूले आफंै नियमअनुसार वितरण गरेको बताउनुभयो । “हामीले सहकारीका लागि मापदण्ड बनाएका छौं, किसानलाई वितरणमा सहकारीका आआफ्नै मापदण्ड छन्”। उहाँले भन्नुभयो, “उनीहरूले आफैंले तोक्ने हो ।” ज्ञवालीका अनुसार अघिल्लो वर्षको उत्पादनको आधारमा किसानलाई अनुदान दिइन्छ ।

राष्ट्रिय कृषक समूह महासंघका केन्द्रीय अध्यक्ष उद्धव थापाले सहकारीहरूले कार्यविधिको आधारमा वितरण गरिएको दाबी गरे पनि तल्लो तहमा नपुगेको बताउनुभयो । अनुदान वितरणमा कागजात मिलाएर गडबड भएको हुन सक्ने उहाँले बताउनुभयो । “किसानबाट दूध खरिद गर्दा एसएनएफ (बाक्लो पदार्थ) र फयाट (चिल्लो पदार्थ) को हिसाबले मूल्य निर्धारण हुन्छ । प्राविधिक विषय भएकाले किसानले हिसाब किताब जान्दैनन् । तोकिएको रेटअनुसार नदिँदा पनि किसानलाई थाहा हुँदैन”, उहाँले भन्नुभयो, “यसको जवाफदेही विभाग हुनुपर्छ ।” विभागले दुई वर्ष सञ्चालन गरे पनि अहिले उक्त कार्यक्रम रोक्का गरिएको छ ।

विभागका अनुसार अनुदान २२ जिल्लाका पकेट क्षेत्रमा अनुदान वितरण प्रभावकारी नहुँदा बन्द गरिएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०७३÷७४ मा १ सय १२ सहकारीले अनुदान पाएका थिए । २०७४/७५ मा १ सय ९९ सहकारीले अनुदान प्राप्त गरेका थिए । चालु आर्थिक वर्षमा भने बजेट छैन ।

कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले किसानलाई अनुदान प्रदेश सरकारले नै दिने बताउनुभयो । “बजेट प्रदेशलाई पठाएका छौं । आफ्नो अनुकूलअनुसार दिन्छन्”, उहाँले भन्नुभयो ।
कान्तिपुर

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू