आइसीए एपीको तालिम कार्यक्रममा अध्यक्ष जैसी सहभागी

  • माघ २३, २०७५

अन्तर्राष्ट्रिय सहकारी संस्था–एसिया प्यासिफिक (आइसीए एपी) को आयोजनामा सञ्चालित तालिम कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बाँकेका अध्यक्ष प्रेमप्रसाद जैसी सहभागी हुनु भएको छ ।

माघ २२ गते देखि सुरु भएको ‘एसियाको कृषि सहकारीको व्यवस्थापन र विकासका लागि नेतृत्व विकास’ नामक तालिम कार्यक्रममा अध्यक्ष जैसी सहभागी हुनु भएको हो । आइसीए एपीको जापानको कृषि केन्द्रीय सहकारी संघलगायतसँगको सहकार्यमा दिने तालिम कार्यक्रम, जापान र थाइल्यान्डमा संयुक्त रुपमा हुनेछ ।

तालिम कार्यक्रममा सहभागी जैसीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले सोमबार बिदाई समेत गर्नुभएको थियो । तालिममा सहभागी जैसीले नेपालमा आएपछि तालिममा सिकेको कुरा लागु गर्न आफू सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एसियामा कृषि सहकारी संस्थाको व्यवस्थापन तथा विकासका लागि नेतृत्व विकास तालिम थाइल्यान्ड र जापानमा २०७५ माघ २२ गते देखि सुरु भई चैत २ गते सम्पन्न हुनेछ । फागुन १३ गतेसम्म थाइल्यान्डमा ट्रेनिङ्ग हुने छ भने १४ फागुनदेखि २ चैतसम्म जापानमा ट्रेनिङ्ग हुनेछ । कृषि सहयोग विकासका लागि एसियाली संस्था, कोअपरेटिभ लिग अफ थाइल्यान्ड, थाइल्यान्डको कोअपरेटिभ प्रोमोसन डिपार्टमेन्टको सो ट्रेनिङ्गमा सहकार्य रहेको छ ।

कार्यक्रमलाई जापानको कृषि, वन तथा मत्स्य पालन मन्त्रालयको अनुदान रहेको छ भने आइसीएले यो ट्रेनिङ्ग कार्यन्वयन गरेको हो । ट्रेनिङ्गका लागि यस पटक नेपालले एक सिटमात्र प्राप्त गरेको हो । ट्रेनिङ्गमा एसियाबाट छनोट भएका ९ जनाको सहभागतिा रहने छ ।

सम्बन्धित शीर्षकहरु

टिप्पणीहरू