सुत्केरी ढुंगा सहकारीको पुँजी दुई करोड ६४ लाख

  • माघ १५, २०७५

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको पुँजी साँढे दुई करोड नाघेको छ ।

वि.सं. २०६९ भदौ ३१ गते स्थापना भएको सहकारीको पुँजी हालसम्म दुई करोड ६४ लाख ७८ हजार नाघेको हो । संस्थाको अर्खौलेमा सम्पन्न छैटौं साधारणसभामा सहकारीका प्रबन्धक सर्वधन राईले ६ लाख ८३ हजार नौ सय खुद मुनाफा आर्जन भएको जानकारी दिनुभयो ।

साधारणसभामा आर्थिक वर्ष ०७४÷७५ भित्र सहकारीले ३० लाख ५७ हजार आम्दानी गरेकामा २३ लाख ७३ हजार खर्च भएको आय व्याय प्रस्तुत गरिएको थियो । खर्च कटाएर बाँकी रहेको खुँद मुनाफाको १५ प्रतिशत रकम कार्यक्रमकै बीचमा सेयर सदस्यलाई बोनस बाँडिएको छ । ६९ कृषि समुह तथा ४ सय ८५ सदस्य संख्या पुगेको सहकारीले आफ्ना शेयर सदस्यलाई एक पटकमा बिना धितो ८० हजारसम्म ऋण प्रवाह गर्दै आएको छ ।

पशुजन्य व्यवसाय, कृषि र अन्य व्यवसाय सञ्चालन गर्ने किसानलाई प्राथमिकतामा राखेर ऋण प्रवाह गर्दै आएको सहकारीले १६ प्रतिशत व्याजदरले लघु कर्जा, ९ प्रतिशतका दरले मासु तथा दुग्धजन्य कर्जा र १२ प्रतिशतका दरले सोलार कर्जा दिने गरेको छ । बचतकर्तालाई भने १० प्रतिशतका दरले व्याज दिने गरेको छ । साधारणसभामा सहकारीले शेयर सदस्यको मृत्यु भए १० हजार र शेयर सदस्यको मृत्यु भए ३ हजार खर्च दिनेगरी मृतक राहतकोष खडा गर्ने निर्णय गरेको छ ।

यसैगरी ऋणको बीमा सुरु गरिएको सहकारीका अध्यक्ष किशोरकुमार श्रेष्ठले बताउनुभयो । सहकारीले आफ्नो सेवालाई थप व्यवस्थित बनाउनका लागि भवन निर्माण गरिरहेको छ । सहकारीमार्फत हालसम्म कृषि सम्बन्धी ११ महिने तालिमका लागि दुई युवा इजरायल पुगिसकेका छन् ।

यसैबीच, सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको अध्यक्षमा किशोरकुमार श्रेष्ठ तेश्रो कार्यकालका लागि दोहोरिएका छन् । छैठौं साधारणसभाबाट श्रेष्ठ पुनः तेश्रो कार्यकालका लागि दोहोरिएका हुन् । ११ सदस्यीय सहकारीको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सर्वधन राई र कोषाध्यक्षमा केशव श्रेष्ठ चुनिएका छन् ।

यस्तै, गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरिएको छ ।
नागरिक

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू