सहकारीले महिला हिंसा न्यूनिकरणमा योगदान

  • माघ १६, २०७५

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ की गंगा साहको आम्दानीको स्रोत केही थिएन । त्यसैले ७ वर्षअघि ५ रुपैँया जुटाउन मुस्किल पथ्र्यो । श्रीमान्सँग हात जोडनुबाहेक उहाँसँग विकल्प थिएन । अहिले उहाँ उद्यमी बन्नु भएको छ । झन्डै १० लाख रुपैँया बराबरको लगानी छ ।

सहकारीमा आवद्ध भएर बचत गर्न थालेपछि आर्थिक अवस्थामा सुधारसँगै परिवार र समाजमा सम्मानित व्यवहार पाएको उहाँले बताउनुभयो । समूहमा ५ रुपैँया बचत गरेको सम्झँदै उहाँले भन्नुभयो, “परिवारले बाहिर निस्कन दिन्थेन । लुकेर पैसा बचत गर्न जान्थें ।”

उहाँ ७ वर्षदेखि नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष हुनुहन्छ । सहकारीमा ९ सय ४ जना महिला सेयर सदस्य छन् । सबैको सुरुवाती अवस्था गंगाको जस्तै थियो । घरबाट निस्कन नदिने उहाँलाई अहिले परिवारको पूर्ण समर्थन छ ।

बाख्रापालन गरेर सहकारीमा आयस्रोत जुटाउनु भएकी उहाँले अहिले आर्थिक रूपमा परिवारलाई सघाउन सक्षम भएको बताउनुभयो । “आम्दानी हुन थालेपछि झगडा कम भयो”, उहाँले भन्नुभयो, “श्रीमान्ले पिटनु हुन्न ।” उहाँका अनुसार घरेलु हिंसा न्यूनीकरणका लागि महिला आर्थिक रूपमा सक्षम हुन आवश्यक छ ।

राप्तीसोनारी–६ की सीता पुनले आय आर्जनका काममा सहभागिता जनाउनुपर्ने बुझ्नु भएको छ । ३ वर्षदेखि सहकारीमा आवद्ध हुनुहुन्छ । बचत गर्न सिक्नु भएको छ । सुरुमा घरेलु हिंसा खेप्नु परेको सुनाउनुभयो । “मासिक २५ रुपैँया समूहमा बुझाउनु पर्दा श्रीमान्को मुख ताक्नु पर्थ्यो”, उहाँले भन्नुभयो, “त्यही पनि नदिएर कुटाइ खान्थें ।” पैसा दिनुभन्दा पनि बाहिर किन जाने भन्ने परिवार र समाजको संकुचित भाव चिर्न आफूलाई ३ वर्ष लागेको उहाँले सुनाउनुभयो ।

उहाँजस्ता अरु महिला पनि घरेलु बन्देजबाट पीडित थिए । त्यसपछि नबुझेका श्रीमान्लाई बचत गर्ने कलासम्बन्धी तालिम दिएको उहाँले बताउनुभयो । “त्यो तालिमपछि मेरा श्रीमान् पूरै परिवर्तन हुनुभो”, उहाँले भन्नुभयो, “अहिले बाख्रा पालेर बचत गर्न उहाँले नै जोड दिन थाल्नुभएको छ ।” उहाँका अनुसार घरमा खर्चको विषय आउँदा श्रीमान् र श्रीमती सल्लाह गरेर व्यवहार गनुहुन्छ ।

शोभा परियारका श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँ यहाँ यत्तिकै बस्नुहुन्न । बाख्रा पालन गरेर सहकारीमा बचत गर्नुहुन्छ । विगत ७ वर्षदेखि बचत गर्दै आउनु भएकी उहाँले अचेल श्रीमानको गाली सुन्नु परेको छैन । “उहाँको पैसा सकभर खर्च गर्दिनँ”, उहाँले भन्नुभयो, “आफैंले खर्च जुटाउने भएकी छु ।” मासिक २ सय रुपैँया सहकारीमा बचत गर्दै आएको उहाँले बताउनुभयो । शारदा खड्का र लीला रोकाले पनि समूहमा आवद्ध भएर बचत गर्न सिके । घरमा नुनदेखि सुनसम्म श्रीमानकै भर पर्नु पर्थ्यो । आर्थिक विषयकै कारण दिनरात झगडा हुन्थ्यो । आफूले सहकारीमा रहेर कारोबार गर्न थालेपछि श्रीमानलाई आर्थिक रुपमा निकै ठूलो सहयोग पुगेको लीलाले बताउनुभयो ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम जैशीका अनुसार १ लाख ६५ हजार सेयर सदस्यमध्ये ५१ प्रतिशत महिलाको सहभागिता रहेको छ । सञ्चालनमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ भने कर्मचारीमा १ हजार ६ सयमध्ये ६६ प्रतिशत महिला रहेको उहाँले बताउनुभयो । सहकारीले परिवारमा आर्थिक सहकार्यको वातावरण सिर्जना गर्ने हुँदा घरेलु हिंसा न्यूनीकरणमा समेत टेवा पुगेको उहाँको अनुभव छ ।

साथै, जहाँ महिला सहकारी छन्, त्यहाँ आन्तरिक सुशासन पाइने उहाँको दाबी छ । “हिंसाको एउटा मूल कारण आर्थिक कमजोरी रहेछ”, अध्यक्ष जैशीले भन्नुभयो, “सहकारीमा महिला आकर्षण बढेसँगै हिंसा हट्दै गएको महसुस गर्न सकिन्छ ।”
कान्तिपुर

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू