काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाको सङ्ख्या घटाएर ७ सय बनाउने

  • माघ १६, २०७५

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८ सय ५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७ सय बनाउने भएको छ ।

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत गर्न लागेको हो । कामपा सहकारी विभागका प्रमुख नवराज ढकालका अनुसार मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेकाले समस्या भएकोले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरुप जान लागिएको हो ।

एक हजार ८ सय ५६ सहकारी घटाएर ७ सय बनाउने कामपाको लक्ष्य रहेको जनाइएको छ । सहकारी ऐन २०७४ र कामपाको सहकारी ऐन २०७४ अनुरुप कानूनीरुपमा नै एकीकृत गर्न सकिने व्यवस्था छ । सहकारीलाई एक बनाउन दुई सहकारी एकअर्कामा एकिकृत हुन तयार रहनुपर्छ ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले थप प्रक्रिया अघि बढाउने विभागका प्रमुख ढकालले राससलाई जानकारी दिनुभयो । सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकआपसमा गाभ्न सकिनेछ ।

कामपाका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६ सय ४४, बहुद्देश्यीय १ सय ५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । सर्वसाधारण ठगी गरेको भन्दै सहकारीविरुद्ध ६० मुद्दा परेकामा ३५ को फछ्र्यौट गरिसकेको विभागले जनाएको छ । मुद्दामध्ये ४० भन्दा बढीले नागरिकको पैसा समयमा नै फिर्ता नगरेको छन् ।

सहकारीको अनुगमन गर्दै महानगर
कामपाले पछिल्लो समय सहकारीको अनुगमन पनि शुरु गरेको छ । पहिलो चरणमा नियम बाहिर रही सञ्चालन भई पत्रचार गरिएकालाई कारवाहीको प्रक्रिया अघि बढाइनेछ । दोस्रो चरणमा अन्यलाई अनुगमन गरी आवश्यकताअनुरुप निर्देशन दिइने बताइएको छ ।

निर्देशन पालना नगरे कामपाको सहकारी ऐनअनुरुप कारवाहीको प्रक्रिया अघि बढाउने ढकालले बताउनुभयो । सबै सहकारी काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ अनुसार सञ्चालन गरिनुपर्नेछ ।

कामपाका सहकारीमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब रु सात अर्ब शेयर, करीब रु ५२ अर्ब बचत परिचालन र रु ४१ अर्ब बराबरको ऋण प्रवाह भएको ढकालले जानकारी दिनुभयो । सहकारी दर्ता हुनेक्रम दिनदिनै बढीरहेको छ । सहकारी विभाग प्रमुख ढकालले भन्नुभयो, “आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि सञ्चालनमा रहेकालाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ हाम्रो जोड रहनेछ ।”

सबै सहकारीलाई दैनिकरुपमा अनलाइनमार्फत आफ्नो जानकारी गराउन पनि कामपाले निर्देशन दिएको छ । आफ्नो सहकारी दैनिकरुपमा कति आर्थिक कारोबार गर्दछ, लगानी र सङ्कलन भएको कति भन्ने विषयमा दैनिक जानकारी गराउनुपर्ने छ । बचत तथा ऋण सहकारी सञ्चालन गर्न एक सय सदस्य रहनुपर्ने, सञ्चालक सदस्यमध्ये ५० जनाले अनिवार्यरुपमा तालीम लिएको हुनुपर्ने, सदस्यमध्येकै ८० प्रतिशतले सहकारी सञ्चालन हुने क्षेत्रमा नै बसोत्रबास गरेको हुनुपर्ने कानूनी प्रावधान छ ।
समाचारपत्र

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू