सहकारीले पशुबीमा कार्यक्रम ल्याएपछि काभ्रेका कृषक आकर्षित

  • माघ १०, २०७५

काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीका नानीराम पराजुलीले अहिले पाँच वटा गाई पाल्नु भएको छ ।

परिवारलाई दूध खुवाउन एउटै गाई पाल्दै आउनु भएका उहाँले गाउँमा पशुबीमा कार्यक्रम आएपछि पाँच गाई पाल्न थाल्नु भएको हो । “गाउँमा पशुबीमा कार्यक्रम आएपछि निर्धक्कले गाई थप्दै गएँ, अहिले पाँच पुगे सबैको बीमा गरिसकेको छु”, उहाँले भन्नुभयो ।

एउटा गाई पालिरहेका ज्याम्दीकै अर्का कृषक राजन पराजुलीले पनि हालै मात्र अर्को गाई थप्नु भएको छ । “पशुबीमा कार्यक्रमका कारण अरु गाईभैँसी थप्ने मन त छ, तर घरका काम गर्ने दुईजना मात्रै भएकाले अहिले सकिनँ”, उहाँले भन्नुभयो ।

गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबीमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु”, स्थानीयबासी हरिप्रसाद पराजुलीले भन्नुभयो ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबीमा कार्यक्रममा हाल ३ सय ४३ परिवारको ५ सय ५८ पशु बीमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बीमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबीमा गर्न सुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १ सय ५० तिरेर बीमा नवीकरण गर्नुपर्दछ । “पशुबीमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।

पशुबीमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबीमा उपसमितिका सचिव बिदुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, चालू आर्थिक वर्षको छ महिनामा मात्रै ५३ कृषकले पशुबीमा गरेका छन् भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ ।

पशुबीमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैंसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करिब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ ।
रासस

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू